+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कांग्रेस शीर्ष नेताको एउटै स्वर : कम्युनिस्टबाट प्रजातन्त्र खतरामा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १८:५८

१३ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुले कम्युनिस्टबाट प्रजातन्त्र खतरामा रहेको बताएका छन् ।

मंगलबार राप्रपा परित्याग गरेका सुनीलबहादुर थापालगायतका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतले नेकपा नेतृत्वको सरकारमाथि आशंका गरेका हुन् ।

‘अहिलेको सरकार सबैतिर कन्ट्रोल गर्न खोज्दैछ । मिडिया कन्ट्रोल गर्न खोज्दैछ, फोन ट्यापिङ गरिरहेको छ’ सभापति देउवाले भने, ‘यो बेला प्रजातान्त्रिक शक्तिहरु एक हुन जरुरी छ ।’

सभापति देउवाले राप्रपाबाट आएका थापालगायत कसैलाई पनि भेदभाव नगरिने बताएका छन् । सुनीलबहादुर थापा ‘हार्ड वर्किङ’ गर्ने नेता भएको भन्दै उनले प्रशंसा गरे ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरुले संविधानले आत्मसाथ गरेको व्यवस्थालाई अझैसम्म स्वीकार गर्न नसकेको बताए ।

‘कांग्रेसको अहिलेको मुख्य लडाई देशलाई संविधान अनुरुप अघि बढाउनु र कम्युनिस्टलाई संविधानले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादको बाटोमा लैजानु हो’ नेता पौडेलले भने, ‘कम्युनिस्टहरुले संविधानले अझै आत्मसाथ गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अंगीकार गरेका छैनन् । केन्द्रीयता जस्ता कुराहरु गरिरहेका छन् ।’

कांग्रेसका उपभापति विमलेन्द्र निधिले सुनीलबहादुर थापाको कांग्रेस प्रवेशले प्रजातिान्त्रिक शक्तिलाई थप बलियो बनाएको बताए ।

‘केपी ओलीबाट लोकतन्त्रमाथि खतरा भइरहेको छ । यो प्रवेश (सुनीलबहादुर थापाको कांग्रेस प्रवेश) ले लोकतान्त्रिक शक्ति थप बलियो भएको छ’ उनले भने ।

कमल थापालगायतसँग पनि पार्टी एकताबारे छलफल भएको उल्लेख गर्दै उनले भने, ‘तर, तीन वटा राप्रपा मिलेर राजतन्त्र फर्काउने विषयलाई एजेण्डा बनाएपछि पार्टी एकताको च्याप्टर क्लोज भयो ।’

राप्रपा परित्याग गरेर कांग्रेसको सदस्यता लिएका सुनीलबहादुर थापाले आफ्नो परिवारको कांग्रेससँग ६५ वर्षअघिको सम्बन्ध रहेको स्मरण गरे ।

आफ्ना बुबा सूर्यबहादुर थापा २०१० सालमा कांग्रेस धनकुटाको अध्यक्ष रहेको उल्लेख गर्दै उनले भने, ‘६५ वर्षपछि नाता जोडिँदा अपार खुसी लागेको छ । ६५ वर्षअघि टुटेको नाता अब राम्रोसँग जोडिन्छ ।’

मुलुकमा प्रजातान्त्रिक शक्ति र लोकतान्त्रिक संस्था कमजोर रहेका बेला जिम्मेवारी थपिएको महसुस गर्दै कांग्रेसमा प्रवेश गरेको उनको भनाइ छ ।

थापासँगै राप्रपा परित्याग गरेर कांग्रेसको सदस्यता लिएका नेता बृजलाल यादवले आगामी चुनावमा कांग्रेसले दुई तिहाइ ल्याउने दाबी गरे ।

उनले मधेशको सम्पूर्ण क्षेत्रमा कांग्रेसले बहुमत ल्याउने विश्वास व्यक्त गरे । यादव बाराका नेता हुन् ।

मंगलबार थापा, यादव सहितका नेताहरु विश्वविक्रम थापा, बाबुराम बस्नेत, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मालगायत १३ जना छन् ।

विभिन्न जिल्लाबाट राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गर्न चाहनेहरुको नामावली समेत पढेर सुनाइएको थियो । उनीहरुलाई सम्बन्धित जिल्लामै पार्टी प्रवेश गराइने नेताहरुले बताएका छन् ।

राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरुलाई अहिले पार्टी सदस्यता मात्रै दिइएको छ । पदका विषयमा आगामी केन्द्रीय समितिको बैठकमा सभापति देउवाले प्रस्ताव गर्ने उपसभापति निधिले जानकारी दिए ।

उनका अनुसार हालसम्म राप्रपाबाट आउनेलाई के कस्तो जिम्मेवारी दिने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन ।

सुनीलबहादुर थापा पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री हुन् । उनी राप्रपामा महामन्त्री थिए ।

कांग्रेसमा सहमहामन्त्रीमा सहमति भएर गएको बताइएको छ । तर, दुबै पक्षले औपचारिक रुपमा जानकारी दिएका छैनन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?