+
+

महानगरमा इन्धन र खाजा खर्च कटौतीको निर्णय

सफाइ र स्वास्थ्यकर्मीबाहेकको भत्ता बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १८ गते २१:४१

१८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्धन खर्च, खाजा खर्च र अन्य भत्ता कटौती गरेर प्रशासनिक खर्च घटाउने निर्णय गरेको छ । आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा बैठकले बसेको खर्च कटौती सम्बन्धी निर्णय गरेको हो ।

‘महामारीले जनतामा परेको सकसमा बढी खर्च गर्न सकियोस् भनेर यस्तो निर्णय गरेका हौं,’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने,’सरकारको खर्च मितव्ययी सम्बन्धी नीति, अन्तिम लेखा परीक्षणका क्रममा महालेखा परीक्षकको कार्यालयबाट प्राप्त सुधार सम्बन्धी सुझावलाई आधार मानेर हामीले महानगरको खर्च कटौती गर्ने निर्णयमा पुगेका हौं ।’

साउन महिनाबाटै लागू हुने गरी गरिएको निर्णयमा फोहोरमैला व्यवस्थापनमा खटिने चालक र कुचीकार तथा कोभिड- १९ नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीलाई महाशाखा प्रमुखको सिफारिसमा सुरु तलब स्केलको ५० प्रतिशत भत्ता दिने र अन्य सबैको भत्ता कटौती गर्ने निर्णय गरिएको महानगरका सहसचिव राजेश्वर ज्ञवालीले बताए ।

‘हामीले तत्काल देखिएका धेरै खर्च हुने क्षेत्रमा तत्काल कटौती गरेका हौं, अरु पनि क्षेत्र हुन सक्छन् । हामी अध्ययन गरेर क्रमशः निर्णय गर्दै जान्छौं,’ उनले भने ।

बैठकले साउनबाट प्रमुख प्रशासकीय अधिकृतको मासिक इन्धन १०० लिटर, सहसचिवको ८० लिटर, बिभागीय प्रमुख/महाशाखा प्रमुख र महानगरका सवारीका लागि ७० लिटर र मोटरसाइकल प्रयोगकर्ताका लागि १० लिटर पेट्रोल उपलब्ध गराउने निर्णय गरेको छ ।

यसअघि प्रमुख प्रशासकीय अधिकृतका लागि १२० लिटर, सहसचिवका लागि १०० लिटर इन्धन उपलब्ध गराइँदै आएको थियो । यसै गरी बिभागीय प्रमुखहरुका लागि ८० लिटर तोकिएको थियो । तर, थप माग गरेर १०० लिटरसम्म लिने गरिएको थियो । ‘अब कुनै सवारीले थप इन्धन लिनु पर्‍यो भने लगबुक भरेर किलोमिटरका आधारमा मात्र उपलब्ध गराइनेछ,’ ज्ञवालीले भने ।

यसअघि कार्यपालिका बैठकको खाजा खर्च २५० रुपैयाँ थियो । त्यसलाई घटाएर १५० रुपैयाँ कायम गरिएको छ । यसैगरी इन्धन उपयोगका विषयमा अध्ययन गर्न यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यको संयोजकत्वमा ३ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ ।

समितिको सदस्यमा इञ्जिनियर प्रमोद डंगोल र लेखा अधिकृत श्याम न्यौपाने छन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?