Comments Add Comment

मेरी आमाले चुरोट पिउनुहुन्न

चुल्होमा खाना पकाउन प्लाष्टिक जलाएर दाउरा बाल्नुहुन्छ

म कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको अस्ताम गाउँमा जन्मिएको हुँ ।  हाम्रो घरको मजेरीमा अगेनो थियो । ४ बर्षको उमेरमा त्यहि अगेनामा मेरो घाटीदेखि पुरै दायाँ कुम र छाती पूर्णरुपमा जलेको थियो । भाग्यवस नवजीवन पाएँ । करिब एक बर्षसम्म त्यो घाउ निको हुन समय लागेको थियो । अझै पनि घाउका दागले मेरो वालापनका ति सुनौला दिनका स्मरण ताजा गराईराखेको छ । साँझमा मट्टितेलको मधुरो पानस बत्तिमा परिवारसँग त्यहि अगेना वरिपरि आगो तापेर बसेको त्यो अतित अझै मानसपटलमा घुमिरहन्छ ।

पछिल्लो दुई दशकमा गाउँका धेरै युवा आफ्नो परिवारसहित शहर  पसेका छन् । गाउँमा मेरा आमाबाबु जस्ता देशका लाखौं वृद्ध आमाबुवा अझै मझेरिको अगेनामा बसेर उहि पुराना याद र स्मरण गरिरहेका होलान् । बुढाबुढीका हातखुट्टा कमजोर हुँदै गएका छन् । जमिन बाँझो  छ, गाउँमा उत्पादन  ओरालो लागेको छ । गाउँमा बसे पनि बजारबाट खरिद गरिएका खाद्यान्नको भरमा सास धान्नु परेको छ । उहि दाउराको आगो, धुँवा, मिसावट खाद्यान्न, गुम्सिएको घर । खाना पकाउन दाउराबाट उत्पन्न चुल्होको धुँवाले स्वास्थ्यमा गम्भिर असर परेको छ । सफा स्वच्छ गाउँमा बसेका आमाबुवा दम खोकि, हृदयघात जस्ता दिर्घकालिन रोगको समस्याबाट ग्रसित  छन् ।

एक दशक यता नेपालको सामाजिक र पर्यावरणिय अध्ययन गर्ने क्रममा धेरै गृहणीले प्लाष्टिक जलाएर आगो बालेको दृश्य देख्नु परेको छ । दुखद कुरा, अधिकांस नेपालका ग्रामिण भुभागमा आगो बाल्न प्रयोग गर्ने अहिलेको विधि स्थापित भईसकेको रहेछ । गाइवस्तुलाई खोले वा कुँडो पकाउन र खाना पकाउन आगो सल्काउनको लागि पोलिथिनका झोलाको जोहो गर्ने चलन गाउँघरमा बढ्दो रहेछ । आगो सल्काउन प्रभावकारी र छिटो छरितो हुने हुँदा पोलिथिनबाट आकर्षित भएका रहेछन् ।

नेपालका केहि शहरी भू-भाग र अधिकांस ग्रामिण भेगमा अहिले दाउराबाट खाना पकाउने चलन छ । घर आसपास, खेतबारी तथा नजिकको जंगलबाट इन्धनका लागि काठ दाउरा संकलन गरिन्छ । मट्टितेल र ग्याँस महङ्गो पर्ने हुँदा यसको विकल्पमा निःशुल्क वा कम मुल्यमा सहजै पाइने दाउराबाट खाना पकाउने गरिन्छ ।

निपेश ढाका

त्यस्तै प्लाष्टिक तथा पोलिथिनको अधिक प्रयोग र यसलाई खुलारुपमा घर आसपास फोहरजनन्य पदार्थलाई जलाउने गरिरहेका छौं । भान्छाको चुल्होमा खाना पकाउन प्रयोग हुने दाउरा, यसलाई सल्काउन प्रयोग गरिने पोलिथिनको प्रयोग र घर बाहिर पोलिथिनजन्य पदार्थ जलाउने संस्कृतिको विकास भइरहेकाले यसले मानव स्वास्थ्य र वातावरणमा पार्ने असर बुझ्न जरुरी रहेछ । त्यसैले दाउरा र पोलिथिनजन्य पदार्थ जलाउँदा मानव स्वास्थ्य र वातावरणमा पर्ने असर साथै यसको न्युनिकरणको उपाय सम्बन्धि प्रष्ट्याउन यो आलेख तयारि पारिएको हो ।

दाउरा वा काठ

मानव स्वास्थ्यमा पर्ने असर

खाना पकाउनका लागि दाउराबाट उत्सर्जित धुवाँ मानव स्वास्थ्यको लागि हानिकारक छ । त्यसबाट उत्पन्न कणहरु श्वासप्रश्वासका क्रममा नाक र माथिल्लो श्वसन प्रणालीको सानोे फिल्टरबाट रोक्न सकिदैन र सिधै फोक्सोमा पुग्दछ ।

खासगरी केटाकेटी, गर्भवती र बुढाबुढीलाई गम्भिर समस्या उत्पन्न गराउँछ । एक अध्ययनले दाउराको धुवाँबाट उत्पन्न कणले मानव स्वास्थ्यमा विभिन्न रोगहरुको संक्रमण बढाउने तथ्य बताएको छ । यसको धुँवाबाट दम, एम्फाइसेमा, निमोनिया र ब्रोन्काईटिस, फोक्सोमा समस्या, श्वासप्रश्वास सम्बन्धि रोगहरु, हृदयघात, स्ट्रोक आदि जस्ता घातक रोगहरुले आक्रमण गर्दछ । दाउराबाट उत्पन्न धुँवाले आँखा, फोक्सो, घाँटी र साईनसको उत्तेजित असर गर्दछ । ट्रिगर, टाउको दुखाई र एलर्जी पनि बढाउँछ । लामो अवधिको जोखिमले पुरानो अवरोधक फोक्सोको रोग र जीर्ण हुन सक्छ । दिर्घकालिन रुपमा क्यान्सर तथा म्युटेशन बढाउँदछ ।

दाउराको धुँवाबाट पैदा हुने बिषाक्तहरु जस्तै : कार्वन मोनोअक्साईड, फर्मल्डिहाइड, जैविक ग्याँस एल्डिहाईड ग्याँस र अन्य श्वासप्रश्वास उत्पन्न इरेन्ट्स समेत), बेन्जीन, बेन्जो(ए)पाईरेन र डिबेन्च(ए,एच) एन्थ्रेसीन, नाईट्रोजन अक्साइड, पोलीसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन (पिएएचएस) र डाईक्सीन यी ग्याँसहरु हुन् । यस्ता ग्याँसहरु स्नायुनलिबाट सिधै फोक्सोमा जाने हुँदा प्रत्यक्ष असर घाटी र फोक्सोलाई पार्दछ ।

एक घण्टा समयमा करिब ५ केजि दाउराको धुँवाले उत्पन्न गराउने Carcinogenic Plyaromatic Hydrocarbons बाट हुने हानी र ३० चुरोट खिलिले गराउने भन्दा ४३०० गुणा बढि उत्पन्न गराउँछ । चुरोटबाट उत्पन्न हुने धुँवा र काठ दाउराबाट उत्पन्न हुने धुँवामा पाईने Carcinogenic गुणहरु धेरै समानता पाईन्छ । लामो समयसम्म काठ दाउराको धुँवामा वस्नेहरुलाई हुने क्यान्सर चुरोट पिउने भन्दा १२ गुणा बढि जोखिम हुने पनि अध्ययनले देखाएको छ ।

पर्यावरणमा पार्ने असर

कुनै एक ठाउँमा खाना पकाउन बालिएको दाउराबाट निर्मित धुँवाले ३० देखि ५० ग्राम कण प्रति घण्टा र चुल्होबाट करिब ५० ग्राम कणहरु उत्पादन हुन्छ । यसको तुलनामा एउटा ३ सय  हर्षपावर गतिसिल डिजेल ट्रकले उत्पादन गर्ने कण १८ ग्राम प्रति घण्टा रहेको छ ।

हाम्रो समाजमा मुख्यतय हिउँद याममा घरको अगेना वा घर बाहिर दाउरा जलाएर आगो ताप्ने गरिन्छ । कहिले काहीँ बालबालिकालाई आगोको ताप सेक्न घर भित्र सुत्ने कोठामा नै आगो बाल्ने चलन पनि छ । यसले नवजात शिशुको स्वास्थ्यमा धेरै असर गर्दछ । शहरी क्षेत्रमा पनि जाडो याममा खुला रुपमा घर बाहिर वा बगैंचामा आगो ताप्ने गरिन्छ । शहरमा घना वस्ती भएको हुनाले वरिपरी र आसपास छिमेकमा वातावरण प्रदुषण गराउँदछ । यसको धुँवाले जमिन धरातालको केहि तहमा धुवाँको जाल बनाउँछ ।

दाउरा जलाउँदा वा चुल्हो चलाउँदा छिमेकीहरुलाई पनि यसले प्रभाव पार्छ भन्ने कुरा भुल्नु हुँदैन । हामी आफ्नो घरमा आगो जलाएका छैनौं र यदि छिमेकीले जलाएको छ भने पनि यसको प्रदूषणबाट हामी प्रभावित हुनेछौं । यदि छिमेकीले काठ वा दाउरा जलाउने गर्नु भएको छ भने बुझ्नुहोस् तपाईंले दुषित वायुमा सास फेरिरहनुभएको छ । किनभने ति धुँवाका कणहरु धेरै टाढा छिमेकीको घरभित्र झ्याल र ढोकाको माध्यमबाट कोठामा पुग्दछन् । यदि तपाईं प्रदुषित शहर भन्दा टाढा शान्त ग्रामिण स्थानमा बस्नु भएको छ र हावाको गुणस्तर स्वच्छ सफा भएको अनुभुति गर्नु भएको छ भने ७० प्रतिशत प्रदुषित वातावरणको प्रभाव तँपाईको घरमा खाना पकाउने चुल्हो र दाउरामा निर्भर हुन्छ ।

त्यस्तै काठ वा दाउरा जलाउने कार्य बढ्दै गएमा वनजंगल फडानी हुन्छ । साथै काठ दाउरा संकलन गर्ने निनिहुँमा मान्छेको वनजंगलमा हुने आवतजावतले जंगली जनावरहरुको चोरी र तस्करी पनि बढ्न जान्छ । त्यस्तै दाउरा भण्डार गर्ने ठाउँमा आगलागी भएमा घर, गोठ सहित ठुलो धनजनको क्षति हुने सम्भावना पनि बढ्दछ ।

न्युनिकरणको उपाय

ग्रामिण क्षेत्रमा आफ्नो खेतबारी जंगलमा पाईने दाउरा प्रयोगको विकल्प छैन । सिलिण्डर ग्याँस र विद्युतिय हिटर, ईन्डक्सन चुलो सबैको पहुँचमा नपुग्न सक्दछ । त्यसैले दाउराको प्रयोगलाई ध्यान दिन सके न्युनिकरणमा ठुलो राहत मिल्न सक्छ । यसको लागि आगो ताप्दा वा खाना पकाउँदा चुल्हो वा आगो नजिक नबस्ने । सकभर केटाकेटी, गर्भवती, तथा वृद्ध आमावुवाहरुलाई आगो नजिक नराख्ने । दम खोकी, फोक्सोमा श्वासप्रश्वास समस्या तथा दिर्घ रोग भएको व्यत्ति नजिक आगो नबाल्ने । कतिपय परिवारको अगेनामा दिनरात २४ सै घण्टा आगो राख्ने चलन पनि हुन्छ । कयौं बालबालिका जल्ने जोखिम पनि बढेर जान्छ । त्यसैले आवश्यक अवस्थामा मात्र आगो बाल्ने । सकिन्छ भने चुल्हो अथवा भान्छा कोठा घर भन्दा बाहिर बनाउँदा प्रभावकारी हुन्छ ।

हामीले सुकेको दाउरा मात्र बाल्यौं भने पनि उत्सर्जित धुँवा धेरै न्युनिकरण हुनसक्छ । हामीले अन्य खर्च घटाएर शहरबाट गाउँ जाँदा विज्ञको सुझाबमा दाउरा कम प्रयोग हुने गुणस्तरकोे चुल्हो आमाबुवाको लागि उपहार स्वरुप बनाइदिन सक्छौं । त्यस्तै उभिएर पकाउन मिल्ने उच्च स्थानमा चुल्हो बनाएर खुला हावा खेल्ने खालको अधिकतम झ्याल भएको कोठा बनाउन सक्दछौं । खुला रुपमा धुँवा जाने निरन्तर सफा गरिरहन मिल्ने खालको चिम्नि निर्माण पनि गर्न सक्दछौं । चिम्नि मानव स्वास्थ्यको हितमा धुँवा न्युनिकरण गर्ने प्रभावकारी माध्यम हो । अहिले धेरै ठाउँमा व्रिकेट उत्पादन गर्ने संस्थाहरु पनि सक्रिय भएका छन् । यस्ता कामलाई राज्यस्तर बाट प्रोत्साहन दिनु आवश्यक छ ।

अगेनामा आगो सल्काउँदा पोलिथिनलाई निषेध गर्नुपर्छ । यसको विकल्पमा आगो बाल्न मकैका भुत्लालाई च्यातेर ससाना टुक्रा पारेर मुठा पारेर राख्न सकिन्छ । प्राय घर वरिपरि बाँस तथा छिटो बल्ने खालका वनस्पति छन् भने तिनलाई पुर्णरुपमा सुकाएपछि चिरेर साना सिन्का बनाउन सकिन्छ । यीनको सहयोगले आगो बाल्न सहज र छरितो हुन्छ । लाख बत्ति बाल्न लाखौ धागो कात्ने हाम्रा आमाहरुका हातबाट मकैको डाँठ, भुत्ला र बाँसका सिन्का बनाउन सिकाउन सकिन्छ । विभिन्न भुगोल अनुसार छिटो बल्ने खालका सुकेका वनस्पितिहरुका फुर्सदको समयमा बनाएर भण्डार गर्न सकिन्छ । साथै हामी गाउँ जाँदा मोवाईलमा चलाएर बस्नु भन्दा परिवारसँग कुराकानी गर्दै यस्ता सामाग्री बनाएर बर्षभर पुग्ने जोहो पनि गर्न सकिन्छ ।

पोलिथिनजन्य पदार्थ

पोलिथिनजन्य पदार्थ के हो ?

अहिलेको विश्व जनजीवनलाई असहज र आरामदायी बनाउन मानवले अगाडि बढाईरहेको अति आवश्यक एक वस्तु हो । प्लाष्टिक तथा पोलिथिन अन्य वस्तुको तुलनामा हलुङ्गो, पुन प्रयोग हुने, टिकाउ र कममुल्य पर्ने हुँदा क्षणिक रुपमा आर्कषित गरिरहेको छ । हामिले पोलिथिन र प्लाष्टिकलाई एकै अर्थमा बुझेका छौं तर यसमा केहि भिन्नता छ । प्लाष्टिक ताप र दबाब लागु गरेर सजिलैसँग पुन आकार दिईएको एक वस्तु हो । त्यस्तै पोलिथिन भनेको एक प्लाष्टिक हो तर सबै प्लाष्टिक पोलिथिन हैनन । पोलिथिन एक रासायनिक प्रतिरोध, पारदर्शिता, लचिलोपन र पोलिमराईजिङ्ग ईथिलिन पदार्थले बनेको सिन्थेटिक गुण भएको बस्तु हो । यसलाई मुख्यतया खाद्य वा अखाद्य वस्तुको किनमेलको लागि झोला र प्याकिङ प्रयोजनको लागि प्रयोग गरिन्छ ।

सर्बप्रथम सबै मानिसले बुझ्ने भाषामा खुला रुपमा फालिएका पोलिथिन र प्लाष्टिक सहित खाद्यवाअखाद्य वस्तुका प्लाष्टिकका खोलहरु, तार तथा विद्युतिय सामाग्री, टायर, खेलौना, प्लाष्टिक भाँडाहरु, जुत्ताचप्पल, कपडा, बोरा लगायत सबै काम नलाग्ने चिजलाई पोलिथिनजन्य पदार्थ भनेर बुझौं । हाम्रो नेपाल जस्तो अविकसित मुलुकहरुमा पोलिथिनजन्य पदार्थ जलाउने गर्दछन् । यो पनि अहिले मानव स्वास्थ्य र पर्यावरणसँग जोेडिएको जटिल समस्या हो ।

पोलिथिनजन्य पदार्थलाई घरको छेउमा, खेतबारीको कुनामा, सार्वजनिक ठाउँ, पानीका स्रोतहरुमा जथाभावि फाल्ने र जलाउने गरेका छौं । कयौं बर्ष नकुहिने यी पोलिथिनजन्य पदार्थको मात्रा दिन प्रतिदिन थपिँदै गएको छ । सयौ बर्षसम्म नकुहिने, माटोको गुणस्तरमा ह्रास, ईकोसिस्टममा असन्तुलन गराउने पोलिथिनजन्य पदार्थको धेरै असर भएतापनि मुख्यतय यसलाई जलाउँदा पर्ने असरको बारेमा मात्र चर्चा गरौं ।

मानव स्वास्थ्यमा असर

पोलिथिनजन्य पदार्थलाई जटिल समस्याको रुपमा देखिएको अहिलेको अवस्थामा यी पदार्थको व्यवस्थापनका लागि मुख्यतय जलाउने गरिएको छ । हामि बाटोमा हिड्दा वा यात्रा गर्दा विभिन्न ठाउँमा यी पोलिथिनजन्य पदार्थलाई जलाईराखेको देख्छौं । जर्नल अफ द अमेरिकन क्यान्सर सोसाईटीमा प्रकाशित एउटा अध्ययनले यसरि पोलिथिनजन्य पदार्थ जलाउँदा यसको दुर्गन्धित धुँवाले दिर्घकालिन रुपमा मानिसको माथिल्लो श्वास नलिमा क्यानसरको जोखिम पार्दछ । त्यस्तै धेरै रोगहरुको जोखिम बढादँछ । हृदयघात, दम, फोक्सोमा समस्या जस्ता श्वासप्रश्वास सम्बन्धि रोगहरूको संक्रमण बढाउँदछ । त्यस्तै टाउको दुखाइ र स्नायु प्रणालीलाई पनि क्षति पु¥याउँछ । अझ यसलाई जलाउन संलग्न व्यक्तिलाई मुख्यतय नाईट्रोजन अक्साइड, कार्बनमोनोअक्साईड ग्याँस साँसिएर तत्काल खोकी, सास फेर्न अप्ठ्यारो भई चक्कर समेत आउँछ । यसको धुवाँको सबैभन्दा बढि असर बालवालीका वृद्ध आमावुवा, गर्वभति महिला र दिर्घरोगीलाई पर्दछ ।

पोलिथिनजन्य पदार्थ जलाउँदा न्युरोलोजिकल लक्षणहरु जस्तै टाउको दुख्ने, ध्यान केन्द्रित नहुने, विर्सने तथा मत्तिष्क कोषहरुमा स्नायु सम्बन्धी समस्या पनि बढाउँदछ । पोलिथिन जलाउँदा उत्पन्न हुने धुँवामा सिसा, फलाम र म्याग्नेशियमको मात्रा पाईने हुनाले मानव शरिरमा विषाक्त बोझ बढाउँदछ । जव यी पदार्थ मिसिएको ग्याँस श्वास प्रश्वासबाट लिन्छौं, हाम्रो शरिरलाई यी विषाक्त पदार्थहरु हटाउन मिर्गौलाई भार पर्दछ । यसको असरले मिर्गौलामा विभिन्न समस्या निम्त्याउँछ ।

पोलिथिनजन्य पदार्थ जलाउँदा मानव स्वास्थ्यमा दाउराको धुँवा भन्दा कयौं गुणा असर गर्दछ । यसको धुँवाले टोल छरछिमेक मात्र हैन पुरै गाउँ तथा पेरिफेरिको क्षेत्रलाई नै प्रभावित पार्दछ । पोलिथिनबाट उत्सर्जन ग्याँसको दीर्घकालीन जोखिम भनेको क्यान्सर रोग निम्त्याउनु हो । त्यसैले कुनै एक ठाउँमा जलाईएको पोलिथिनजन्य पदार्थले समग्र मानववस्ती को स्वास्थ्यमा असर गर्दछ । पोलिथिन जलाउँदा उत्पन्न हुने यस्ता घातक तत्वहरूको थोरै परिमाणबाट मानव लगाएत धेरै प्राणीहरुको मृत्यु दिनप्रतिदिन निम्त्याइरहेको छ । पछिल्लो समयमा हाम्रो समाजमा दम र हृदयघातको कारणले मृत्यु हुनेको संख्या बढ्नुको केहि हिस्सा पोलिथिनजन्य पदार्थ जलाउनुको कारण पनि हो ।

पर्यावरणमा पर्ने असर

पोलिथिनजन्य पदार्थ सँगै घरबाट निस्कने फोहोर, रङ्गरोगन जस्ता सामग्रीहरू जलाउनु वातावरणको लागि हानिकारक छ किनभने यी सामग्रीहरूले विषाक्त रसायनहरू सँगै वायुलाई प्रदूषित गर्दछ । यस्तो प्रदूषित वायुलाई मानिस र जनावरले स्वास प्रस्वासको माध्यमबाट प्रत्यक्ष लिन्छन् र माटो र जमिनको सतह प्रदुषित वायु लामो समयसम्म रहन्छ यसले बोटबिरुवा, जमिन र पानीका स्रोतलाई दुषित समेत गराउँछ ।

पोलिथिनजन्य पदार्थ जलाउँदा धुँवा र त्यसमा तरङ्गीत स साना अति हलुुङ्गा कणहरु लामो दूरीको यात्रा गर्दछन् । यी कण र धुँवाको गन्ध मानिसहरूका लागि कष्टकर हुन सक्दछ । यी हाम्रो घरहरू प्रवेश गर्न सक्दछन् वा घरबाहिर केहि पनि असर गर्न सक्दछन् । त्यस्तै बाहिर सुकाईएका खाद्य पदार्थ, कपडा जस्ता बस्तुमा आएर बस्दछन् । खुला रुपमा पोलिथिनजन्य पदार्थ आगो लगाउने बानीले गर्दा घरमा गोठ तथा भवनहरुमा आगोलागिको जोखिम पनि बढ्दछ । जसले गर्दा घर गोठ कारखाना तथा गोदाममा आगोलागी बाट धनजनको क्षति हुन्छ ।

हामि बाटोमा हिड्दा वा यात्रा गर्दा विभिन्न ठाउँमा यी पोलिथिनजन्य पदार्थलाई जलाईराखेको देख्दछौं । सयौ बर्ष नकुहिने, माटोको गुणस्तरमा ह्रास, ईकोसिस्टममा असन्तुलन यी पोलिथिनजन्य पदार्थको प्रयोग सँगै उचित व्यवस्थापन गर्न नसकेर दिन प्रतिदिन जलाईरहेका छौं । यसले वातावरण प्रदुषणमा दिर्घकालिन असर गरेको छ । विभिन्न आन्दोलनमा टायर बाल्ने अमानविय तरिकाले झन् बायु प्रदुषणमा ठुलो मात्रामा हुन्छ ।

त्यस्तै रङ्गरोगन, व्याट्रिको एसिड, फेल्क्सहरु जमिनमा फाल्ने, मेडिकल तथा औषधि पसलबाट निस्किएका फोहर तथा सिरिञ्ज जलाउने तथा जथाभावि फाल्ने, आन्दोलनमा सडकमा टायर बाल्ने, विभिन्न बैज्ञानिक प्रयोगशाला प्रयोग पश्चात रसायनिक वस्तुहरु जलाउने क्रियाकलापहरु पनि बढ्दै गएका छन् ।

पोलिथिनजन्य पदार्थ जलाएपछि बाँकी रहेको अवशेषले माटो र जमिनलाई दूषित बनाउँछ । बाली र पशुपालन मार्फत हामिले मानवलको खाद्य पदार्थसम्म प्रवेश गर्दछ । पोलिथिनजन्य पदार्थ वा जलाईएका अवषेशहरु जनावरले खाएपछि शरिरमा जम्मा भएर मासु र माछा को रुपमा पनि मानिसको शरिर सम्म पुग्दछ ।

यसरी जथाभावि पोलिथिनजन्य पदार्थको प्रयोग र विसर्जनले पछिल्लो दशकमा प्राणदायी माटो, रसमयभुमि र धर्तिको लागि राक्षसी रुपमा देखिरहेकोे छ । कतिपय स्थानमा पोलिथिनजन्य पदार्थ विसर्जन भएको ठाउँ जलाउने गरिन्छ । कयौं हप्तासम्म आगो रहिरहने हुँदा जिवजन्तु, पंक्षी र वनस्पतिलाई असर गर्दछ । त्यस्तै यसबाट डढेलो उत्पन्न भएर वनजंगलमा आगोलागी पनि बढ्दछ । बर्षेनि यसरि लगाईने आगोले लाखौं हेक्टर बन नष्ट भएको छ । यसले हजारौं जिवजन्तु र वनस्पतिको अस्तित्व सखाप पारिरहेको छ ।

त्यतिमात्र हैन विभिन्न जिवजन्तुको वासस्थान नै जलेर लोपन्मुख अवस्थामा पुगिसकेका छन् । यसको असरले वायुमण्डलमा प्रदूषण र जलवायु परिवर्तनमा नकारात्मक प्रभाव पार्दछ । साथै ओजन तहलाई असर गर्दै ग्रीन हाउस ग्याँसमा समेत क्षति पुर्याएको छ । यसरि दैनिक रुपमा आगो जलाउने बानीले मानीसले आगोलाई साधारण रुपमा ठान्दछन् । जताततै आगो लगाउने देखेपछि वालवालीकाले पनि सिको गर्दछन् । कतिपय ग्रामिण ठाउँहरुमा बालबालिकाहरुले सलाई लाईटर लिएर हिडेको देखिन्छ । त्यसैले पोलिथिनजन्य पदार्थ खुला रुपमा जलाउने कार्य भयानक सामाजिक अपराध हो ।

न्युनिकरणको उपाय

वातावरण तथा मानव स्वास्थ्यमा यसले पार्ने दीर्घकालिन असरको बारेमा सरोकारवाला व्यक्तिलाई ज्ञान भएता पनि यसको प्रयोगलाई हामिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रोत्साहन दिईरहेका छौं । यदि पोलिथिनजन्य पदार्थको प्रयोग यहि अनुपातमा वृद्धि भए अबकोे केहि बर्षमा हाम्रा शहरहरु पोलिथिनमय कुरुप हुनेछन् । किनकि यसरि विकराल रुपमा बढ्दै गएको पोलिथिनजन्य पोहरको प्रयोगले ठुलो समस्या उत्पन्न हुने निश्चितता देखिन्छ । त्यो परिणामलाई व्यवस्थित गर्न ठुलो रकम र जनशक्तिको आवश्यकता पर्ने देखिन्छ ।

पोलिथिनजन्य पदार्थ जलाउन न्युनिकरण गर्ने प्रमुख उपाय भनेको जनचेतना नै हो । यदि पोलिथिनजन्य पदार्थको प्रयोग र जलाउँदा उत्पन्न हुने असरको बारेमा आममानिसलाई प्रशिक्षित गर्न सकियो भने यसले दिर्घकालीन व्यवस्थापनमा सहयोग पुर्याउँदछ । विभिन्न स्थानिय निकायहरुले पोलिथिनजन्य पदार्थको उचित व्यवस्थापन र जलाउने कार्य बन्द गर्न जनचेतना मुलक अभियान गर्नुपर्दछ ।

यदि कुनै व्यत्तिले खुला रुपमा पोलिथिन जलाएको छ भने हामि त्यसलाई पानी खन्याएर निभाउन सक्दछौं । चाहे उसको घर भित्रको कम्पाउण्डमा किन नहोस । यदि स्थानिय निकाय वा फोहर व्यवस्थापन सम्बन्धि संघसंस्थाहरुले नियमित संकलन कार्यले पनि पोलिथिनजन्य पदार्थ जलाउने कार्य न्युनिकरण हुन जान्छ । विद्यालयका पाठ्यक्रममा यस्ता खालका व्यवहारिक शिक्षा मुलक विषयहरु समावेश गर्न सकिन्छ । यदि विद्यालयका साना नानीबाबुहरुलाई सचेत गराउन मात्र सकियो भने पनि उनका अविभावकहरुलाई पनि चेतना बढ्न प्रभावकारी हुन सक्दछ ।

पोलिथिनजन्य पदार्थको विकल्पको रुपमा वातावरणमैत्री सामाग्रीको प्रयोगलाई बढावा दिने खालको कार्यक्रमले पनि पोलिथिनका व्यापकता घट्दै जानेछ र जलाउन पनि न्युनिकरण हुनेछ । यसैमध्ये पंक्तीकार अभियन्ताको रुपमा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा शुन्य पोलिथिन अभियान आयोजना गरिएको थियो । पोलिथिनजन्य पदार्थ जलाउन निषेध गरि उचित व्यवस्थापन गर्नु पर्दछ भन्ने उदेश्य अनुरुप नगरका सम्पुर्ण विद्यालयका विद्यार्थी लगाएत एक लाख भन्दा बढि नगरवासीलाई प्रशिक्षित पनि गरिएको थियो । करिब तिन महिनाको समयमा १२६ बर्ग कि. मि. क्षेत्रफलमा करिब ८० हजार बोरा पोलिथिनजन्य पदार्थको संकलन गर्न सफल भएको थियो ।

 धार्मिक सामाजिक पक्ष

ध्यानको समयलाई गणना गर्न र किराहरुबाट जोगिनको लागि प्रचलनमा ल्याईएको अगरबत्ती अर्थात धुप घरमा, मन्दिर, गुम्बा तथा विभिन्न धार्मिक  स्थल तथा पाठ पुजामा अगरबत्ति जलाउने चलन रहँदै आएको छ । सुगन्धित वनस्पति, जस्तै : चिराईतो, दालचिनी, श्रीखण्ड, रक्त्तचन्दन ईत्यादि, त्यस्तै रुखहरुको बोक्राबाट निर्मित पाउडरबाट बनाईएका अगरवत्ति प्रयोग गरिन्छ ।

परापूर्व कालमा धार्मिक आस्थाको रुपमा वनस्पतिबाट बनाईएका अगरबत्ति मात्र जलाउने प्रचलन पछिल्लो समयमा व्यवसायिक रुपमा तयार गरिएका अगरबत्ती बजारमा देखिन्छन् । बिभिन्न मठ मन्दिरमा धेरै अगरबत्ती एकै साथ जलाउने प्रचलन बढ्दै गएको छ । यी धुपहरु बाट पनि कार्बन मोनोऑक्साइड र नाईट्रोजन ऑक्साइडको कारण स्नायु सम्बन्धी समस्याहरु पैदा गर्दछ । प्राय तराई र हिमाली भागमा आगो बाल्नको लागि गोवरका गुईठा पनि जलाउने चलन छ ।

काठ वा दाउरा जलाउँदा त्यसको धुँवाले पार्ने असरको बारेमा केहि कुरा जानकारी गराएता पनि कतिपय अवस्थामा हाम्रो वाध्यात्मक अवस्था पनि हुन्छन् । रुद्रि, सत्यनारायण तथा अन्य पुजा र सराद्धमा दाउराको सिदा बनाएर आगो बाल्ने चलन छ । त्यस्तै ठुलो आगोमा होम गर्ने, लास जलाउन, भर्खरै जन्मिएका बच्चाहरुलाई आगोमा राखेर सेक्ने जस्ता सामाजिक, धार्मिक र सांस्कृतिक पक्षले हामि बाँधिएका छौं ।

हाम्रो जस्तो ४२ प्रतिशत वनजंगलले ढाकिएको देशमा भान्छामा वन पैदावार अर्थात काठ दाउराको प्रयोग जायज छ । तथापी दाउरा वाल्ने पद्धतिलाई वैज्ञानिक हिसावले व्यवस्थापन गर्नु पर्दछ । त्यस्तै पोलिथिनजन्य पदार्थ जलाउने कार्यलाई तुरुन्त रोक्नु पर्दछ । यो मानव   र पर्यावरण क्षेत्रमा ठुलो सामाजिक अपराध हो । खेतबारीमा खेती गर्नु पहिले संकलित घाँस तथा वुट्यानमा आगो लगाउने रुढिवादि प्रचलन अहिले पनि यथावत छ । यसले लाखौ जीवजन्तुको वासस्थान र अस्तित्व सखाप पार्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment