Comments Add Comment

चिया भट्टी : जहाँ चियासँगै न्यातपोलको सुन्दरता बिक्छ

सामान्यतया चिया सबैले रुचाउने पेय पदार्थ हो भने भट्टी नियमित जानेले समेत नाम लिन संकोेच मान्ने ठाउँ । भक्तपुरको न्यातपोल मन्दिरको सम्मुखमा विजेश हाडाले सुरु गरेको ‘चिया भट्टी’तर्फ भने युवाहरूको आकर्षण बिस्तारै बढ्न थालेको छ ।

न्यातपोल मन्दिरलाई चिया पसलबाटै विभिन्न कोणबाट नियाल्न सकिने यो भट्टीका कार्यकारी निर्देशक हाडा यहाँ खानेकुराभन्दा धेरै न्यातपोल क्षेत्रको सुन्दरता बेच्ने गरेको बताउँछन् ।

‘खानेकुरा खोज्ने हो भने मेरोमा भन्दा मीठो अन्तै पाइन्छ ।’ सञ्चालक हाडा भन्छन् ‘यहाँ म चिया बेच्नभन्दा पनि न्यातपोलको दृश्य बेच्न बसेको हुँ ।’ उनी व्यवसायमा जे बिक्छ त्यही बेच्न जान्नु पर्ने बताउँछन् ।

यो भट्टीमा रक्सी खाएर आफ्नो क्षमताले नधान्ने गफभन्दा होसमा बसेर भविष्य र समाजको बारेमा बहस गर्ने गरिएको हाडा बताउँछन् । उनी भन्छन् ‘न्यातपोललाई साक्षी राखेर युवाहरू खुला मनले आफ्नो भविष्यको योजना बनाउन सकून् यही नै मेरो उदेश्य हो ।’

उनले पूर्ख्यौली जमिनमा चलाएको ‘चिया भट्टी’ले जति पैसा आम्दानी गर्छ, अहिलेको मूल्य अनुसार भाडामा दिँदा त्योभन्दा धेरै पैसा आउँथ्यो । तर भाडामा दिएर धेरै पैसा लिने कि आफैँले व्यवसाय गर्ने भन्नेबारे उनको भिन्न मान्यता छ । उनी भन्छन् ‘घर भाडामा दिँदा धेरै कमाइ हुन्छ, त्यो पनि जोखिमविना नै । तर यो ठाउँमा आफैँले व्यवसाय ग¥यो भने नाफा कम होला तर टोल र घर अगाडिको एउटा फोहोरले पनि मन पोल्छ । यो भाडामा दिँदा हुँदैन ।’

भक्तपुरमा पर्यटन विकासका लागि काम गरिरहेकाहरू उनको यो योजनाले भक्तपुरका युवाहरूमा सकारात्मक भावको सञ्चार गर्नेमा आशावादी छन् ।

थरीथरीका चिया र कफीको चुस्की लिन पाइन्छ । हाडाका अनुसार भट्टीमा   १५ वटा थरीका चियाको स्वाद पाउन सकिन्छ । कफीको पनि धेरै ब्राण्ड छन् । त्यसबाहेक अरू परिकारका लागि भट्टी विशेष छैन ।

‘मान्छेले व्यवसाय नाफा कमाउनको लागि नै गर्छन् । तर व्यवसायमा नाफामात्र नहेरेर सामाजिक उत्तरदायित्व पनि हेरियो भने आफैँमा त्यो व्यवसायको भिन्न मोडल बन्दो रहेछ’ हाडा भन्छन् ।

दरबार क्षेत्रमा रहे पनि विदेशी पर्यटकमात्रै नभएर स्थानीयलाई समेत समान महत्व दिइने उनको नीति छ । ‘हामी विदेशी ग्राहकलाई महत्व दिने र स्वदेशीलाई उपेक्षा गर्ने गर्दैनौं । हामी ग्राहकलाई राजा मान्छौं । राजा विदेशको होस् या स्वदेशको सबै आदरणीय नै हुन्छ ।’ उनी भन्छन् ।

‘भट्टी’ शब्दले झमेला

भट्टी शब्दका कारण पाएको झमेलाबारे हाडा रमाइलो किस्सा सुनाउँछन् । भट्टी भन्ने शब्दलाई नै नरूचाउने हाम्रो समाज, त्यसैमाथि सम्पदा क्षेत्रमा भट्टी नाम राखेर दर्ता गर्न खोजेपछि घरेलु तथा साना व्यवसाय दर्ता गर्ने अड्डाका कर्मचारीहरूले सहजै दर्ता गराउन नमानेको उनी सुनाउँछन् । ‘मैले ठेट नेपाली नाम राख्न चाहेँ । कर्मचारीले बार, रेस्टुरेन्ट जस्ता सबैले प्रयोग गर्ने नाम राख्न सुझाव दिएका थिए । उनीहरूमा भट्टी शब्दको नकारात्मक अर्थमात्रै खेलिरहेको अनुभूति मैले गरेँ । त्यही भ्रम चिर्नको लागि मैले इन्साइक्लोपेडिया र डिक्सनरी नै लगेर देखाउन खोज्दा पनि सजिलै कर्मचारीहरू यसनाममा सहमत हुन सकेनन् ।’ हाडा भन्छन् ‘बुद्धको समयदेखि नै चलेको भट्टी भन्ने शब्दको प्रयोग हामीले गलत ठाउँमा मात्र ग¥यौं, तर यसको अर्थ अरूले सोचेजस्तो नराम्रो छैन भन्ने बुझाउनका लागि पनि यही नाममा बल गरेको हुँ ।’

चियामा भक्तपुरे युवाको आकर्षण

पछिल्लो समय चिया र कफीमा भक्तपुरे युवाहरूको आकर्षण बढेको दाबी गर्छन्, हाडा । यही आकर्षणसँगै सकारात्मक भाव समेत सञ्चार गर्ने सोच आफ्नो रहेको उनी बताउँछन् ।

भक्तपुर पर्यटन विकास समितिले पनि यो योजनालाई अझ प्रभावकारी गराउने तयारी गरेको छ । हप्ताको कम्तीमा एक दिन सो क्षेत्रका युवाहरूलाई भट्टीमा भेला गराएर आफ्नो इतिहास र सभ्यताको विषयमा बहस गराउने योजना आफ्नो रहेको समितिका महासचिव दीपेशराज शर्मा बताउँछन् ।

शर्मा भन्छन् ‘रक्सी पनि नशा हो, चिया पनि एकखाले नशा नै हो । रक्सीले मान्छेको दिमागमा असर गर्छ र मान्छेलाई बेहोसी पनि बनाउँछ । धेरैजना बसेर सँगै चिया पिउँदा नयाँ योजना जन्मिन सक्छ ।’

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment