Comments Add Comment

आँबुखैरेनीका संक्रमित कर्मचारीको कन्ट्याक ट्रेसिङ गर्दा ४ जनामा कोरोना

२२ साउन, पोखरा । काठमाडौंबाट तनहुँ फर्किएका आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा साउन १८ गते कोरोना पुष्टि भएको थियो । गाउँपालिकाको उच्च जिम्मेवारीमा रहेका ती कर्मचारीमा कोरोना पुष्टि भएपछि तीन दिन कार्यालय नै बन्द गरिएको थियो ।

संक्रमति कर्मचारीको कन्ट्याक ट्रेसिङको आधारमा २६ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी २१ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार ती कर्मचारीको सम्पर्कमा आएका ७, १४ र ८२ वर्षका पुरुष र एकजना ७२ वर्षीय महिला छन् । उनीहरु सबै संक्रमित कर्मचारीका परिवारका सदस्यहरु हुन् । उनीहरुमा कोरोना पुष्टि भएपछि आइसोलेसनमा लैजाने तयारी भइरहेको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए ।

पोखरा-८ मा बस्दै आएका ती कर्मचारीको ५ जना आफन्तको स्वाब परीक्षणका लागि दिइएकोमा  एकजनाको रिपोर्ट भने नेगेटिभ आएको आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।

तनहुँबाट कर्मचारी र जनप्रतिनिधि गरी २१ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको उपाध्यायले बताए ।

योसहित गण्डकीमा बिहीबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ब्यास नगरपालिका ४ बस्ने २७ वर्षीय एक महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै, पर्वतमा मशाशिला गाउँपालिका ४ का ४० वर्षीय एक पुरुष, गोरखामा पालुङटार ८ का ३९ वर्षीय एक महिला र स्याङजा फेदीखोलाका २ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।

योसँगै प्रदेशमा हालसम्म १ हजार ५७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ३५४ जना निको भई घर फर्किसकेका छन् । गण्डकीमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment