Comments Add Comment

जब कोरोना हाम्रो घरभित्र प्रवेश गर्नेछ

कोरोना भाइरस अनियन्त्रित रुपमा फैलिएमा कहाँ उपचार गर्ने ? अस्पतालको क्षमताले भ्याउने छैन । के औषधि खाने ? अहिलेसम्म औषधि बनेको छैन । खोप एवं उपचार विधी पहिल्याइएको छैन । यस्तो अवस्थामा कोरोना भइरसको संभावित जोखिमबाट कसरी बच्ने ? यो एक चुनौतीपूर्ण प्रश्न हो ।

कोरोना भाइरस तीब्र गतिमा फैलिदैछ । हरेक दिन सैयौंको संख्यामा संक्रमित बढ्दैछन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलने भएकाले संक्रमण दर गुणात्मक रुपमा बृद्धि भइरहेको छ । अर्कोतिर भाइरसको भयले घरभित्रै बसिरहने अवस्था पनि छैन । धेरैको कामधन्दा लथालिंग भएको छ । कतिको रोजगारी गुमेको छ । कतिको उद्योग–व्यवसाय ठप्प छ ।

कोरोना नियन्त्रण गर्न लकडाउन गर्दा स्थिति अरु भयावह हुने देखिन्छ । त्यसो त लकडाउन मात्र आफैमा समाधान पनि होइन । यसले भिडभाड वा मान्छेहरुको चहलपहल घटाउने मात्र हो ।

दैनिक गुजाराका लागि पनि अहिले घरबाहिर निस्कनुपर्ने बाध्यता छ । आफ्नो कामधन्दाको मेलोमेसो मिलाउनुपर्नेछ । काम–व्यवहारका लागि एकअर्कासँग भेट्नैपर्ने छ । यस क्रममा कोरोना भाइरसको संक्रमण भएमा के गर्ने ?

कोरोना भाइरस आफैमा एक जटिल बन्दैछ । तुरुन्त यसको लक्षण देखिदैन । कतिपयमा लक्षण नदेखिएपनि भाइरसको संक्रमण हुनसक्छ । अर्थात यसले हामीलाई झुक्याउन सक्छ । कोरोना संक्रमित पहिचान गर्न सकिदैन ।  किराना पसलका व्यक्ति, बाटोमा भेटिएका साथी, आफ्नै कार्यथलोको सहकर्मी, गाडीमा यात्रा गरेका सहयात्री जो कोहीको माध्यामबाट आफुमा संक्रमण सर्न सक्छ । र, यो स्थिति त्यसबेला अरु खराब हुनसक्छ जतिबेला हाम्रो माध्यामबाट भाइरस हाम्रो घरभित्र प्रवेश गर्नेछ । श्रीमान्–श्रीमती, बालबच्चा, आमाबुवा, आफन्त नै कोरोनाको चपेटामा आउनेछ ।

यस्तो अवस्थामा कोरोना परीक्षण गर्र्नैप¥यो । सुरक्षात्मक विधी अपनाएर एकान्तवास बस्नैप¥यो । आर्थिक मन्दीको यो घडीमा नसोचेको व्यायभार त बढ्ने छ नै, मानसिक तनाव र  भयले पनि पारिवारिक महौल विथोल्नेछ । हाम्रो हालत अरु नाजुक हुनेछ ।

यस्तो अवस्थामा सरकार गुहारेर केही हुनेवाला छैन । औषधि–उपचारमा भर पर्ने ठाउँ छैन । मन्त्री÷नेताहरु स्वयम् सर्तक एवं सावधान देखिदैन । न उपयुक्त ढंगले मास्क लगाइरहेका छन्, न शारीरिक दूरी कायम गरिरहेका छन् । उनीहरु अविवेकी हुन् वा लापरवाही गरिरहेका छन् ?

अर्कोतिर हाम्रो स्वास्थ्य क्षेत्र आफैमा रोगी छ । न पर्याप्त जनशक्ति छन्, न पुग्दो उपकरण छन्, न भरपर्दो उपचार–विधी । त्यसैले संक्रमण भएमा अस्पताल गएर, उपचार गराएर ठीक होला भनी ढुक्क हुने स्थिति छैन । मूख्य कुरा त कोरोना भाइरसको ठोस उपचार विधी नै पहिल्याइएको छैन । अब के गर्ने त ?

सबैभन्दा राम्रो उपाय हो, आत्मअनुशासन । आफुले आफैलाई नियन्त्रण एवं अनुशासनमा राख्ने ।

विज्ञहरु भनिरहेका छन्, कोरोना भाइरस पूर्ण रुपमा निर्मूल हुन अझै लामो समय लाग्न सक्छ । त्यसैले अबको केही बर्षसम्म नै कोरोनासँगै हामी बाँच्नुपर्ने हुनसक्छ । यस्तो स्थितिमा हामीले कोरोनाको जोखिमबाट बच्ने एउटै उपाय हो, सुरक्षात्मक विधी अपनाउने । जस्तो स्तरिय मास्क सही ढंगले प्रयोग गर्ने, भिडभाड नगर्ने, शारीरिक दूरी कायम गर्ने, शारीरिक सरसफाईमा ध्यान दिने ।

यसका साथै स्वस्थ्य दिनचर्या पालना गर्ने । पोषिलो, ताजा खानेकृुरा खाने । योग, व्यायामलाई आफ्नो दैनिकीको हिस्सा बनाउने । सकारात्मक चिन्तन गर्ने ।

सार्वजनिक स्थानमा बस्दा, यात्रा गर्दा, किनमेल गर्दा, अस्पताल जस्ता स्थानहरुमा जाँदा एकदमै सर्तक रहौं । आवश्यक काम नहुँदा भिड गर्ने, जथाभावी यात्रा गर्ने, जमघट गर्ने गल्ती नगरौं । आफ्नो विवेकको प्रयोग गरौं, अरुको निर्देशन पर्खेर नबसौं । आत्मअनुशासन पालना गर्नु भन्दा सर्वोत्तम उपाय अरु हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment