काठमाडौं । अमेरिका र बेलायतले केही दिनअघि रुसमाथि अन्तरीक्षमा एक हतियार परीक्षण गरेको आरोप लगाए । अमेरिकाको विदेश मन्त्रालयले रुसले परीक्षण गरेको उक्त हतियार अर्बिट एन्टी स्याटेलाइट रहेको भन्दै चिन्ता व्यक्त गर्यो ।
यद्यपि रुसले अन्तरीक्षमा कुनै पनि हतियार परीक्षण नगरेको प्रष्टीकरण दिइसकेको छ । यसअघि नै रुसको रक्षा मन्त्रालयले अन्तरीक्षमा उपकरणको जाँचका लागि नयाँ प्रविधिको प्रयोग भैरहेको जनाएको थियो । अन्तरीक्षमा आफूले नयाँ प्रविधिको प्रयोग गरेको सोही विषयलाई रुस र बेलायतले तोडमोड गरी प्रस्तुत गरेको रुसको जिकिर छ ।
उता अमेरिकाले चाहिँ पहिलेदेखि नै अन्तरीक्षमा रुसी स्याटेलाइटका गतिविधिहरुप्रति प्रश्न उठाउने गरेको छ । तर रुसी अन्तरीक्ष गतिविधिमाथि बेलायतले चाहिँ पहिलोपटक आरोप लगाएको हो ।
अमेरिकाको अन्तर्राष्ट्रिय सुरक्षा तथा अप्रसार विभागका असिस्टेन्ट सेक्रेटरी क्रिस्टोफर फोर्ड भन्छन्, ‘यस प्रकारको कार्य अन्तरीक्षको शान्तिपूर्ण प्रयोगका लागि खतरापूर्ण छ । यसले अन्तरीक्षमा फोहोर पैदा हुने खतरा बढाउँदछ जुन भूउपग्रह तथा अन्तरीक्ष प्रणाली, जसमा विश्व नै निर्भर छ, त्यसका लागि पनि ठूलो खतरा हो ।’
अमेरिकाको स्पेस कमाण्डका प्रमुख जनरल जे रेमन्डले रुसद्वारा अन्तरीक्षमा भूउपग्रह प्रतिरोधी हतियारको परीक्षण गरिएको प्रमाण आफूहरुसँग रहेको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘अन्तरीक्षमा प्रणाली विकास गर्ने तथा त्यसको परीक्षण गर्ने रुसको निरन्तरको कोसिसको यो एक अर्को प्रमाण हो । साथै यो गतिविधि अन्तरीक्षमा अमेरिका र उसका सहयोगी मुलुकहरुका प्रणालीलाई खतरामा पार्न हतियारको प्रयोग गर्ने रुसको घोषित सैन्य नीति अनुरुप छ ।’
बेलायतको अन्तरीक्ष निर्देशनालयका प्रमुख एयरभाइस मार्सल हार्वे स्मिथले एक विज्ञप्ती जारी गर्दै रुसको हर्कतले अन्तरीक्षको शान्तिपूर्ण प्रयोगमा खतरा पैदा गरेको र यसबाट अन्तरीक्षमा फोहोर जम्मा हुने खतरा पनि बढेको बताएका छन् ।
विश्वका केवल चारवटा देश– रुस, अमेरिका, चीन र भारतले मात्र अहिलेसम्म एन्टी स्याटेलाइट मिसाइल प्रविधिको क्षमता प्रदर्शन गरेका छन् ।
भारतले गत वर्ष पृथ्वीभन्दा ३ सय किलोमिटर पर कक्षमा घुमिरहेको आफ्नै एउटा स्याटेलाइटलाई ध्वस्त पारेर एन्टी स्याटेलाइट मिसाइलको सफल परीक्षण गरेको थियो । त्यसलाई भारतले ‘शक्ति मिसन’ नाम दिएको थियो ।
उता चीनले सन् २००८ मा पृथ्वीभन्दा ८ सय किलोमिटर टाढा रहेको स्याटेलाइट खसालेर आफ्नो भूउपग्रह प्रतिरोधी हतियार प्रणालीको सफल परीक्षण गरेको थियो ।
यस्ता परीक्षणहरुका क्रममा ध्वस्त पारिएका स्याटेलाइटबाट ठूलो परिमाणमा फोहोर पैदा हुने र ती टुक्राहरु पृथ्वीको कक्षमा घुमिरहने हुनाले अन्य स्याटेलाइट तथा अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रलाई समेत असर गर्नसक्ने वैज्ञानिकहरुको भनाइ छ ।
अन्तरीक्षमा हतियारको परीक्षण किन ?
वैज्ञानिकहरुका लागि विश्व अहिले स्याटेलाइटमै निर्भर हुन लागेको छ । देशका अर्थतन्त्रहरु कहीँ न कहीँ स्याटेलाइटसँगै जोडिएका छन् । यदि कुनै देशले अर्को कुनै देशलाई नोक्सान पुर्याउन चाह्यो भने उसको स्याटेलाइटमा आक्रमण गरिदिए पुग्छ । यस्तो अन्तरीक्ष युद्धका बारेमा निकै भयानक परिदृश्य तथा सम्भावनाहरुका विषयमा लामो समयदेखि चर्चा हुने गरेको छ ।
विश्वको सूचना प्रणाली, अर्थतन्त्र आदि सबै स्याटेलाइटमा निर्भर भएको अवस्थामा शक्तिशाली मुलुकहरु आफ्नो सर्वाङ्गीण सुरक्षा र मजबुतीका लागि स्याटेलाइट प्रतिरोधी हतियारको विकास गरिरहेका छन् । यदि कसैले आफ्नो स्याटेलाइटमा आक्रमण गर्छ भने उसको स्याटेलाइटलाई पनि ध्वस्त गरिदिने गरी आफूलाई तयार राखेका छन् शक्ति राष्ट्रहरुले ।
रुसले उठाएको पछिल्लो कदम पनि यसकै परिणाम हो । अमेरिका अगाडि बढिरहेको छ । ऊसँग एक पूरा अन्तरीक्ष कमाण्ड छ । वायुसेना, स्थल सेना तथा सामुद्रिक सेनाका अलावा अमेरिकाले अन्तरीक्ष सैन्य दस्ता पनि तयार गर्दैछ । त्यसैले अमेरिकालाई जवाफ दिनका लागि पनि रुसले केही न केही त अवश्य गर्दछ ।
शक्ति राष्ट्रहरुबीचको यस्तो प्रतिस्पर्धा विगतमा पनि भएको र भविष्यमा पनि चलिरहने विज्ञहरु बताउँछन् ।
एउटा महत्वपूर्ण तथ्य के भने स्याटेलाइट खसाल्ने क्षमता भएका कुनै पनि मुलुकले अहिलेसम्म अन्य देशको स्याटेलाइटमाथि आक्रमणचाहिँ गरेका छैनन् । अहिलेसम्म यस्तो हतियार प्रविधिको प्रयोग केवल आफ्नो क्षमता देखाउनका लागि परीक्षणमा मात्र सीमित छ । यद्यपि भविष्यमा पनि यस्तो हतियारको प्रयोग नहोला भनेर भन्न सकिँदैन ।
सम्भव छ अन्तरीक्ष युद्ध
वैज्ञानिकका अनुसार कुनैपनि प्रविधि जो प्रयोग गर्न सकिन्छ, त्यो शान्ति र युद्ध दुवैमा काम आउँछ ।
आधुनिक युगमा अन्तरीक्षको भूमिका अहम् बनिरहेको छ । जसरी हवाई जहाजको आविष्कार पश्चात् त्यसको भूमिका पहिलो तथा दोस्रो युद्धमा निकै अहम् थियो ।
त्यसैले यदि विश्वमा अर्को त्यस्तै भयानक युद्ध भयो भने त्यसमा अन्तरीक्षको भूमिका निकै भयानक हुनेछ । अन्तरीक्षकै सहयोगले एक देशले अर्को देशलाई तहस नहस बनाउनेछन् ।
–बीबीसीबाट
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4