Comments Add Comment

लकडाउनपछि ७१ जना विदेशी नेपाल आए, ८००४ जना बाहिरिए

१३ साउन, काठमाडौं । १४ चैतदेखि असार मसान्तसम्म भएका चार्टर्ड उडानबाट ८००४ जना विदेशी आफ्नो मुलुक फर्किएका छन् ।

अध्यागमन विभागका अनुसार यसअवधिमा ७१ जना विदेशीलाई भने नेपाल आउने अनुमति मिलेको छ । उनीहरु पनि पर्यटक नभएर विभिन्न मुलुकका दूतावासमा काम गर्ने कर्मचारी हुन् । यस अवधिमा संयुक्त राष्ट्रसंघका १४ जना कर्मचारीलाई नेपाल आउने अनुमति मिलेको छ ।

यो तथ्यांक हवाई माध्यमबाट आउनेहरुको मात्र हो । यस अवधिमा बेलायतबाट १० जना नेपाल आएका छन् । अमेरिकाबाट भने ९ जना आएको तथ्यांक रहेको छ । क्यानडा, बंगलादेश, जापान र क्यानडाबाट भने ४/४ जना नेपाल आएका छन् । यस अवधिमा नेपालबाट र्फकने पर्यटकहरुमा भने सबैभन्दा बढी अमेरिकी रहेका छन् ।

नेपालमा भ्रमणमा आएका वा दूतावासका कर्मचारीसमेत १२१४ जना फर्किएका छन् । ८९७ जना जना बेलायती नागरिक आफ्नो मुलुक फर्किएका छन् । जर्मनीका ७५७, प|mान्सका ६३७ जना र अष्ट्रेलियाका ५६८ जना स्वदेश फर्किएको तथ्यांक छ ।

जापानका ३ सय ६६ जना घर फर्किएका थिए । श्रीलंकाका १ सय ९ र स्पेनका १ सय ३ जना नागरिकसमेत घर फर्किएको तथ्यांक रहेको छ । रसियाका ११४ जना स्वदेश फर्किए । नेदरल्याड्सका २१६, चीनका ३८१, क्यानडाका २९२ नागरिकसमेत घर फर्किएका थिए ।

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएसँगै सरकारले ११ चैतबाट लकडाउन घोषणा गरेको थियो । त्यसको एक साता अगाडिबाटै अन्तराष्ट्रिय उडानमा रोक लगाइएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय उडान र लकडाउनपछि नेपालमै अड्किएका विदेशी नागरिकलाई फिर्ता लैजाने प्रयोजनका लागि चार्टर्ड उडानलाई अनुमति दिने निर्णय भयो । सोहीअनुसार १४ चैतबाट चार्टर्ड उडान सुरु भएको हो ।

२७५८३ नेपाली घर आए, ७६८४ विदेशिए

लकडाउनयता असार मसान्तसम्म कुल २७ हजार ५ सय ८३ जना नेपाली घर फर्किएको तथ्यांक छ । साउनपछि भने विभिन्न कारणले नियमित चार्टर्ड उडान नियमित भएको छैन ।

यस अवधिमा नेपालबाट बाहिरिने नेपालीको संख्यासमेत ठूलो रहेको छ । यस अवधिमा नेपालबाट ७ हजार ६ सय ८४ जना नेपाली विदेश उडेको अध्यागमन विभागले राखेको तथ्यांकमा उल्लेख छ ।

अब तयारी नियमित उडानको

सरकारले ५ चैतपछि बन्द गरेको अन्तराष्ट्रिय व्यवसायिक उडान र ११ चैतबाट बन्द भएको आन्तरिक व्यवसायिक उडान १ भदौबाट पुनः शुरु हुँदैछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पहिलो चरणमा आन्तरिकतर्फ साविकमा हुने कुल उडानको ३० प्रतिशतसम्म उडान गर्ने तयारी छ ।

अन्तर्राष्ट्रियतर्फ समेत जोखिम हेरेर उडानको अनुमति दिइनेछ । त्यसका लागि तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment