Comments Add Comment

व्यवसायिक बन्दै टिकटक स्टारः १५ सेकेन्डको भिडियोबाट बीसौं हजार !

नयाँ गीतमा सशुल्क अभिनय गरेर पैसा कमाउन थाले टिकटकर

अहिले नेपाली गीत–संगीतको प्रबद्र्धन गर्ने सबैभन्दा सहज र सशक्त हतियार बनेको छ चाइनिज एप टिकटक । अहिले जेजति गीतहरु यूट्यूवमा हिट भएका छन्, तीमध्ये अधिकांसले टिकटकबाटै दर्शक कमाएका हुन् ।

अहिले सबैको मुखमा झुण्डिएको गीत हो, निशान भट्टराई र एलिना चौहानले गाएको ‘के माया लाग्छ र ?’ यो गीतले करिब ३५ दिनमा ७७ लाखभन्दा बढि भ्यूज पाएको छ । स्मरणीय के छ भने सुरुवातमा यो गीतको भ्यूज निकै सुस्त थियो । तर, जब टिकटकमा गीत भाइरल भयो, दर्शकहरु यो गीत खोज्दै यूट्यूवमा ओइरियो । त्यसपछि लोकप्रियताको ग्राफ ह्वात्तै उकालो लाग्यो ।

यसरी टिकटकको प्रभावकारीता बढ्दै गएपछि अहिले नयाँ गीत निकाल्नेहरु पनि कसरी टिकटकमा आफ्नो गीतलाई प्रख्यात बनाउने भनेर दौडमा लाग्न थालेका छन् । अत्यधिक फ्यान फलोअर्स भएका टिकटक स्टारहरुको खोजी हुन थालेको छ । र, टिकटक बनाउने काम पनि व्यवसायमा परिणत हुने क्रममा छ । टिकटक स्टारहरुलाई पैसा दिएरै आफ्नो गीतमा अभिनय गराउन चाहनेहरु बढिरहेका छन् ।

टिकटकमा अत्यधिक फ्यान फलोअर्स भएका नेपाली स्टार हुन्, जुम्याहा दिदीबहिनी अर्थात् प्रिज्मा र प्रिन्सी खतिवडा । टिकटकमा ६५ लाखभन्दा बढि फलोअर्स भएका यी दिदीबहिनीलाई अहिले म्युजिक भिडियोमा पनि निकै छाएका छन् । अहिले नयाँ गीत ल्याउनेहरुले सबैभन्दा पहिले खोज्ने टिकटक स्टार पनि उनीहरु नै हुन् ।

बुझिएअनुसार ट्विनी गल्र्सले एउटा गीतमा न्यूनतम २० हजार लिएर टिकटक भिडियो बनाउने गर्छन् । उनीहरुले अभिनय गरेको भिडियो ६५ लाखमा पुग्ने भएकाले गायक–गायिकाहरु पनि सहजै उनीहरुलाई यति रकम दिन तयार हुन्छन् । यो रकम दिदीबहिनीका लागि संयुक्त हो ।

अनलाइनखबरसँगको कुराकानीमा दिदी प्रिज्माले पछिल्लो समय सशुल्क अभिनयका लागि थुप्रै अफरहरु आउने गरेको स्वीकारिन् । उनले भनिन्, ‘अफरहरु धेरैले गर्नुहुन्छ । हामीलाई गीत सुनेर मात्र कति पैसामा गर्ने भनेर निर्णय लिन्छौं ।’

उनले आफूलाई एकदमै मन परेका गीतहरुमा भने बिना पैसा स्वतःस्फुर्त अभिनय गरेको बताइन् । ‘सबै टिकटक भिडियो पैसा लिएरै अभिनय गर्छौं भन्ने होइन । आफूलाई धेरै मन परेको त यत्तिकै गरिरहेका हुन्छौं । अरु भिडियोका लागि हाम्रो आफ्नो रेट छ । तर, पैसा लिएर पनि जे पायो त्यही गीतमा चाहिँ टिकटक बनाउँदैनौं,’ प्रिज्माले सुनाइन् ।

ट्विीनी गल्र्सपछि रेश्मा घिमिरे, उषा उप्रेती, मञ्जिल बस्नेत, अस्मिता गुरुङ, दिपा दमन्ता, सुधिर श्रेष्ठलगायत टिकटकर अत्यधिक डिमान्डेड छन् । यति मात्र होइन, ५ वर्षकी बालिका शैलिन श्रेष्ठलाई पनि सशुल्क अभिनयको प्रस्ताव आउन थालेको छ । नआओस पनि किन टिकटकमा उनका साढे चार लाखभन्दा बढि फलोअर्स छन् ।

टिकटक स्टार मात्र होइन, टिकटकमा सक्रिय रहेका चलचित्र क्षेत्रका स्थापित कलाकारलाई पनि यस्तो अफर आउने गरेको छ । कोरोना र लकडाउनले गर्दा धेरै सेलिब्रिटीहरु फुर्सदिला पनि छन् । धेरैजसो नायिकाहरु अहिले टिकटकमै झुम्मिएका छन् । उनीहरुमध्ये धेरै फलोअर्स भएकाहरुले शशुल्क टिकटक बनाउन थालेका छन् ।

टिकटकमा झण्डै ९ लाख फलोअर्स भएकी नायिका वर्षा राउत भन्छिन्, ‘अहिले यस्तो अफर धेरै आउँछन् । रेट मिल्यो भने गर्छु, नत्र गर्दिनँ ।’ बर्षाले एउटा गीतको टिकटक भिडियोका लागि ३० हजारसम्म लिने गरेको बुझिएको छ । यद्यपि उनले चाहिँ आफ्नो ‘रेट’ खोल्न चाहिनन् ।

वर्षापछि आँचल शर्मा, निता ढुंगाना, लगायतका नायिकाहरुले टिकटकमा अत्यधिक फलोअर्स कमाएका छन् । पुरुष सेलिब्रिटीहरुको उपस्थिति भने टिकटकमा कमजोर छ ।

संगीतकर्मी ‘रुष्ट’
कतिपय संगीतकर्मीहरु भने पैसाको चर्को बार्गेनिङ गर्न थालेको भन्दै टिकटक स्टारसँग रुष्ट पनि छन् । १५ सेकेन्डको भिडियोका लागि पनि २५–३० हजार माग्नु जायज नभएको उनीहरुको टिप्पणी छ ।

संगीतकार अर्जुन पोख्रेल भन्छन्–‘हामीले चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा टिकटक बनाउन केही राम्रो फलोअर्स भएका प्रयोगकर्ताहरुलाई आग्रह गरेका थियौं । तर, उहाँहरुले पैसाको बार्गेनिङ गर्न थाल्नुभयो । २५–३० हजार भन्दा कममा टिकटक बनाउन सक्दैनौ भनेपछि हामीले पनि फेरि आग्रह गरेनौ । तर, पछि गीत लोकप्रिय भएपछि उहाँहरुले आफैले टिकटक बनाउनु भएछ ।’

नायक तथा मोडल पल शाहले पनि आफूले बार्गेनिङको समस्या भोगेको बताए । उनले भने, ‘कुनै सर्जकले आफ्नो गीत प्रमोशन गरेको रकम दिन्छ भने लिनु नराम्रो होइन । तर, एउटा गीतको १५ सेकेन्डको क्लिप्समा अभिनय गरिदिन्छु भनेर बार्गेनिङ गर्नु संगीतको सम्मान होइन । यसले, संगीत क्षेत्रलाई माथि लैजान मद्दत गर्दैन ।’

पल अगाडि भन्छन्–‘एउटा गायकले १५–२० हजारमा दुख गरेर गीत गाउँछ, उक्त गीतसँग आवद्ध सबैले उस्तै मिहिनेत गरेर सिर्जना तयार गर्छन् । एउटा मोडलले ४०–५० हजारमा एक हप्ता वर्कशप गरेर, २–३ दिनसम्म दुख गरेर काम गर्छ । भिडियोको टिमले कम पैसामा गरेको मिहिनेत प्रशंसायोग्य छ । तर, सोही गीतको सानो टुक्रामा टिकटक बनाएवापत २५–३० हजार बार्गेनिङ गर्ने कलाको सम्मान होइन ।’
पलले टिकटक प्रतिभा देखाउने स्थान भएको भन्दै फलोअर्स देखाएर यसैमा बार्गेनिङ गर्न थाल्ने हो भने त्योभन्दा माथि कसरी जाने भनेर प्रश्न गरे ।

पलले दुखेसो व्यक्त गर्दै भने–‘म यस्तो गीत गाउँछु २’को गीत सार्वजनिक हुँदा मसँगै म्यूजिक भिडियोमा काम गर्नुभएको केही टिकटकर्स लाई मैले आग्रह गरेको थिएँ । तर, उहाँहरुले २५–३० हजार नदिई काम गर्न नसक्ने बताउनुभयो । मलाई यो कुराले निकै दुःख लाग्यो । कतिपय अवस्थामा त सम्बन्धको कुरा पनि हुन्छ ।’

पलले आफूलाई मन परेको गीतको भिडियो आफ्नो पेजमा शेयर गर्ने गरेको पनि बताए । गायक, म्यूजिक भिडियो निर्माता तथा निर्देशक सरोज वलीले आफूले पनि सुरुवाती दिनमा केही टिकटक प्रयोगकर्ताहरुलाई पैसा दिएर खेलाएको बताए । उनले भने–‘बजारमा यस्तै चलेको रहेछ भनेर मैले पनि केही व्यक्तिहरुलाई पैसा वुझाएको थिएँ । तर, अहिले आफूमाथि नै मानिसहरु निर्भर हुन थालेको सोचेर होला उहाँहरुले पैसाको चर्को बार्गेनिङ गर्न थाल्नुभएको छ ।’

तर, टिकटकमा राम्रो फलोअर्स कमाउनका लागि त्यसका प्रयोगकर्ताले निकै मिहिनेत पनि गरेका हुन्छन् । १५ सेकेन्डको भिडियोका लागि पनि घन्टौं लाग्न सक्छ । यस्तोमा आफूले मागेको पैसालाई चर्को भन्न नमिल्ने टिकटक स्टारहरुको दावी छ ।

नाम नबताउने शर्तमा एक टिकटक स्टारले भनिन्, ‘टिकटकले गर्दा नै अहिले धेरै नेपाली गीतहरु हिट भइरहेका छन् । हामीले एउटा १५ सेकेन्डको भिडियो बनाउँदा लाखौं फलोअर्समा पुग्छ । यत्तिको प्रमोसन अरु ढंगले गर्नुपर्यो भने उहाँहरुले एक लाखसम्म खर्च गर्नुपर्छ । हामी कसरी महंगा भयौं ?’

गायक तथा संगीतकार पोखरेल पनि राम्रो फलोअर्स हुनेले डिमाण्ड गर्नु गलत नभएको बताउँछन् । उनले भने, ‘हो, फेसबुक, इन्स्टाग्राममा पनि राम्रो फलोअर्स कमाएका सेलिव्रिटीले ब्रान्डको प्रमोशन गरेको राम्रो रकम लिन्छन् । यसैले, टिकटकमा पनि फलोअर्स हुनेहरुले पैसा लिनु नराम्रो होइन । तर, सानो संगीत क्षेत्र र ठूलो विज्ञापन बजारलाई एउटै नजरले हेर्नु हुदैन ।’गायक ओली भने कोभिड १९ पछि थला परेको संगीत क्षेत्रलाई सहयोग गर्न टिकटक स्टारहरुले पनि उदारता देखाउनुपर्ने बताउँछन् ।

उनी भन्छन, ‘घरमै बसेर बनाउने १५ सेकेन्डको भिडियोका लागि २० देखि ३५ हजारसम्म बार्गेनिङ गर्नु गलत कुरा हो । यसले, बनाउने र बनाउन आग्रह गर्ने दुबैका लागि हित गर्दैन ।’

उत्कृष्टता ओझेलमा
टिकटकमा त्यस्ता गीतहरु भाइरल हुन्छन्, जसका शब्दहरु ‘क्याची’ र उटपटाङ छन् । ‘के छ है ठिकै छ… ’ टाइपका गीतहरु यसरी भाइरल हुन थालेपछि मिहिनेत गरेर बनाइएका मेलोडियस गीतहरु भने ओझेलमा पर्ने खतरा बढेको छ । अहिले धेरै नयाँ सर्जकहरु यस्तै हल्काफुल्का गीतको पछि दौडिन थालेका छन् ।

तर, टिकटकले नेपाली लोकसंगीतलाई भने निकै फाइदा पु¥याइरहेका छन् । टिकटकमा लोकप्रिय भएकामध्ये अधिकांस लोकलयका गीत छन् । नयाँ पुस्तालाई नेपाली लोकसंगीततर्फ आकर्षित गर्न टिकटकरले निकै योगदान पु¥याइरहेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।

कोभिड १९ पछि नेपाली सांगीतिक क्षेत्र थला परेको छ । अहिले लगानीकर्ताहरु यसलाई उभो लगाउन लागिपरेका छन् । लकडाउन खुलेसँगै बजारमा म्यूजिक भिडियो छायांकनमा कलाकार, प्राविधिक, निर्देशक व्यस्त छन् । जसले, योसँग जोडिएका सबै क्षेत्रलाई राहत दिएको छ । यस्तो बेला टिकटक स्टारहरुले पनि नेपाली गीत–संगीतको प्रबद्र्धनमा निकै योगदान दिनसक्ने अवस्था आएको छ ।

गीत राम्रो भएमा आफैं चल्छ भन्ने एकखालको मान्यता छ । अर्कोतर्फ, बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्ने पनि यथार्थ हो । त्यसैले राम्रो संगीतलाई पनि प्रचारप्रसार आवश्यक हुन्छ । यस्तोमा टिकटक स्टारहरुबाट नेपाली संगीत क्षेत्रले आशा राख्नु अश्वभाविक होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment