Comments Add Comment

वीरगञ्जमा कोरोना संक्रमित सुरक्षाकर्मी राख्न ४० बेडको आइसोलेसन

२० साउन, वीरगञ्ज । सानो पाइलाले वीरगञ्जमा ४० बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । फ्रन्ट लाईनमा खटिएका सुरक्षाकर्मीलाई राख्ने उद्देश्यले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।

नारायणी अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा रहनेगरि आइसोलेसन केन्द्रमा अग्रपंक्तिमा रहेर काम गर्दै गर्दा संक्रमित भएका प्रहरी र सेनाका जवानहरुलाई राखिने छ ।

पर्सामा चण्डीप्रसाद गणमा कार्यरत ११ जना नेपाली सेना र वीरगञ्ज कारागारमा खटिएका ३ र जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका युनिटका ५ जना गरी ८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले फ्रन्टलाइनमा खटिएको सुरक्षाकर्मीका लागि छुट्टै आइसोलेसन सेन्टर बनाइएको र सानो पाइलाले त्यसको सञ्चालनको जिम्मा लिएको जानकारी दिए ।

स्थानीय प्रशासन, नारायणी अस्पतालसँगको समान्वय र सहकार्यमा वीरगञ्जस्थित कलवार धर्मशालामा ४० बेड क्षमताको आइसोलेसन केन्द्रको स्थापना गरिएको सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कञ्चन झाले जानकारी दिए ।

नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार आइसोलेसन केन्द्र स्थापना गरिएको झाको दाबी छ । मंगलबारदेखि तीन जना सुरक्षाकर्मीलाई आइसोलेसनमा राखी सकिएको सानो पाइलाका जय साहले जानकारी दिए ।

सानो पाइलाले डब्ल्यूएचओको मान्यता र मापदण्ड अनुसार नै खाद्यवस्तुको प्रयोग गरी खानेकुरा उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएको छ ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ सय ७ पुगेको छ । कोरोना विशेष अस्पतालहरुमा संक्रमित राख्ने ठाउँको अभाव छ ।

नारायणी कोभिड विशेष अस्थायी अस्पताल गण्डकमा १४ जना महिला सहित ५६ जना, वीरगञ्ज हेल्थ केयरमा २ जना महिलासहित २६ जनालाई राखिएको छ ।

त्रिजुद्ध स्कुलमा १५ जना, वीरगञ्ज कारागारमा १२ जना, सिदार्थ स्कुलमा २४ जना, वगही प्राथमिक स्वास्थ्य केन्द्रमा ४ जना, होटल विजय ज्योतीमा ३ जना, सखुवाप्रसौनीमा ६ जना र पटेर्वासुगौलीमा ४ जनालाई राखिएको छ । भने १ सय ४४ जना अझै बाहिर छन् । उनीहरुलाई होम आइसोलेसनमै बस्न भनिएको छ । तर होम आइसोलेसनको मापदण्ड पुगे नपुगेको हेर्नका लागि संयन्त्र बनाएर परिचालन गरिएको छैन ।

यसअघि सानो पाइलाले नारायणी अस्पताल र जनकपुरमा कोभिड–१९ का संक्रमितहरुलाई पौष्टिक भोजनको व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment