Comments Add Comment

ललितपुरमा ६७० स्मार्ट सडक बत्ती ४५ दिनभित्रै जोडिने

१३ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट लाइट’ (सडक बत्ती) जडान गर्न थालिएको छ । मंगलबार महानगरपालिकका मेयर चिरिबाबु महर्जनले बत्ती जडानको कामको औपचारिक थालनी गरे ।

बागमती पुलदेखि जाउलाखेल र लगनखेल हुँदै सातदोबाटोसम्म बत्ती जोडिनेछ ।  हिमालय होटल -इनार)देखि पाटनढोका अशोक हल, क्वाल्खु हुँदै मगंलबजारसम्म पनि बत्ती जोडिनेछ । पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म पनि स्मार्ट सडक बत्ती जडान हुनेछ । यी तीन रुटमा ६६९ वटा बत्ती जडानको काम हुने महर्जनले जानकारी दिए ।

भारतको क्रम्प्टन इन्टरनेशनल र नेपाली महावीर इन्टरनेशनल जेभी यसका लागि जिम्मा पाएर काम थालेको छ । कम्पनीले ५ करोड २० लाख रुपैयाँमा ठेक्का लिएको छ । महानगरका ३ वटा रुटमा यस्ता बत्ती जडान हुनेछ । यो काम ४५ दिन भित्रै सकिने महानगरपालिकाले जनाएको छ ।

रातको समयमा सर्वसाधारणको आवतजावत सहज र सुरक्षित बनाउन स्मार्ट लाइट जडान गर्न लागिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु मर्हजनले बताए । सडक बत्तीमा महानगरको खर्च घटाउन र वैज्ञानिक तवरले व्यवस्थापन गर्न स्मार्ट प्रणाली रोजिएको उनको भनाइ छ ।

ललितपुरको स्मार्ट लाइट सिस्टमको कन्ट्रोल रुम विद्युत प्राधिकरणमै रहने छ । कम्प्युटर प्रणालीमा आधारित स्मार्ट लाइट तालिकाअनुसार स्वचालित रुपमा बल्ने र निभ्ने हुन्छ । यो प्रणालीबाट विद्युत खपत पनि कम हुन्छ ।

विद्युत प्राधिकरणका ऊर्जा दक्षता विभागका सहायक प्रवन्धक सागरमणि ज्ञवालीका अनुसार सडकमा सोलार वा अन्य बत्तीभन्दा यसले बढी उज्यालो दिन्छ । मध्यरातमा सडकमा मान्छे र सवारीको आवतजावत कम हुँदा लाइनमा रहेका ४ मध्ये एउटा मात्रै लाइट बल्छ ।

यो लाइट साँझको समयमा बढी चहकिलो बल्छ । यस किसिमका सडक बत्ती चीन, जापान, डेनमार्कलगायतका देशमा प्रयोगमा छन् । यो बत्ती बेलुकी पुरै क्षमता -६० वाट) मा बल्नेछ । तर, राति १० बजेदेखि विहान ४ बजेसम्म यो लाइटले ४० प्रतिशत कम भोल्टेज खपत गर्नेगरी ३० वाटमा बल्नेछ ।

यो बत्तीको बिल पनि खपतका आधारमा स्वचालित रुपमा सिस्टमले नै तयार गर्नेछ ।

शुरुमा महानगरपालिकाले बाग्मतीदेखि लगनखेलसम्मको क्षेत्र ओगट्ने गरी टेन्डर गरेको थियो । त्यसमा ठूला कम्पनीले आवेदन नदिएपछि क्षेत्र विस्तार गरेर अर्को टेन्डर गरिएको थियो ।

ललितपुर महानगरपालिकाभित्र स्मार्ट बत्ती जडानका लागि नेपाल विद्युत प्राधिकरणमार्फत टेन्डर आह्वान भएको थियो । बत्ती जडानको सम्पूर्ण खर्च भने महानगरपालिकाले व्यहोर्ने छ ।

अनुभव नभएको भन्दै स्मार्ट बत्तीमा प्राधिकरणले अनुसन्धान पनि गरिरहेकाले महानगरपालिकाले प्राधिकरणसँग सहकार्य गरेको हो । यस्तो बत्ती प्रणाली जडान गर्न भरतपुर र काठमाडौं महानगरपालिकाले पनि चासो दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment