Comments Add Comment

सागका स्वर्णविजेता खेलाडीलाई कांग्रेसको सम्मान

१६ साउन, काठमाडौं । गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका खेलाडीलाई नेपाली कांग्रेसले आज नगदसहित सम्मान गरेको छ ।

कांग्रेसको खेलकुद विभागले शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सागमा स्वर्णविजेता खेलाडीलाई सम्मान गरेको हो । पदक विजेता खेलाडीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सम्मान गरे ।

नेपालले १३ औं सागमा ५१ स्वर्णसहित कुल २०६ पदक जितेको थियो । कांग्रेसको खेलकुद विभागले स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गरेकाे हाे । नेपालले व्यक्तिगत र समूहगत गरी १३ वटा खेलमा स्वर्ण पदक जितेको थियो ।

कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतको संयोजकत्वमा कांग्रेसले केही दिनअघि खेलकुद विभागलाई पूर्णता दिएको थियो ।

कांग्रेसले सागमा एक मात्र स्वर्ण जित्नेलाई १० हजार, दोहोरो स्वर्ण जित्नेलाई १५ हजार, र ४ वटा स्वर्ण जित्नेलाई २५ हजार प्रदान गरेको छ । तीन स्वर्ण  जित्नेलाई २० हजार दिने घाेषणा भएकाे थियाे तर सागमा ३ स्वर्ण कसैले जितेका थिएनन् ।

सर्वाधिक ४ स्वर्ण जित्ने पौडी खेलाडी गौरिका सिंहले नगद २५ हजार पाइन् । यस्तै दुई/दुई स्वर्ण जितेका कराते खेलाडी मन्डेकाजी श्रेष्ठ तेक्वान्दो खेलाडी आयशा शाक्य र गल्फ खेलाडी सुवास तामाङले समान १५/१५ हजार रुपैयाँ पाए ।

यस्तै नेपालले समूह खेल अन्तर्गत पुरुष यु-२३ फुटबल टिमले स्वर्ण जितेको थियो । स्वर्ण जित्ने टीमका सबै खेलाडीले नगद १०-१० हजार रुपैयाँ प्राप्त गरेका छन् । कांग्रेसले सागमा स्वर्ण  जित्ने कूल ८० खेलाडीलाई सम्मान गरेको हो ।

नगदको हिसाबले भन्दा पनि आत्मसम्मान र प्राेत्साहनका लागि खेलाडीलाई सम्मान गरेकाे कांग्रेस खेलकुद विभागका संयाेजक माेहन बस्नेतले बताए ।

यस्तै बस्नेतले टाेकियाे ओलम्पिक छनाेटकाे तयारीमा रहेकाे खेलाडीकाे काेराेना बिमा गरिदिने घाेषणासमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment