+
+
Shares

चिकित्सक र प्राविधिकले पाएनन्, महानगरका कर्मचारीले लिए जोखिम भत्ता

सुवास पण्डित सुवास पण्डित
२०७७ साउन २२ गते १७:५४

२२ साउन, चितवन । चितवनको भरतपुर अस्पताल मातहत सञ्चालनमा रहेको भरतपुर कोभिड १९ ल्याबका प्राविधिकले दिनरात नभनी काम गर्न थालेको चार महिना बित्यो । तर, उनीहरूले सरकारले दिने भनेको कोरोना जोखिम भत्ता अझैसम्म पाउन सकेका छैनन् ।

भरतपुर अस्पतालमै कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स तथा अन्य प्राविधिक कर्मचारीहरू पनि अहिलेसम्म जोखिम भत्ता नपाएको गुनासो गरिरहेका छन् । उनीहरुले सरकारले दिन्छु भनेको रकमसमेत नदिएको भन्दै काम गर्ने जाँगर र उत्साह पनि हराउँदै गएको बताएका छन् ।

तर, यता भरतपुर महानगरपालिकामा काम गर्ने प्रशासनिक कर्मचारीदेखि पियनसम्मले असार महिनामा नै कोरोना जोखिम भत्ता लिएको खुलेको छ । अझै गज्जबको कुरा के छ भने, महानगरपालिका इन्जिनियर, सुपरभाइजर, वनपालेसम्मले कोरोना जोखिम भत्ता लिएका छन् ।

महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम वापतको जोखिम भत्ता भन्दै १०२ जना कर्मचारीलाई २१ लाख ९३ हजार ७ सय ९४ रुपैयाँ भत्ता बाँडेको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जोखिममा काम गरेका कर्मचारीलाई सरकारको निर्णय अनुसार जोखिम भत्ता दिइएको दावी गरे ।

सरकारले चिकित्सक तथा ल्याबमा काम गर्ने प्राविधिकहरुलाई दिन्छु भनेको भत्ता नदिएको अवस्थामा महानगरपालिकाले कसरी बाँड्यो भन्ने प्रश्नमा जोशीले महानगरको आन्तरिक स्रोतबाट बाँडिएको बताए ।

प्रशासन, लेखा, तथा अन्य क्षेत्रमा जोखिम मोलेर काम गर्ने कर्मचारीहरुलाई मात्रै भत्ता दिइएको बताए । ‘कसैले १० दिनको पाउनुभा’छ कसैले डेढ महिनाको पाउनुभा’छ हिसाब गरेर दिएका छौं’ प्रमुख प्रशासकीय अधिकृत जोशीले भने, ‘जोखिम नभएकालाई दिएका छैनौं ।’

जनप्रतिनिधिले पनि जोखिम भत्ता पाएका छन् त भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत जोशीले जनप्रतिनिधिको काम सेवामूलक भएको बताए ।

मकै खाने भालु !

भरतपुर कोभिड ल्याबमा काम गर्ने चिकित्सक तथा प्राविधिक कर्मचारीले विगत चार महिनादेखिको जोखिम भत्ता नपाएको गुनासो गर्दै आएका छन् । अस्पताल प्रशासनले जोखिम भत्ता दिने आश्वासन दिए पनि हालसम्म नदिएपछि उनीहरुले साधारण तोकिएको डिउटी मात्रै गरेका छन् ।

भरतपुर कोभिड–१९ ल्याव प्रमुख डा. नितु अधिकारीले सरकारले जोखिम भत्ता दिने भनेर पनि नदिएको गुनासो गरिन् । ‘हामीले विगत चार महिनादेखि दिनरात नभनी काम गर्‍यौं, तर अहिलेसम्म जोखिम भत्ता पाएनौं’ डा. अधिकारीले भनिन् ‘प्रोत्साहन नै नभएपछि कसरी काम गर्ने जाँगर आउँछ ?’

उनले आफूहरुको माग अस्पताल प्रशासनसँग राखेको बताइन् । जोखिम भत्ता नपाएपछि ल्याबका प्राविधिकले अतिरिक्त काम गर्न छाडेको निकै लामो समय भइसकेको छ ।

जोखिम भत्ता नपाउने हो भने काम पनि नगर्ने भन्दै आएका प्राविधिकलाई अस्पताल प्रशासनले थुम्थुमाएर काममा लगाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जोखिम भत्ता कर्मचारीहरूलाई उपलब्ध गराउन मन्त्रालयसँग माग गरिएको बताए । उनले अहिलेसम्म कसैलाई पनि जोखिम भत्ता नदिइएको बताए ।

अस्पतालले चैतदेखि असारसम्मको साढे चार करोड रकम जोखिम भत्ता माग गरेको मेसु डा. तिवारीले बताए । अस्पतालमा कोरोना संक्रमण जोखिमसँग फ्रन्टलाइनमा बसेर काम गरेका कर्मचारीलाई भत्ता नदिँदा काममा समस्या आउन थालेको मेसु डा. तिवारीले बताए ।

भरतपुर महानगरपालिकाका कर्मचारीले जोखिम भत्ता पाए तपाईहरूले कहिले पाउनुहुन्छ भनेर अनलाइनखबरले राखेको जिज्ञासामा कोभिड ल्यावका एक प्राविधिकले भने, ‘काम गर्ने कालु मकैं खाने भालु’ भनेको यही हो ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?