Comments Add Comment

महिला, सामाजिक दृष्टिकोण र पितृसत्ता

म मानवताबादी हुँ । त्यसैले सबैमाथि मानववत् व्यवहार होस् भन्ने चाहन्छु । अहिले महिलासँग जोडिएर सञ्चारमाध्यममा आइरहेका हिंसाका घटनाले विचलित छु । महिलालाई हेर्ने सामाजिक दृष्टिकोणले मन उदेलित छ । त्यसैले यसको सन्दर्भमा केही लेखौं जस्तो लाग्यो ।

महिला र पुरुषबीच एउटै कुराको मात्र भिन्नता छ, त्यो हो शारीरिक बनावट । यो पनि प्रजननका लागि मात्रै हो । प्रकृतिले महिला र पुरुषका बीच यही भेद बनायो, समाजले भने यो भेदलाई विभेदमा परिणत गर्‍यो । र, त्यही अनुसारको व्यवहार गर्‍यो । एक अध्ययन अनुसार अहिले विश्वभरमा सबैभन्दा बढी हुने हिंसा महिला हिंसा हो ।

यद्यपि, अहिले हामी पूर्ववत अवस्थामा भने छैनौं । त्यो विभेदलाई छिचोल्दै धेरै अगाडि बढिसकेका छौं तर, पहिले जस्तो कमजोर चेतना स्तर अब छैन । तर, जबसम्म महिलामाथि फरक शारीरिक बनोटका कारण हुने विभेद पूर्ण रुपमा अन्त्य हुँदैन, तबसम्म आवाज उठाइ रहनुको विकल्प छैन । विभेद यतिसम्म छ कि गर्भमै छोरीको भ्रूण हत्या गर्ने क्रम आकाशिँदो छ ।

संविधानले समान भने पनि समाजले महिलाको अस्तित्व पूर्ण रूपमा स्वीकार्न नसकेको कयौं उदाहरण तपाईं हामी माझ प्रशस्त छन् । जन्मिँदा समान भए पनि हाम्रो समाज पितृसत्तात्मक भएकाले महिलालाई कमजोर र पुरुषलाई शक्तिशालीका रुपमा परिभाषित गरिन्छ ।

समाजले महिला र पुरुषलाई हुर्किने क्रममा पितृसत्ताको ढाँचामा ढाल्दै जान्छ । पुरुषलाई क्षमता, काम र कमाईको दृष्टिले हेरिन्छ भने महिलालाई सुन्दरताको दृष्टिले हेरिन्छ । जब पुरुष अहंकारमा ठेस पुग्छ, तब केही आपराधिक मानसिकता भएका व्यक्ति महिलाको अनुहार कुरुप बनाउन एसिड प्रहार गर्छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांक अनुसार पछिल्लो ६ वर्षमा २० वटा एसिड प्रहारका घटना भएका छन् । जसमा अधिकांश पीडित महिला छन् । यस प्रकारका घटना हुनुमा व्यक्तिको आपराधिक मानसिकता मात्र होइन, युवतीलाई सौन्दर्यको दृष्टिले मात्र हेरिनु पनि एउटा प्रमुख कारण हो ।

समाजले सानैदेखि महिला र पुरुषको दिमागमा यस्तै कुरा भरिदिएको हुन्छ । उदाहरण हामीले सानो छँदा सुनेका ‘छोरा भएर रुनु हुँदैन, पोथी बासेको राम्रो हुँदैन, छोरी भएसी सहन सक्नु पर्छ’ जस्ता भनाइलाई लिन सक्छौं । छोरीलाई दबिन, सहन, मुख नचलाउन सिकाइएको हुन्छ । जसकारण उनीहरु आफूमाथि हुने हिंसाविरुद्ध खुलेर बोल्न सकिरहेका हुँदैनन् ।

पितृसत्तालाई प्रश्रय दिने कुरामा महिलाको सहभागिता पुरुषभन्दा बढी देखिन्छ । किनभने, पितृसत्तात्मक समाजको बिशेषता नै यही हो कि यहाँ महिलाको प्रमुख कर्तव्य भनेको पितृसत्ताको पुस्ता हस्तान्तरण गर्नु भन्ने बुझाइ छ । यस्तो हुनुको कारण हो, उनीहरुले सिकेको, देखेको, भोगेको, अपनाएको समाज अनि लामो समयसम्म नपाएको ज्ञान अझ भनौं अशिक्षा ।

महिला अधिकारको कानुन बन्नु अघि पुरुषलाई जे पनि गर्ने छुट थियो । उसले श्रीमतीलाई जस्तो ब्यवहार गरोस्, उसको मर्जी थियो । जस्तो मालिकको पशु माथिको अधिकार हुन्छ, त्यस्तै अधिकार श्रीमानको श्रीमती माथि हुन्थ्यो । शरीर महिलाको तर नियन्त्रण पुरुषको । चन्द्र शम्शेरको पालामा १९७७ असार १५ गते सतिप्रथा अन्त्य भयो । त्यसअघि मृतक श्रीमानलाई स्वर्गमा स्त्रीसुख प्रदान गर्नका लागि महिला श्रीमानको लाससँगै जिउँदै जलेर सति जानुपर्ने अन्धविश्वास थियो ।

पितृसत्तालाई मरेपछिको पुरुषको शारीरिक सुख महत्वपूर्ण लाग्यो तर, मृत शरीरसँग जीउँदै जलेकी महिलाको चित्कारले पोलेन । हुन त हामी त्यो समाजबाट निकै माथि आइसक्यौं । आज पुरुष पीडित र महिला पीडक भएका घटना पनि कैयन छन्, यसको मतलब पुरुष माथि हुने हिंसा ठिक हो भन्ने होइन । हिंसा कोही माथि भएको पनि राम्रो होइन, हुनु हुँदैन ।

सोचाइमा परिवर्तन आउन थालेसँगै महिलाहरु प्रतिरोध गर्न सक्ने भएको र पुरुषहरुले महिलाको पक्षमा वकालत गरेको प्रशस्त उदाहरण पाइन्छन् । यद्यपि, समाजमा महिला माथि हुने हिंसा रोकिएका छैनन् । सतहमा जस्तो रुप देखिए पनि आत्ममा पुरातनवादी मानसिकता कायमै छ ।

हाम्रो समाजले ‘एभ्री लाइफ ह्याज इक्वल भ्याल्यु’ भन्ने कुरालाई स्वीकार्न सकेको भए, पितृसत्ताले विभिन्न शीर्षकमा महिलाको ज्यान लिने थिएन । त्रेता युगमा भगवान रामको रामराज्यमा पनि पितृसत्ताले महारानीलाई चरित्र हत्या गरेर गर्भवती अवस्थामा दरबार निकाला गराएको थियो ।

सीतालाई सत चरित्र हुनुको प्रमाण माग्ने पितृसत्ताले रावणलाई अर्काकी श्रीमती हरण गर्नुको स्पष्टीकरण सोधेको रामायणको कुनै पृष्ठमा उल्लेख छैन । आफ्नी श्रीमतीको चरित्र गंगाजस्तै निर्मल छ भन्ने थाहा हुने राजाको मुखमा पट्टि लगाइदिने कति शक्तिशाली पितृसत्ता ! एउटा मानवलाई दाइजोको नाममा जलाउन सक्ने, मार्न सक्ने, शारीरिक यातना दिएर अंगभङ्ग गर्न सक्ने कति तागतवर पितृसत्ता ! मृत पतिको शरीरसँग जिउँदी श्रीमती जलाउन सक्ने कति निर्मम पितृसत्ता ! महिला हिंसा पितृसत्ताको उपज हो, जसलाई पुरुषले मात्र होइन स्वयं महिलाले पक्षपोषण गरेका छन् ।

तपाईंहरुलाई लागेको होला विगत कोट्याएर के फाइदा अहिले समाजमा उल्लेख्य परिवर्तन आइसकेको छ । परिवर्तन जरुर आएको छ तर, यो पर्याप्त होइन । यही स्थिति रहने हो भने पूर्णरुपमा दृष्टिकोण परिवर्तन हुन अझै युग कुर्नुपर्ने देखिन्छ ।

सोचौं त ! हाम्रो जस्तो समाजमा महिला कोबाट असुरक्षित छन् ? समाज उनीहरुका लागि कति सहज र सुरक्षित छ ? यहाँ पुरुष व्यक्ति होइन, पितृसत्तालाई भनिएको हो । २०७६/७७ सालमा नेपाल प्रहरीमा दर्ता भएका मुद्दाका आधारमा तयार पारिएको रिपोर्ट हेर्दा देशभरमा विभिन्न बहानामा हिंसा भोग्ने महिला तथा बालिकाको संख्या ९ हजार ८ सय जना छ ।

केही समयअघि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले भुवन केसीले गरेको हिंसाका बारेमा बोल्दा अनेकौं प्रश्न उठाइए । यदी हिंसा भएको थियो भने पहिल्यै किन बोलिनस् भनेर औंला ठड्याइए । तर, पहिले आवाज उठाउन के कुराले रोक्यो भन्ने सोध्ने कोही निस्किएन

यो त प्रहरीमा दर्ता भएको संख्या हो । दर्ता नभएका घटना पनि उत्तिकै छन् । जुन महिलाले सहेर बसेका छन् वा भनौं सहन बाध्य पारिएका छन् । परिवारको बदनामीको डर, आफ्नै चरित्रमा प्रश्न उठ्ला भन्ने डर अनि समाजले के भन्ला भन्ने डरले उनीहरुको मुखमा पट्टी लगाइदिएको छ र मौन रहने बाध्यात्मक परिस्थिति सृजना गरिदिएको छ ।

कसरी भन्नु होला ! केही समयअघि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले भुवन केसीले गरेको हिंसाका बारेमा बोल्दा अनेकौं प्रश्न उठाइए । यदी हिंसा भएको थियो भने पहिल्यै किन बोलिनस् भनेर औंला ठड्याइए । तर, पहिले आवाज उठाउन के कुराले रोक्यो भन्ने सोध्ने कोही निस्किएन ।

उनलाई आज उठ्ने प्रश्न हिजै उठ्छ भन्ने लाग्यो होला, आफूमाथि उठ्ने प्रश्न थेग्न सक्दिन भन्ने लाग्यो होला । अब ढिलै भए पनि बोल्नुपर्छ भन्ने लाग्यो होला र हिम्मत जुटाएर बोल्ने आँट गरिन् ।

विभिन्न अध्ययनहरुले प्रत्येक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै किसिमको हिंसा भोगेकै हुने देखाउँछन् । तर, महिला मौनप्रायः रहन्छन् । यो समाजले महिलालाई सहनुपर्छ भनेर सिकाएको हुन्छ तर पुरुषलाई हिंसा गर्नुहुन्न भनेर सिकाएको हुँदैन ।

अब महिला अधिकारको कुरा गरौं । यत्रतत्र भनेको सुन्छु, महिलालाई अधिकार बढी भयो । यस्ता कुरा यसकारण आउँछन् कि महिलाको अधिकार निर्धारण गरिएको छ र महिलाको अधिकार निर्धारण गर्ने पनि तिनै पुरुषहरु हुन् ।

महिलालाई अधिकार पुरुष बराबर भएको अवस्थामा चाहिएको होइन । महिलालाई पुरुष समान बनाउन चाहिएको हो । महिलालाई पुरुष समान अस्तित्वमा ल्याउन चाहिएको हो । महिलालाई हेर्ने सामाजिक दृष्टिकोणमा सुधार ल्याउनका लागि चाहिएको हो ।

महिलाले घरको र पुरुषले बाहिरको काम गर्दै गर्दा महिला घरभित्र सीमित रहन बाध्य भए । महिलाको कामको पारिश्रमिक नहुँदा उनीहरु आर्थिक रूपमा घरका पुरुषमा निर्भर रहनुपर्‍यो । महिलाको न आम्दानीको स्रोत भयो न सम्पत्तिमा अधिकार । जसले महिलाको परनिर्भरता बढ्न गयो, जब परनिर्भरता बढ्यो महिला दबिन थाले, हिंसामा पर्न थाले ।

आर्थिक परनिर्भरताले महिलाको स्वतन्त्रता खोस्यो र घरमा पुरुष बलियो र महिला कमजोर भए । हिंसा हुने नै कमजोर माथि हो र गर्ने बलियोले नै हो । महिलाको कमजोर पक्षलाई उकासेर पुरुषलाई महिलाको अस्तित्व बोध गराउनका लागि, हिंसा घटोस् भन्नका लागि चाहिएको हो महिला अधिकार ।

महिलाको आर्थिक परनिर्भरता घटेसँगै उनीहरुको समान अस्तित्व स्वीकारिँदै जान्छ ।

म राजनीतिमा पुरुष र महिलाको अवस्था र हैसियत हेर्छु । पुरुषहरुलाई नेता भएको देख्छु तर, जतिसुकै क्षमतावान भए पनि महिलालाई नेता भएको देख्दिन, महिला नेतृ भएको देख्छु । हामीले महिलालाई नेताका रुपमा हेरेका छैनौं, नेतृत्वकर्ताका रुपमा हेरेका छैनौं ।

नेपाली कांग्रेसका एक उपल्ला तहका नेताले मलाई सुझाव दिनुभएको थियो, सबैले आ–आफ्नो क्लस्टरबाट राजनीति गर्नुपर्छ, पुरुषले खुलामा अनि महिलाले कोटामा । संविधानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ, तिमीहरुलाई राजनीति गर्न सहज छ । जिल्ला जाउ, उपमेयरको तयारी गर ।

पुरुष बराबर अझ पुरुषले भन्दा बढी संघर्ष गर्छु भनेर राजनीतिमा होमिएको मलाई आफ्नै नेताबाट महिला हुनुको बोध गराइँदा र महिला अग्रपंक्तिको नेता हुन सक्दैनन् भन्ने बुझाउने कोशिश गराइँदा म झसङ्ग भएकी थिएँ । यसको अर्थ यही हो, महिलालाई क्षमताको मापदण्डमा तौलनु अगाडि नै पाखा लगाइन्छ ।

हामीलाई थाहा हुँदैन तर, थाहा नपाउने गरी हाम्रो सोचाई र दृष्टिकोणलाई पितृसताले नियन्त्रण गरिराखेको हुन्छ । महिलाहरु नेतृत्वमा भएर पनि निर्णायक भूमिकामा देखिँदैनन् । सबैतिर जस्तै राजनीतिमा पनि पुरुष प्रधान भन्ने मानसिकता हाबी देखिन्छ । जसका कारण महिलाले राजनीतिक लडाइँ जित्न आफ्ना प्रतिस्पर्धीसँग मात्र नभएर पुरुषवादी मानसिकतासँग पनि लडाइँ जित्नुपर्छ ।

मलाई यसो भन्ने उहाँ पहिलो व्यक्ति होइन । हाम्रो देशमा महिलालाई फ्रन्टलाइनमा नेतृत्वकर्ताको रुपमा हेर्ने भन्दा दोस्रो दर्जामा राखेर हेरिन्छ, यसको कारण पनि पितृसत्तात्मक दृष्टिकोण नै हो ।

घर बालकको पहिलो पाठशाला हो र परिवारका सदस्य पहिलो शिक्षक हुन्, जसले बालकको मस्तिष्क बिकास हुने क्रममा, सिकाईको पहिलो चरणमा उसलाई व्यवहारिक ज्ञान दिन्छ । अब आउने पुस्तामा महिला हिंसा कम होस्, महिलाको अस्तित्व पुरुष बराबर होस् भन्नका लागि हामीले हाम्रो छोराछोरीलाई घरदेखि नै शिक्षा दिनुपर्छ । व्यवहारिक र सामाजिक शिक्षा बाल्यवस्थामै दिन सकियो भने पनि आउने दिन महिलाका लागि कम कष्टकर हुनेछन् ।

अन्त्यमा, परिवर्तन हठात् हुने कुरा होइन । यो औषधि जस्तै हो । सेवन गरिरहनु पर्छ, ठिक हुने समय सीमा यसै भन्न सकिन्न । सुगर, प्रेसरका रोगीले झैं हामीले यसको औषधि जीवनभर प्रयोग गर्नुपर्छ । महिला र पुरुषबीचको खाडल पुर्नका निम्ति, महिला हिंसा कम गर्नका निम्ति, समाजमा महिला र पुरुषको समान अधिकार र अस्तित्वका निम्ति महिला लडेर, बोलेर मात्रै पुग्दैन, परनिर्भरता घटाउन आर्थिक रुपमा सबल पनि बन्नुपर्छ ।

महिलामाथि पितृसत्ताले गरेको अन्याय र शोषण अन्त्यको लडाइँलाई निचोडमा पुर्‍याउनका निम्ति महिला र पुरुष दुबैले महिलालाई हेर्ने सामाजिक पितृसत्तात्मक दृष्टिकोण र संरचनाविरुद्ध मिलेर मसाल उठाउनुपर्छ । अनि, मात्र हामिले सोचेजस्तो महिलामैत्री समाज निर्माण हुन सक्छ र छोरीहरु समाजमा निर्धक्क भएर बाँच्न सक्छन् ।

(ढकाल नेपाल विद्यार्थी संघकी निवर्तमान केन्द्रीय सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment