Comments Add Comment

गण्डकीमा कोरोना संक्रमण बढेको बढ्यै, १०३ जनाको स्रोत खुलेन

‘एक घर एक पीसीआर टेस्ट’ को माग गर्दै संसद अवरुद्ध

१४ साउन, पोखरा । स्याङ्जामा केही प्रहरी कर्मचारीलाई रुघाखोकी लाग्यो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको शंकामा ४ जनाको स्वाब संकलन गरी प्रदेश प्रयोगशाला पोखरामा पठाइयो ।

साउन ६ गते परीक्षणको नतिजा आउँदा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण भएकोे पुष्टि भयो । सुरक्षाकर्मीमा संक्रमण देखिएपछि अरु सहकर्मी र परिवारका सदस्यमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंकामा स्वाब संकलन गरेर परीक्षण गर्दा एसपीसहित १८ जनामा संक्रमण देखियो ।

प्रहरी कर्मचारी र तिनका परिवार तथा सम्पर्कमा आएकासमेत गरी ११२ जनाको स्वाब परीक्षण गर्दा बुधबारसम्म स्याङ्जाका ३८ जना सुरक्षाकर्मी, एक थुनुवा र एक सुरक्षाकर्मीको परिवारका सदस्य २८ महिनाकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । तीनजनाको रिपोर्ट आउन बाँकी नै छ ।

कसको सम्पर्कबाट प्रहरीमा कोरोना संक्रमण भयो भन्ने प्रदेश स्वास्थ्य निर्देशनालयले खोजी गरिरहेको छ । ‘कहाँबाट कसरी प्रहरीमा कोरोना फैलियो भन्ने यकिन गर्नै सकेका छैनौं,’ प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले भने, ‘गण्डकी प्रदेशमा अहिलेसम्मकै केसमा स्याङ्जाको अवस्था अलि जटिल देखियो ।’

स्याङ्जा मात्र होइन, पर्वतमा डाक्टरसहित ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । डाक्टरको सम्पर्कमा आएका र परिवारको गरी २५५ जनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आयो । ट्राभल हिस्ट्री नभएका पर्वतकै अन्य २ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

गोरखाको भीमसेन थापा गाउँपालिकामा ट्राभल हिस्ट्री नभएका ३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँका ११७ जनाको स्वाब परीक्षण गर्दा अन्य सबैको नतिजा नेगेटिभ आयो । पालुङटार नगरपालिकामा १ जनामा संक्रमणको स्रोत फेला पर्न सकेन ।

स्याङ्जाकै चापाकोटमा एकजना ड्राइभरमा कोरोना संक्रमण देखियो । उनको ५ जनामा व्यक्तिसँग भेटघाट र सम्पर्क भएको देखियो । त्यसमध्ये १५२ जनाको स्वाब परीक्षण गर्दा सबैको नेगेटिभ आएको थियो ।

अन्य ठाउँमा ट्राभल हिस्ट्री नभएकाहरुमा छिटफुट संक्रमण देखिए पनि अन्यको परीक्षण नतिजा नेगेटिभ आएको थियो । तर, स्याङ्जामा ठूलो संख्यामा प्रहरी संक्रमित भएपछि सबैको टाउको दुखाइ बनेको छ । ‘स्वास्थ्यकर्मीसहित साथीहरु स्याङ्जामा खटिनुभएको छ । सुरक्षाकर्मीमा कसरी संक्रमण देखियो र थप अरुमा हुन सक्ने भएकाले यकिन हुन सकिरहेको छैन,’ प्रदेश स्वास्थ्य निर्देशक शर्माले भने ।

गण्डकी प्रदेशमा कुल संक्रमितमध्ये १०३ जना संक्रमितको ट्राभल हिस्ट्री छैन । यो कुल संक्रमितको ७ प्रतिशत हो ।

उनीहरुमा कसरी कोरोना संक्रमण फैलियो भन्ने स्रोत खुल्न सकेको छैन । त्यस्ता संक्रमित भएको ठाउँमा पुगेर सम्पर्कमा आएकाहरुको स्वाब कलेक्सन गरेर परीक्षण गर्ने गरिएको प्रदेश प्रमुख शर्माले जानकारी दिए । किन कोरोना संक्रमितहरुको स्रोत पत्ता लाग्न सकिरहेको छैन ?

समुदायस्तरमा संक्रमणको संकेत देखिएको हो ?

प्रदेश स्वास्थ्य निर्देशन डा. विनोदविन्दु शर्माको विश्लेषण :

पछिल्लो समय ट्राभल हिस्ट्री र संक्रमणको स्रोत पत्ता नलागेपछि धेरैमा शंका र त्रास फैलिएको पाएका छौं । अहिलेसम्म प्रदेशका अन्य जिल्लामा भन्दा स्याङ्जाको स्थिति अलि जटिल नै देखिएको हो । धेरै सोधिरहनुभएको छ, के कोरोना समुदायस्तरमा फैलिएको हो ? समुदायमा गइसकेको छैन । समुदायमा जान एउटा समुदायबाट अर्को समुदायको समूहमा छिरेको देखिनुपर्छ ।

यसलाई छिटफुटकै रुपमा लिनुपर्छ । प्रदेशका धेरैजसो जिल्लामा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा छिटफुट रुपमा देखिएको छ । छिटफुट रुपमा देखिएको संक्रमणलाई रोक्न सकिएन भने अब भने समुदायस्तरमा जान सक्छ । तर, अरु जिल्लामा जस्तो सजिलो हामीलाई स्याङ्जामा भएको छैन ।

अरु जिल्लामा एउटालाई कोरोना संक्रमण देखिए पनि अरुमा नेगेटिभ देखियो । अब स्याङ्जामा विशेष रुपमा कन्ट्रोल गर्नुपर्ने हुन्छ । त्यसैले हाम्रो स्वास्थ्यकर्मीसहितको टोली यतिबेला स्याङ्जामा छ ।

अब यसपछिका कन्ट्याक्ट ट्रेसिङमा बढी ध्यान दिनुपर्ने भएको छ । जस्तो एक जना प्रहरी बाल गृहदेखि धेरै ठाउँमा जानुभएको छ । कोरोना संक्रमण भइसकेपछि पनि सुरक्षाकर्मी जनताकै सेवामा हुनुहुन्थ्यो । हिजो ६० जना आज २२ जना गरी ८२ जनाको स्वाब कलेक्सन हुँदै छ । यो अस्ति एकैपटक १८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछिको टार्गेट हो ।

मुद्दा फाँटका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि त्यहाँ आइपुग्ने जनतामार्फत समुदायमा छि¥यो कि भन्ने पनि होला । कहाँबाट कसरी कोरोना छि¥यो भन्ने यसै थाहाँ हुँदैन । हाम्रो केस अनुसन्धान गर्ने टोली त्यहीँ छ र यथार्थ लिँदै हुनुहुन्छ ।

बिरामी जाँचेर निस्केको स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखियो । त्यससँग सम्बन्धित ५४ जनाको परीक्षण भयो, तीमध्ये सबैमा नेगेटिभ देखियो । ४ वर्षको बच्चालाई कोरोना संक्रमण देखियो । तर आमालाई देखिएन ।

चार वर्षको बच्चालाई देखिएर आमालाई नदेखिँदा मेसिनमै खराबी रहेछ कि भन्ने पनि आयो । शंका गर्न पाइन्छ, तर मेसिनमा कुनै खराबी नभएको भन्न चाहन्छु । कोरोनाले संसारलाई झुक्याइरहेको छ । हामीलाई पनि झुक्याइरहेको छ । समग्रहमा अहिलेसम्म कोरोना समुदायस्तरमा गएको भन्न मिल्दैन ।

अब लकडाउन खुलेसँगै ठिकठाक अवस्थामा फकिन्छौं, दशैं राम्रोसँग मनाउँला भनेर सोचिराखेका बेलामा फेरि कोरोना संक्रमण बढ्नु भनेको यो जबर्जस्त चुनौति हो । आफैं सचेत बनौं, हेलचेक्य्राइँ नगरौं ।

प्रदेशका मुख्य ४ नाकामा कडाइ गर्नुपर्ने हो । तर, लकडाउन खुलेसँगै व्यवहारिक रुपमा त्यो सम्भव देखिँदैन ।

लकडाउन खुलेसँगै परीक्षण घट्यो, संक्रमितको दर बढ्यो

कुल संक्रमितमध्ये ७ प्रतिशत कुनै ट्राभल हिस्ट्री नभएकालाई कोरोना देखिँदा ६५ प्रतिशत अर्थात ८९४ जना भारतदेखि आएका छन् । तेस्रो मुलुकबाट आएका २८ प्रतिशत अर्थात ३७८ जना छन् ।

अहिलेसम्म गण्डकी प्रदेशमा १ हजार ४४१ जनामा कोरोना संक्रमण देखिएको छ । भारत र तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा राखिएकाहरु घर फर्किरहेका छन् ।

क्वारेन्टाइन खाली हुँदै गर्दा प्रदेशको परीक्षणको दर पनि घटिरहेको छ तर पछिल्लो समय संक्रमितको दर भने दिनानुदिन बढिरहेको छ । मंगलबारमात्र ३१ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

सोमबारमात्र २४ जनामा संक्रमण देखिएको छ । लकडाउन खुलेर बजार चलायमान भइरहेका बेला संक्रमितको दर भने उकालो लागिरहेको छ । तर, परीक्षणको दर भने घटिरहेको छ ।

प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी २ ठाउँमा कोरोना परीक्षण भइरहेको छ । क्षयरोग केन्द्रको मेसिन बिग्रिएका कारण २ दिन कोरोना परीक्षण बन्द जस्तै हुन पुग्यो ।

मंगलबारदेखि फेरि डेढ सयदेखि २ सय जनाको हाराहारीमा परीक्षण हुन थालेको प्रदेश प्रयोगशालाकी सपना सुवेदीले जानकारी दिइन् । ‘क्वारेन्टाइनमा बस्नेको संख्या कम भएको र अरु मान्छेमा पनि शंका नभएकाले परीक्षणको दर कम थियो,’ सुवेदीले भनिन्, ‘पछिल्लो समय संक्रमितको दर बढिरहेको छ । नयाँ टेस्ट हुन सकेको छैन तर टेस्ट भएकाहरुमा कोरोना संक्रमण देखिइरहेको छ ।’

संक्रमितको दर बढिरहेका बेला किन परीक्षणको दर भने घटिरहेको छ त ? प्रदेश स्वास्थ्य निर्देशक शर्मा भन्छन्, ‘अब हामी ३० वटा स्वाब ग्रुपमा जाँदैछौं । विभिन्न ग्रुपको स्याम्पल लिन्छौं । लक्षण पनि नदेखिने र सबैको परीक्षण गर्ने आधार पनि नभएकाले कम देखिएको हो ।’

सरसफाइ गर्ने, कपाल काट्ने, तरकारी दोकान, फ्रेस हाउस, होटल, हस्पिटल, ग्यारेज, स्कुल जस्ता ३० समूहमा परीक्षणका लागि जाने शर्माले जानकारी दिए । ५ देखि १० को समूहमा नमुना लिने उनको भनाइ थियो ।

पोखरा महानगरपालिकामा ३ सयदेखि ५ सय जना र जिल्लामा २ सयभन्दा धेरैको नमूना संकलन लिने शर्माले जानकारी दिए । ‘नेगेटिभ आए सजिलो भइहाल्यो । पोजेटिभ आयो भने अरुको पनि बढाउने योजनामा छौं,’ शर्माले भने, ‘मान्छे हेरेर चिनिँदैन । परीक्षण बढाउन चारवटा मुख्य विषय छन् । जनशक्ति बढाउने, पिसिआर मेसिन बढाउने, जाँच गर्ने समय बढाउने र अर्को परीक्षणको संख्या बढाउने ।’

सुरुमा २ जनामात्रै कोरोना जाँच गर्ने प्राविधिक भएको अवस्थामा अहिले २४ जना पुगेको उनले जानकारी दिए । ११ वटै जिल्लामा कोरोनाको स्वाब परीक्षण गर्न टोली तयार गरेर रहेको शर्माले बताए ।

गण्डकी प्रदेशमा अहिलेसम्म २४ हजार २४ जनाको नमुना संकलन भएकोमा २२ हजार ४१४ जनामा नतिजा नेगेटिभ आएको छ । १ हजार ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ हजार २२७ जना निको भएर घर फर्किएका छन् । मृत्यु भएका ४ जनामा कोरोना पुष्टि भएको छ ।

एक घर पीसीआरको माग गर्दै संसद अवरुद्ध

संक्रमणको दर बढिरहँदा परीक्षण दर घटेको भन्दै गण्डकी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक घर एक पिसिआर टेस्टको माग राखेको छ । प्रदेश सभामा संकल्प प्रस्ताव नै दर्ता गराएको कांग्रेसले सरकारले बेवास्ता गरेको भन्दै लगातार २ दिन संसद अवरुद्ध पारेको छ ।

संकल्प प्रस्तावमाथिको छलफल कार्यसूचिबाटै हटाइपछि मंगलबार पनि कांग्रेसले संसद अवरुद्ध गरेको हो । सरकारले एक घर परीक्षण गर्न सक्ने अवस्था नरहेको बताउँदै आएको छ । एक घर एक पिसिआर टेस्ट हुनुपर्ने, परीक्षणको दायरा बढाउनुपर्ने, कोरोना संक्रमणबाट मृत्यु भएकाको शवको व्यवस्थापन गर्नुपर्ने लगायतका विषय समेटेर कांग्रेसले संकल्प प्रस्ताव नै दर्ता गराएको छ ।

संकल्प प्रस्तावलाई कार्यसूचीमा राखेर सरकारले जवाफ नदिँदासम्म संसद चल्न नदिने कांग्रेसले अडान कसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment