Comments Add Comment

नखोल्नू भन्दाभन्दै खुले काठमाडौंका सैलुन

१९ साउन, काठमाडौं । कोरोना संक्रमण फैलन नदिन गरिएको तीन महिना लामो लकडाउन सरकारले खोलिसकेको छ । तर, विद्यालय, फुटवल, फुटसल, जिमखाना, सैलुन, ब्युटीपार्लर लगायतका क्षेत्रलाई अझै पनि बन्द नै राख्न सरकारले भनेको छ ।

यी सेवा/व्यवसाय भदौ १ देखि खुल्ने अनुमान गरिए पनि कोरोना संक्रमणको जोखिम घट्नुको साटो बढेको बढ्यै छ । वीरगञ्ज, जनकपुरधाम लगायतका शहरमा निशेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको छ । यस्तो जोखिमपूर्ण अवस्थामा विद्यालयहरु बन्द नै रहे पनि काठमाडौंका सैलुन, व्युटीपार्लर तथा जिमखानाहरु भने सरकारले नखोल्नू भन्दाभन्दै सञ्चालनमा आएका छन् ।

सरकारले नखोल्नु भन्दाभन्दै सञ्चालनमा आएका केहीले सुरक्षा सतर्कता अपनाएका छन् भने केहीलाई कोरोना केही पनि होइनजस्तो भएको छ ।

बानेश्वरमा केही वर्षदेखि सैलुन सञ्चालन गरिरहेका राजकुमार ठाकुरलाई कपाल काट्न भ्याई-नभ्याई छ । सैलुनमा अहिले कपाल काट्ने उनी एक्लै भएकाले दिनभर कमै मात्र फुर्सद मिल्छ ।

दुईजना मिलेर राम्रैसँग व्यवसाय सञ्चालन गरिरहेका उनी एक्कासी लकडाउनले अप्ठेरोमा परे । आज खुल्छ, भोलि खुल्छ भन्दाभन्दै लकडाउन खुलेन । कमाएको पैसा सकिएपछि उनीहरु दुबै लकडाउनकै बीच गृहजिल्ला बारा पुगे । लामो समय घरमै बसे । सरकारले लकडाउन खुकुलो पारे पनि काठमाडौं आउन अनुमति दिएको थिएन । तर, जसोतसो रामजकुमार काठमाडौं भित्रिए । अहिले भने उनी मालामाल छन् । ग्राहकहरु टन्न छन् ।

सैलुनमा धादिङ स्थायी घर भएका राजु बास्कोटा पालो कुरेर बसिरहेका थिए । कपाल काट्ने लाइनमा बसेका बास्कोटाले भने, ‘चार महिना लामो लकडाउनमा सैलुनमा कपाल काटिनँ घरमै जसोतसो काटें, अहिले यहाँ आउँदा डर लागिरहेको छ’ बास्कोटाले भने ।

शुरुमै बास्कोटाले सैलुनवालालाई सोधखोज गरेका रहेछन् । राजकुमारले आफू बाराबाट आएपछि पीसीआर परीक्षण गराइसकेको नेगेटिभ रिपोर्ट देखाएपछि उनले ढुक्क भएर पालो कुरेको बताए ।

राजकुमारले भने, ‘१४ दिन त म परीक्षण गराएर पनि कोठामै क्वारेन्टिन बसेँ, त्यसपछि कपाल काट्न थालेको ।’

बानेश्वरको अर्को सैलुनको अवस्था पनि उस्तै भिडभाड थियो । कपाल काट्नेले मास्क लगाएका थिए । स्यानिटाइजरको भाँडो पनि छेउमा थियो ।

कुपण्डोलको मुन्ना एण्ड पारस हेयर ड्रेसर सैलुनमा पुग्दा दुईजना जना धमाधम कपाल काटिरहेका थिए । सैलुनमा कपाल काट्ने मान्छे तीनजना थिए । कपाल काट्नका लागि सामाजिक दूरी कायम गर्न सम्भव थिएन । अन्य सुरक्षा सतर्कता भने उनीहरुले सकेसम्म अपनाएका थिए । कपाल काट्नेले पीपीई सुट पनि लगाएका थिए । हातमा पञ्जादेखि आँखामा चश्मासम्म लगाएका थिए । कैंची, काइँयो तथा पुनः प्रयोग गर्नुपर्ने सामानहरु एकजनाको कपाल काटेपछि स्यानिटाइज गरेरमात्रै प्रयोग गर्ने गरेको उनीहरुले बताए ।

सैलुन सञ्चालक मुन्ना ठाकुरको घर भारतको मोतिहारी हो । उनी २ दशक लामो समयदेखि नेपालमै व्यवसाय सञ्चालन गरिरहेका छन् । चार महिना लामो लकडाउनमा भारत जान नपाएको उनले बताए । सरकारले लकडाउनलाई असार १ गतेदेखि लुजडाउन गरेपछि उनले सैलुन खोलेर सेवा दिन सुरु गरेका छन् ।

सरकारले सैलुन बन्द राखिराख्नु भने पनि स्थानीयले कपाल काट्नै नपाएको गुनासो गर्न थालेपछि उनले पसल खुला गरेको बताए ।

काठमाडौंका शैलुनजस्तै जिमखाना र फुटसलहरु पनि सञ्चालनमा आएका छन् । त्यसैगरी ब्युटीपार्लर पनि सञ्चालनमा आएका छन् ।

संघको गुनासो- सैलुनवालाले टेरेनन्

सैलुन सञ्चालकहरुको पनि संगठन नाई संघ छ । नाई संघ, काठमाडौंका अध्यक्ष मनोज ठाकुरका अनुसार सैलनु सञ्चालन गर्दा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन गरिएको छ ।

यो संघले अहिले मूल्य समेत बढाएको छ । ५० प्रतिशतभन्दा धेरै मूल्य वृद्धि गरेको यो संघले सुरक्षा सतर्कता अपनाउन पनि भनेको अध्यक्ष ठाकुर बताउँछन् । संघको निर्णयाअनुसार धेरैले सुरक्षा सतर्कता पनि अपनाएको उनको दाबी छ ।

काठमाडौंमा सञ्चालन भइरहेका धेरै सेलुन संघमा आवद्ध नभएको र उनीहरुले सुरक्षामा खेलाँची गरेको उनी बताउछन् । ‘हामीले सबैलाई पीपीई सेट, स्यानिटाजलगायतका सुरक्षा सतर्कता अपनाउन भनेका छौं, धेरैले अपनाएका पनि छन्,’ अध्यक्ष ठाकुर भन्छन्, ‘तर धेरैले अटेरी गरेका छन्, संघले भनेको पनि मानेको छैनन् ।’

सैलुन खोल्नु भने अहिले बाध्यता भएको उनी बताउँछन् । लामो समय लकडाउन भएको र अहिले लकडाउन खुलिसकेपछि गुजारा टार्नका लागि पनि सैलुन खोल्नु परेको उनी बताउँछन् ।

तस्वीर/भिडियोः आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment