Comments Add Comment

काठमाडौं आउँदै हुनुहुन्छ ? सडकमै हुँदैछ स्वाब संकलन !

१३ साउन, काठमाडौं । पीसीआर परीक्षण भएन भनेर एउटा युवा समूहले अभियान नै बनाए– ‘इनअफ इज इनअफ ।’ पीसीआर परीक्षण बढाउन माग गर्दै यो युवा समुह स्वतस्फूर्तरुपमा सडकमा उत्रियो । ‘इनअफ इज इनअफ’ आन्दोलन सत्याग्रहसम्म पुग्यो र यो समुहका दुईजना अहिले पनि हनुमानढोका दरबार परिसरमा भोक हडतालमा छन् ।

यता सरकारले काठमाडौं प्रवेश गर्ने नागढुंगा नाकामै मान्छेहरुलाई गाडीबाट झारेर पीसीआर परीक्षण गर्न थालेको छ । परीक्षणका लागि स्वाव संकलन गर्न संघीय सरकारले स्वास्थ्यकर्मीको टोली पठाएको छ भने अन्य व्यवस्थापनको जिम्मा स्थानीय सरकार (चन्द्रागिरी नगरपालिका) ले लिएको छ । नगरपालिकाको स्वास्थ्य शाखा कार्यरत कर्मचारीहरु खटिएका छन् ।

नागढुंगा कटेर थानकोट चेकपोष्ट आउनासाथ स्वास्थ्यकर्मीहरुले गाडी रोकेर पीसीआर परीक्षण गराउन भन्छन् । त्योसँगै गाडीबाट ओरालेर नाम दर्ताका लागि लाइनमा राख्छन् । स्वाव दिएपछि मात्रै उनीहरु गन्तव्यतिर लाग्न पाउँछन् ।

शनिबार शुरु भएको सडकमै स्वाव संकलन हुने यो सुविधा सोमबार साझसम्म २ हजार ३०७ जनाले उपयोग गरेका छन् । चौथो दिन मंगलबार दिउँसो थानकोटमा काठमाडौं भित्रिने पास बनाएका निजी सवारी साधनको लाम थियो । लामोदूरीका सार्वजनिक यातायात भदौ १ गतेबाट मात्र खुला हुँदैछ ।

नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कृष्णप्रसाद अधिकारी सबै गाडीलाई प्यासेन्जर ओरालिरहेका छन् । मलाई पीसीआर परीक्षण आवश्यक छैन भन्नेहरु पनि धेरै थिए । तनहुँबाट स्कारपिओ जिपमा आएका ५ जनाले पनि स्वाव दिन मानेनन् ।

केहीदिन अघिसम्म पीसीआर परीक्षण नभई काठमाडौंका घरबेटीहरुले प्रवेश नै दिँदैनन् थिए । भाडाको कोठा वा फ्ल्याटमा पस्न र बस्न पनि पीसीआर परीक्षण गराउन टेकु अस्पताल पुग्नेहरु धेरै हुन्थे । तर, बाटामै परीक्षण गराउनुस् भन्दा पनि नमान्नेहरु भेट्दा कृष्णप्रसाद अधिकारी दिक्क देखिन्थे ।

‘अस्ति प्रहरीले गाडीबाट जर्बजस्ती झारेर परीक्षण गर्न लगायो भन्ने हल्ला पनि चलेछ’, अधिकारीले भने, ‘त्यसैले हामी परीक्षण गराउनुस् भनेर आग्रहमात्र गर्छौं । परीक्षण गर्दा सबैलाई राम्रो हुने भए पनि धेरैजना अनिच्छुक भेटिन्छन् ।’

परीक्षणको आवश्यकता बुझ्नेहरु भने बाटैमा स्वाव दिन पाउँदा खुसी भएका छन् । सवारी चालकहरुलाई पीसीआर परीक्षण गराउन नभने पनि पाएको सुविधा उपयोग गरौ भनेर आफै लामवद्व हुनेहरु पनि देखिए ।

एउटा टाटा सुमोका यात्रुहरुलाई स्वास्थ्कर्मीले स्वाव लिन लाइनमा राखेपछि त्यसका चालकले पनि प्रहरीलाई आफूले पनि कोरोना परीक्षण गर्न चाहेको बताए । प्रहरीले स्वास्थ्यका कर्मचारीलाई सोध्न भने । स्वास्थ्यकर्मीले परीक्षण गराउन पाइन्छ भनेपछि ती चालक यात्रुहरु उभिएको नाम दर्ता गराउने लाइनमा गएर उभिए ।

‘लागेको रहेछ भने उपचार हुन्छ, रहेन छ भने ढुक्क’, उनले अनलाइनखबरसँग भने, ‘यति सजिलै परीक्षण गर्न पाउँदा देशमा सरकार रहेछ भनेर खुसी लाग्यो ।’

पोखराबाट निजी कारमा काठमाडौं भित्रिन लागेका दुई युवकले पनि खुशी साथ स्वाब दिए । केही दिनपछि पोखरा फर्कंदा पनि रिपोर्ट लिएर ढुक्कसँग फर्कन सकिने उनीहरुले बताए ।

‘यसले काठमाडौंबाट कोरोना बोकेर ल्यायो कि भन्ने शंका नहुने भयो’, उनीहरुको भनाइ छ, ‘अब हातमा रिपोर्ट पनि बोकेर पोखरा फर्किने हो ।’

मकवानपुरबाट मोटरसाइकलमा आएका दुई युवक पनि सडकमै पीसीआर परीक्षणको सुविधा पाउँदा खुसी देखिए । दुईमध्येका रमेश कार्कीले भने, ‘अस्ति भाइ काठमाडौं आउँदा घरबेटीले धेरै तनाव दिएछन्, हामी चाहिँ टेकु अस्पताल नगई तनावबाट जोगिने भयौं ।’

घरबेटीलाई देखाउन उनले स्वाव दिँदै गरेको तस्वीर मोवाइलले खिचेका छन् ।

मंगलबार थानको स्वाव दिनेहरुमा एउटा चिन्ता थियो– स्वाब दिइरहेका बेला पनि कतै कोरोना त सरेन ?

हुन पनि दोहोरिलत्त गाडी चलिरहेको ठाउँमा स्वाव संकलन हुँदै गर्दा मानिसहरुको दूरी कायम भएको थिएन । नाम टिपाउने लाइनमा एक मिटर होइन एक फिट पनि दुरी कायम हुन गाह्रो अवस्था थियो ।

‘यस्तोमा आफै सतर्क हुनुपर्नेमा सबै लापरवाही गर्छन्’, सानी छोरी बोकेका एक युवकले भने, ‘मलाई चाहिँ आफ्नो भन्दा पनि नानीको चिन्ता लाग्दैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment