Comments Add Comment

१५ गतेदेखि खुल्ने भयो सौराहा

१३ साउन, चितवन । लकडाउनका कारण बन्द भएको सौराहाको पर्यटकीय गतिविध करिब चार महिनापछि सञ्चालनमा आउने भएको छ ।

सरकारले साउन १५ गतेदेखि विषेश सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने भनेकोले सोही दिनदेखि सौराहा पनि सञ्चालन गर्ने निर्णय गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

मंगलबार बिहान सौराहामा बसेको व्यवसायीहरुको बैंठकले बिस्तारै सबैखाले पर्यटकीय गतिविधि सावधानी अपनाएर सञ्चालन गर्ने निर्णय गरेको हो ।

सौराहामा होटललगायत अन्य पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारी भएपछि अहिले होटल सरसफाइ, हात्ती सफारी, ढुंगा र जीप सफारीलगायतका पर्यटकीय गतिविधि पनि सञ्चालन गर्ने तयारी व्यवसायीको छ ।

बर्खाको सिजन भएकोले अपेक्षितरुपमा पर्यटक नआउने भए पनि सौराहा खुल्यो भन्ने सन्देश महत्वपूर्ण हुने अध्यक्ष भट्टराईले बताए । ‘अहिले त पर्यटकीय सिजन पनि हैन, अर्कोतिर लामो दुरीका सवारीसाधान अझै खुलेका छैनन्, विमान चलेको छैन,’ उनले भने, ‘तर पनि हामी सौराहा खोल्छौं, खुल्ला हुन्छ, जो जति पर्यटक आउनुहुन्छ उहाँहरुलाई सावधानी अपनाएर ससम्मान सेवा दिन्छौं ।’

सौराहाका व्यवसायीहरुले केही प्रतिशत छुटको अफर दिने तयारीसमेत गरेका छन् । लकडाउन र कोरोना भाइरसका कारणले घरभित्र नै गुम्मिएका, एकढंगले तनाव ब्यहोरेका नेपाली नागरिकहरुलाई रिफ्रेस हुनका लागि सौराहा घुम्न आउन अपिल गरिने अध्यक्ष भट्टराईले बताए ।

क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरले सौराहामा हुने पर्यटकीय सबै गतिविधीमा विषेश छुटको प्याकेज दिने बारेमा छलफल भैरहेको बताए ।

‘होटल सक्ने होटलले, रेष्टुरेन्टले सक्ने रेष्टुरेन्टले, हात्ती तथा जीप सफारीमा दिन सकिने छुटका बारेमा एकरुपता कायम गरी आन्तरिक पर्यटक प्रवर्द्धनका लागि मिलेर जाने कुरा छ’ निवर्तमान अध्यक्ष घिमिरले भने ।

कोरोना भाइरसका कारण शिथिल बनेको पर्यटक क्षेत्रले विस्तारै गति लिने विश्वास यहाँका व्यवसायीले गरेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए ।

अहिले तत्काल पर्यटक नभए पनि पर्यटकीय सिजनमा केही राम्रो होला भन्ने आशा र विश्वास व्यवसायीले लिएका छन् । दशैं तिहारसँगै पर्यटकीय सिजन सुरु हुन्छ ।

आन्तरिक पर्यटक भिर्‍याउन र सौराहा खुल्दैछ भन्ने सन्देश दिन युवा व्यवसायीले शनिबार साइकल र्‍याली निकालेका थिए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विषेश सावधानी अपनाउन भन्दैं पाँच बुँदे निर्देशन पनि संघका तर्फबाट जारी गरिने हानका अध्यक्ष भट्टराईले बताए ।

सौराहामा ११० होटल सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment