+
+
Shares

गाईजात्रामा मुकुण्डो होइन, मास्क र फेससिल्ड

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ साउन २० गते १३:५०

२० साउन, काठमाडौं । मल्लकालदेखि चल्दै आएको परम्परागत गाईजात्रा पर्वमा यस वर्ष फरक दृष्य देखियो । गाईजात्राको दिन मुकुण्डो होइन मास्क र फेस सिल्ड लगाएकाहरु देखिए । कतिपयले त पन्जा पनि लगाएका थिए ।

काठमाडौंको बसन्तपुरमा मंगलबार जात्रामा सहभागी धेरैले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका उपाय अपनाएको देखियो । तर कतिपयले मास्क सही तरिकाले नलगाएको पनि पाइयो । केहीले मास्कले नाक छोपेका थिएनन् भने केहीले कुहिनामा मास्क झुण्ड्याएर हिँडेको पनि देखियो ।

भनिन्छ कोरोना संक्रमणबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । तर बसन्तपुरको गाईजात्रामा केही बालबालिकाहरु मास्क र पन्जाविनै सहभागी भएका थिए ।

कोरोना संक्रमणको जोखिम भएकाले सरकारले भिडभाड नगरी जात्रा मनाउन आह्वान गरेको थियो । तर यो आह्वान बसन्तपुरमा पालना भएको देखिएन । सुरक्षाको अर्को पाटो भौतिक दुरीको पालना गरेको पनि पाइएन ।

गाईजात्राका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजाप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’मा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?