Comments Add Comment

कोरोना नियन्त्रणका लागि प्रदेश २ सरकारद्वारा ७ करोड निकासा

१५ साउन, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना भाइरस नियन्त्रण गर्नका लागि थप ७ करोड रुपैयाँ निकासा गरेको छ । निकासा गरेको रकमले कोभिड अस्पताल निर्माणदेखि आइसोलेसन व्यवस्थापन गरिने सरकारले जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार यो रकम निकासा गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार संघीय सरकारले कोरोना नियन्त्रणका लागि दिएको यो रकम निकासा गरी खर्च गरिनेछ ।

यो रकम कोभिड हस्पिटल निर्माण तथा हाल सञ्चालनमा रहेका आइसोलेसनको थप व्यवस्थापन, बिरामीको खाना खाजा, बेड संख्यामा वृद्धिका लागि खर्च गरिनेछ ।

बाराको सिमरामा कोभिड अस्पताल निर्माणको लागि १ करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शववाहन तथा एम्बुलेन्स खरिदका लागि १ करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाहीमा आइसोलेसन व्यवस्थापनका लागि ७५/७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाको लागि ५०/५० लाख खर्च गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

जिल्लाबाट माग भए बमोजिम थप रकम व्यवस्थापन गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले यसअघि कोरोना नियन्त्रणका लागि ६८ करोड रुपैयाँ निकासा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment