Comments Add Comment

५ महिनापछि खुल्यो पर्यटन व्यवसाय, घुमघाम कहिलेबाट ?

१५ साउन, काठमाडौं । ११ चैत २०७६ पछि पूर्ण रुपमा बन्द भएका पर्यटकीय गतिविधि आजबाट औपचारिक रुपमा खुलेका छन् । होटेल, पर्वतारोहण, पदयात्रा तथा टूरसम्बन्धी व्यवसाय गर्ने कम्पनीहरुले आजबाट आफ्ना कार्यालय सञ्चालनमा ल्याएका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार कार्यालय फाट्टफुट्ट खुलेका छन् । तर, तत्काल कुनै विजनेश नभएका कारण धेरै व्यवसायी कार्यालय खोलिहाल्ने मुडमा पनि छैनन् ।

‘आजबाट नेपालमा पर्यटन खुला भयो भन्ने सन्देश दिने गरी अब हामी योजना बनाउँछौं,’ उनले भने । सुवेदीका अनुसार पर्यटकको चासो भने पर्याप्त देखिन्छ ।

नेपालमा उडान कहिलेबाट सूचारु हुन्छ, कतिजनाको समूहमा आउन पाइन्छ, नेपाल आइसकेपछि क्वारेन्टिनमा बस्नु पर्छ कि पर्दैन भन्नेबारे पर्यटकले चासोपूर्वक सोधिरहेको उनले जानकारी दिए ।

घुमघाम कहिलेबाट ?

नेपालमा पर्यटन क्षेत्र खुला भएको घोषणा भएपनि तत्काल घुमघामको वातावरण भने बन्ने छैन । त्यसमाथि साउनभर त यसै पनि प्रतिवन्ध कायमै छ ।

हवाई र सडक यातायातमा लागेको प्रतिवन्धले एक जिल्लाबाट अर्को जिल्ला जान पास अनिवार्य छ । घुम्न जाने प्रयोजनका लागि पास पाइँदैन ।

सुवेदी भन्छन्, ‘अबको केही समय माहौल बनाउने हो, हामी सुरक्षित छौं भन्ने सुनिश्चित गराउन अपनाउने उपाय कार्यान्वयन गर्ने हो, त्यसका लागि हामी काम गर्न तयार छौं, सरकारले प्रभावकारी अनुगमन गरोस ।’

पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार पर्यटन मन्त्रालयले क्वारेन्टिनका सम्बन्धमा कस्तो मोडालिटी अपनाउने भन्ने सम्बन्धमा छलफल गरिरहेको छ । यो टुंगोमा पुगेपछि सबै व्यवसायीलाई सर्कुलर गरिने भएको छ ।

सोहीआधारमा पर्यटकीय गतिविधि अगाडि बढ्नेछन् । सरकारले १५ साउनबाट ट्राभल र टे्रकिङ एएजेन्सीका कार्यालय खोल्न दिने निर्णय गरेको हो । अब व्यवसायीले बुकिङ ग्रहण गर्न सक्छन् । यसरी गरिएको बुकिङ शरद ऋणका लागि हो ।

असोज-मंसिरमा पदयात्रामा जाने पर्यटकले अब नेपाल भ्रमणका लागि बुकिङ गर्न सक्छन् । आगामी सिजनको पर्वतारोहणसमेत खुला भएको छ ।

‘विमानस्थलमै पीसीआर टेस्ट गरौं’

व्यवसायीले त्रिभुवन विमानस्थलमा पर्यटकको पिसिआर परीक्षणको व्यवस्था हुनुपर्ने माग गरेका छन् । नेपाल भित्र आइसकेपछि लामो समय क्वारेन्टिनमा राख्ने प्रावधानले पर्यटकमा झण्झट हुने भन्दै बरु शूल्क तिरेर भएपनि विमानस्थलमै पीसीआर परीक्षणको व्यवस्था मिलाउन व्यवसायीले माग गरेका छन् ।

त्यसको नतिजा द्रुतगतिमा निकाल्ने गरी व्यवस्था गर्नुपर्ने प्रस्ताव व्यवसायीले मन्त्रालयसँग गरेका छन् ।

उता, मन्त्रालयले भने केही समय नेपाल आउने पर्यटकलाई कम्तिमा ४ दिनसम्म होटेल क्वारेन्टिनमा राख्ने गरी प्रस्ताव गरिरहेको स्रोतले बताएको छ ।

यसले होटेल व्यवसायीलाई फाइदा भएपनि पर्यटक आउने सम्भावना कम हुने चिन्ता व्यवसायीको छ । एक होटेल व्यवसायी भन्छन्, ‘लामो समय क्वारेन्टिन राख्दा खर्चालु पर्यटक सीमित मात्रामा आउने वातावरण त बन्छ, तर पर्यटक नै आएनन् भने के गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment