Comments Add Comment

बद्री पंगेनीसँग बसिबियालो : प्रेमिकाको पत्र बाबुका हातमा !

‘ससुरालीमा पनि आफूले खाएको भाँडा आफैं माझ्छु’

२३ साउन, काठमाडौं । ३० को दशकमा पाल्पाको रामपुरमा जन्मेका बद्री पंगेनी ७० को दशकको एक साँझ काठमाडौंको अनामनगरमा भेटिए । लोकसंगीत र उनकै व्यक्तिगत जीवनबारे गफिनका लागि हाम्रो बसिबियालो तय भएको थियो ।

‘मिडियामा नआएको वा नगण्यरुपमा आएको तपाईंको जीवनको फरक पाटो केही छ ? अन्तरवार्ताअघि पंक्तिकारले उनैलाई सोध्यो ।

उनी केहीबेर घोत्लिए ।

‘अँ छ,’ चेहरा उज्यालो बनाउँदै भने, ‘मेरो खेलकुद मोहका विषयमा धेरै मानिसहरुलाई थाहा छैन ।’

बद्रीको खेलमोहमा अन्तरवार्ता ‘फोकस’ गर्ने द्वीपक्षीय समझदारी भयो । तर, उनको निजी जीवनमा पसेर कुरा गर्दै जाँदा अनेक प्रसंग निस्के ।

प्रेमिकाले पठाएको पत्र बाबुको हातमा परेकोदेखि स्टेज शोमा गीत गाउँदा उल्टै पैसा मागिएकोसम्म, सुहागरातमा साथीको डेरामा सुतेकोदेखि ससुरालीमा भाँडा माझेसम्म थुप्रै रमाइला प्रसंग उनले सुनाए ।

उनको ‘खेलमोह’ कता छुट्यो, छुट्यो ।

****

रामपुरमा संगीतको निकै राम्रो माहोल थियो । त्यही माहोलमा रंगिदै हुर्किए बद्री । साँझ घाम डुब्न लागेपछि उनी एउटा गाग्रो बोकेर पँधेरा जान भनेर घरबाट निस्कन्थे । सिधै जान्थे गैटार भन्ने ठाउँमा रहेको एक मुस्लिम परिवारको घरमा ।

त्यो परिवारसँग मादल थियो ।

बद्री र उनका साथीहरु मादल घन्काउँदै झाम्रे (राति अबेरसम्म मादल बजाउँदै गीत गाउनुलाई झाम्रे भनिन्थ्यो)  गाउँथे । मायाप्रीतिदेखि बिरहका अनेक भाका हालिसकेपछि करिब ८ बजेतिर गाग्रो बोकेर बद्री पँधेरोतिर लाग्थे । अनि, पानी बोकेर घर फर्किन्थे ।

संगीतमा अभिरुची बढ्दै जाँदा बद्रीले स्थानीयस्तरमा आयोजना  हुने विवाह, व्रतबन्ध, भजन–किर्तनदेखि रत्यौलीसम्ममा पनि गाउन छुटाएनन् ।

त्यसबेला भगवान भण्डारी, खेम रानालगायत साथी थिए उनका । उनीहरुलाई पढाइ–लेखाइको खासै वास्ता थिएन । गाउनका लागि जहाँ पनि पुग्थे । भोको पेट घन्टौं हिँड्थे ।

बद्री परीक्षामा मरेर पास हुन्थे । गणित, अंग्रेजी र अर्थशास्त्र भनेपछि उनलाई ज्वरो आउँथ्यो । पहिलोपटक एसएलसी दिँदा उनी फेल भएका थिए । गणितमा ब्याक लागेको थियो । फेल भएकोमा उनलाई न आश्चर्य थियो न ग्लानी । उनलाई पढेर ‘ठूलो मान्छे’ बन्नु नै थिएन । उनलाई संगीतमा केही गर्नु थियो । तैपनि दोस्रो प्रयासमा ठ्याक्कै ३२ नम्बर ल्याएर एसएलसी पास भए ।

एसएलसी दिनासाथ काठमाडौं आए । गीत गाउने अवसरको खोजी गर्दै पुकार दोहारी साँझमा पुगे । पुकारका मालिकलाई आफ्नो गायन कला देखाए । एउटा गीत गाउनासाथ मालिकले उनलाई जागिर दिन तयार भए । तलव १२ सय रुपैयाँ । कोठाको भाडा दोहोरी साँझले तिरिदिने । बद्रीलाई के चाहियो ?

दोहोरी साँझले भोटेबहालमा उनलाई बस्ने कोठा व्यवस्था गरिदियो । त्यहाँ बद्रीसँगै अर्का लोकगायक राजु परिवार तथा गायिकाहरु लक्ष्मी पुन र शर्मिला गुरुङ बस्थे । एउटा कोठामा बद्री र राजु सुत्ने गर्थे भने अर्कोमा लक्ष्मी र शर्मिला ।

कोठामा खाट नभएकाले उनीहरु भुईँमै मोटो डस्ना ओछ्याएर सुत्थे । दुई/तीन महिनापछि बद्रीले एउटा खाट किने । तर, एकजना मात्रै अटाउने । उनी शानसँग खाटमा सुत्न थाले । राजु भुईंमै । केही समयपछि राजुले पनि खाट किने र बद्रीकै ‘हैसियत’ मा उक्लिए ।

गायनसँगै बद्रीको अर्को सोख थियो अभिनय । फिल्म खेल्ने धोको थियो ।

जागिर पाएसँगै उनी यो रहर पनि पूरा गर्ने चक्करमा लागे । पुतलीसडकको एउटा इन्स्टिच्यूटमा अभिनय सिक्न थाले । बिहानै उठेर इन्स्टिच्युट आउँथे । अभिनय र उद्घोषण तालिम लिन्थे । १० बजेतिर निस्किन्थे । पुतलीसडकबाट हिँड्दै सुन्धारा पुग्थे । त्यहाँको एउटा होटलमा १५ रुपैयाँको मासुभात बजाउँथे ।

खाना खाएपछि झुपुक्कै निद्रा लाग्थ्यो उनलाई । सुन्धाराबाट चप्पल पड्काउँदै उनी रत्नपार्क आउँथे । पार्कभित्र पस्थे । अनि, चप्पललाई सिरानी हालेर उत्तानो पर्थेँ । दुई घन्टाजति घुर्दै निदाउँथे । यो सिलसिला केही महिना चलेको उनी बताउँछन् ।

तालिम सकिएपछि उनी कोठामा नै खाना खान थाले । सबैजनाको भान्सा एउटै थियो । शर्मिलाले पकाउन जाँगर गर्थिन् । बद्री भाँडा माझ्न जाँगरिला थिए । विबाह नहुँदासम्म उनी साथीहरुसँग त्यही कोठामा बसे ।

****

‘तपाईंको विवाहको प्रसंग सुनाइदिनुस न,’ अन्तरवार्तालाई अलिकति रोमान्टिक मोड दिने प्रयास ।

‘अहो, यसको त रोचक कहानी छ,’ बद्री आफ्नो प्रेम र विवाहको कथा सुनाउन उत्साहित देखिए ।

उनको प्रेमकथा एउटा ट्याक्टरबाट सुरु हुन्छ । ठ्याक्कै कति सालमा हो उनले बिर्सिए । त्यो बेला भर्खर–भर्खर उनको गाउँमा ट्याक्टर आएको थियो । ट्याक्टरका ड्राइभर थिए– ‘लाको माया उही’ ।

(ड्राइभरको नाम कसरी ‘लाको माया उही’ रहन गयो भन्ने सानो उपकथा छ र यो पनि प्रेमसँगै सम्वन्धित छ । उनी तराईका थारु थिए । उनको आफ्नै गाउँकी एक स्थानीय युवतीसँग प्रेम बसेछ । दशैंमा घर जाँदा ती प्रेमिका भेट्न उनको घरमै  पुगेछन् । बिचरा युवकको अत्यधिक बिर्सिने बानी रहेछ । उनले आफ्नै प्रेमिकाको नाम बिर्सेछन् । घर अगाडि पुगे, तर के भनेर बोलाउने ? कसै गर्दा पनि नाम सम्झिन नसकेपछि ‘लाको माया उही’ भन्दै चिच्याउन थालेछन् । उनी यसरी कराएको वरिपरिकाले सुने । अनि त के थियो, सबैले उनलाई भेट्यो कि ‘लाको माया उही’ भन्दै जिस्क्याउन थाले । अन्ततः उनको बोलाउने नामै यही भयो)

एक दिनको कुरा हो, त्यो ट्याक्टर बद्रीकै घरअगाडि हिलोमा गाडियो । आफ्नै घरअगाडि ट्याक्टर दबिएपछि बद्री रमिता हेर्न निस्किए । गाउँका अरु केटाकेटी पनि जम्मा भएका थिए । त्यो भिडमा बद्रीले देखे, एक अपरिचित नानी (बद्रीकै शब्दमा) ।सँग अनायाश उनको आँखा जुध्न गयो ।

अरु सबै ट्याक्टर हेरिरहेका थिए । तर, बद्री र नानी एक–अर्कालाई हेरिरहेका थिए । नानी लाजले राती भइरहेकी थिइन् । बद्रीलाई पनि अन्तरहृदयदेखि काउकुती लागिरहेको थियो ।

‘जीवनमै पहिलोपटक मैले यसरी कुनै केटीसँग रोमाञ्चित भएर आँखा जुधाएको थिएँ,’ त्यो घटना सम्झिँदा बद्री अहिले पनि रोमाञ्चित बनिरहेका छन् ।

केहीबेरपछि ‘लाको माया उही’ले ट्याक्टर निकाले । अनि सबै लाखापाखा भए । नानी पनि त्यहाँबाट अलप भइन् । बद्री घरभित्र छिरे । उनलाई ‘डिप लभ’ मा परेको जस्तो फिलिङ्स आइरहेको थियो । तर, ती नानी को हुन्, कहाँ बस्छिन् भन्ने केही मेसो थिएन । बद्री त्यो दिन खेलो हराएको बाहुन जस्तो भएर व्यग्र बनिरहे ।

भोलिपल्ट सधैँ जस्तो स्कुल गए । मनमस्तिष्कमा तिनै किशोरी थिइन् । कक्षा सुरु हुनुपूर्व लाइनमा बस्दा पनि उनको ध्यान हिजोकै आँखा जुधाइमा थियो । पिटी खेल्ने क्रममा एकपटक हात तनक्क पारेर मुन्टो बायाँ फर्काउँदा उनले देखे, तिनै किशोरी । एकछिन त भ्रम हो कि भन्ने लाग्यो । तर, कहाँबाट हुनु । ती किशोरी उनकै स्कुलमा पढ्दिरहिछन्, कक्षा ६ मा । बद्री ९ मा पढ्थे । आफ्नै स्कुलमा पढ्ने केटीलाई अहिलेसम्म देखेको रहेनछु भनेर बद्री आफैंसँग लज्जित बने । सँगसँगै अभूतपूर्व खुशी पनि ।

त्यही दिन बद्रीले पत्ता लगाए, किशोरीको नाम कल्पना रहेछ । साथीहरुले ‘कल्पे’ भन्थे । उनले अब कल्पेलाई कसरी लभ पार्ने भन्ने योजना बुन्न थाले । तर, कल्पे उनीभन्दा फरवार्ड निस्किइन् ।

पिटीमा आँखा जुधेको भोलिपल्ट बद्रीलाई आफ्नै गाउँकी राधा भन्ने साथीले एकान्तमा डाकिन् ।

‘तँलाई कल्पेले लभ लेटर पठाकी छे’ भन्दै राधाले उनलाई एउटा चिर्कटो थमाइन् ।

बद्रीले चिठी खल्तीमा हाले । दौडिँदै घर आए । कोठामा बसेर चिठी पढ्न थाले ।

चिठीका केही शब्दहरु उनी अहिले पनि सम्झिन्छन् ।

‘मेरो प्राणभन्दा प्यारो साथी बद्री.. । तिमीलाई नदीभन्दा लामो, आकाशभन्दा फराकिलो, चिनीभन्दा गुलियो सम्झना र प्यार । मैले आफ्नो मुटुको धड्कन तिमीलाई सुम्पिसकेँ । तिमीबिना बाँच्ने कल्पना पनि गर्न सक्दिनँ…’

अन्तिममा लेखिएको थियो– उही तिम्री प्राणप्यारी कल्पना ।

हैट ! पहिलो चिठीमै यस्तो सम्वोधन र मार्मिक शब्दहरुले बद्री हुरुक्क भई गए । उनलाई नाचुँ–नाचुँ भयो । तर, नाच्नेभन्दा पनि जवाफको तयारीमा जुट्नु थियो । केटीभन्दा कम त हुनु भएन । उनको नेपाली साहित्य राम्रो पनि थियो ।

उनले बडो मिहिनेत गरेर जवाफी पत्र लेखे ।

‘प्रिय कल्पु । असीम प्यार ।

तिम्रो पत्ररुपी तोप मेरो मुटुमै पड्किएको छ । म खुशीले बहुलाउन मात्र सकेको छैन … आदि इत्यादी ।

त्यसपछि सुरु भयो दैनिक लभलेटर आदानप्रदानको सिलसिला । उनीहरु आफैं भेटेर पत्र लेनदेन गर्न थाले । एक दिन पत्र पाएनन् भने बद्रीलाई भात पनि राम्ररी रुच्दैनथ्यो ।

बद्री र कल्पनाको गाउँ र वडा फरक थियो । तर, स्कुलमा दैनिक भेट हुन्थ्यो । स्कुल छुटेपछि बजार जाने बहानामा कल्पनाको पछिपछि हिँड्थे बद्री । कल्पना आफ्ना साथीहरुसँग हुन्थिन् । कल्पनाको पछिपछि हिँड्दा पनि बद्रीलाई एकप्रकारको मनोरञ्जन मिल्थ्यो । मौका मिले उनीहरु बाटोमा उभिएरै डेटिङ गर्थे ।

एवं रितले कल्पनासँग प्रेमको समुद्रमा गहिरो डुबुल्की मार्दै गए बद्री ।

यसपछिको कथा तीनवटा थोप्लोपछि…

****‌‌‌‌‌

बद्री काठमाडौं आएपछि पनि पत्र पठाउने सिलसिला जारी रह्यो । हप्तैपिच्छे कल्पनाको एउटा पत्र उनी पाइरहन्थे । तर, त्यतिञ्जेल दुबैतर्फ परिवारमा भने थाहा थिएन ।

सबै ठीकठाक चल्दै थियो । अचानक बद्रीलाई कल्पनाको पत्र आउन बन्द भयो । उनले दुई–तीनवटा पत्र पठाउँदा पनि कुनै रिप्लाई आएन । बद्री रन्थनिन थाले । उताबाट नआएपछि उनले पनि पत्र पठाउन छोडे ।

त्यहीबेला रामपुरमा एउटा महोत्सव आयोजना हुने भयो । त्यसमा गाउनका लागि बद्री पनि रामपुर पुगे । महोत्सवमा कल्पना पनि आउँछिन् भन्ने उनलाई पक्का थियो । कल्पनालाई नै लक्षित गरेर उनले एउटा गीत पनि बनाइसकेका थिए ।

नभन्दै स्टेजमा गीत गाउने बेला उनले कल्पनालाई दर्शकदीर्घामा देखे । अनि उनले प्रेमिकालाई नै हेर्दै गाए–

राम्चे वनको न्याउली चरी बादलपारि गयो हजुर

बाल्यकालमै लाको माया अलपत्रै भयो हजुर

यो गीतले ब्रह्मास्त्रको काम गर्यो । गीतका शब्दहरु कल्पनाका चित्तमै गढेछन् । गीत सकिनासाथ उनी घर गएर खुब रोइछन् । आमालाई भनिछन्, म त बद्रीसँगै बिहे गर्ने हो ।

त्यही दिन कल्पनाकी आमाले बद्रीलाई खबर पठाइन्– भोलि बिहान आठ बजे बहखोलाको ढिकमा भेट्न आउनू ।

भोलिपल्ट यथासमयमै बद्री बहखोलाको ढिकमा पुगे । कल्पनाका आमाछोरी पनि आए । अख्तियारले बयान लिएजसरी आमाले बद्रीलाई सोधपुछ गरिन् ।

‘के तिमीहरु साँच्चै एक–अर्कालाई माया गर्छौ ?’

मनमनै दुबैले भने, ‘उधुमै गर्छु नि ।’

मुखले चाहिँ ‘अँ’ मात्र भने । सबै वयान सकिएपछि आमाले निर्णय सुनाइन् ।

बद्री र दाइ खाटमा सुते । नवदुलही भुइँमा । बुद्धि नपुग्दा सुहागरातमा उनीहरु सँगै सुत्न पाएनन्

‘ठीक छ, म तिमीहरुको बिहे गराइदिन्छु,’ उनले भनिन्, ‘तर, अहिले होइन, कल्पेले एसएलसी पास गरोस् । तिमी पनि अलि प्रगति गर । त्यसपछि बल्ल बिहे । यसको साक्षी म भएँ ।’

बद्री मञ्जुर भए । उनीहरु छुट्टिए । बद्री काठमाडौं फर्किए ।

तर, काठमाडौं फर्किएको केही दिनपछि उनले विभिन्न स्रोतबाट गाईंगुईं सुन्न थाले कि कल्पनालाई बुवाआमाले अन्तै बिहे गरिदिन आँटेका छन् । नभन्दै एक दिन कल्पनाकी आमाको फोन आयो बद्रीलाई ।

‘तिमीहरुको तुरुन्तै बिहे गर्नुपर्ने भयो । तिमी आइहाल,’ आमाले भनिन्, ‘नत्र बुवाले अर्कैतिर कुरा चलाइसके ।’

भएछ के भने कल्पनाकी आमा तयार भए पनि बद्रीलाई छोरी दिन बुवा तयार भएनछन् । यही विषयले घरमा ठूलै रडाको मच्चिएछ । यतिसम्म कि आमासित रिसाएर बुवाले छुट्टै भातभान्सा गर्न थालेछन् । तर, स्कुलकी शिक्षिकासमेत रहेकी आमा बिमला आफ्नो वचनबाट पछि हटिनन् ।

सल्लाह बमोजिम बद्री आफ्नो साथी भगवान भण्डारीलाई लिएर बुटबलको सिद्धबाबा मन्दिरमा पुगे । बिमलाले छोरी लिएर आइन् । एकदमै सर्टकट विधिमा २०५८ साल असार १६ गते विवाह सम्पन्न भयो ।

विवाहपछि आमा बिमला घर फर्किइन् । बद्रीचाहिँ कल्पनालाई लिएर ‘हनिमुन मनाउने’ भन्दै पोखरा आए । त्यसबेला पोखरा आउँदाको सन्दर्भ सम्झेर अहिले पनि बद्री आफैंसँग लज्जित बन्छन् ।

पोखरामा उनको गाउँका एकजना दाइ कोठा भाडा लिएर बस्थे । बद्रीले दायाँवायाँ केही नसोची नवदुलहीलाई लिएर दाइकहाँ पाहुना लाग्न पुगे । जम्मा एउटा कोठा थियो । पकाउने पनि त्यसैमा, सुत्ने पनि त्यसैमा । दाइले उनीहरुलाई राम्रै खानपिन गराए । तर, सुत्नलाई सकस भयो ।

बद्री र दाइ खाटमा सुते । नवदुलही भुइँमा । बुद्धि नपुग्दा सुहागरातमा उनीहरु सँगै सुत्न पाएनन् । बद्रीलाई निद्रै परेन । कल्पना पनि राति अबेरसम्म मडारिइरहिन् ।

‘भर्खर बिहे गरेको श्रीमतीलाई लिएर अरुको कोठामा पाहुना लाग्न जाने म कत्ति केटाकेटी ?’ उनी थकथकी मान्दै भन्छन्, ‘एउटा होटलमा कोठा लिएर बस्ने बुद्धिसम्म आएन । पैसा नभएको पनि होइन, थियो ।’

हुन पनि बद्री टीन एजर नै थिए बिहे गर्दा ।

विवाहपछि उनले श्रीमतीलाई काठमाडौं ल्याए । छुट्टै कोठा भाडामा लिएर श्रीमतीलाई राखे । घर व्यवहार कल्पनाले सम्हालिन् । बद्री आफ्नो संगीतको रथ धकेल्नमा केन्द्रित भए ।

उनको सांगीतिक करिअरको छोटो चर्चा फेरि तीन थोप्लोपछि–

****

बद्रीले विवाहअघि नै २०५५ सालमा गीति एल्बम निकालिसकेका थिए । उनको पहिलो लोकदोहोरी एल्बम थियो– तानसेन खस्यौली । त्यसपछि उनले लगातार एल्बमहरु ल्याइरहे ।

बद्रीलाई सुरुमा ‘पीएन क्याम्पस’ बोलको गीतले अलिकति चिनायो । त्यसपछि ‘फोटो फिर्ता लेउ’ बोलेको गीत हिट भयो ।  बद्रीको सांगीतिक करिअरले रफ्तार समातेको चाहिँ चौंथो एल्बम ‘ससुरालीमा… ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा’ बोलको गीतले हो । सिन्धु मल्लसित मिलेर उनले गाएको यो गीतले त्योबेला लोकप्रियतासँगै आर्थिकरुपमा पनि बद्रीलाई जुरुक्कै उठायो ।

त्यसबेला मानिसहरुले क्यासेटमा गीत सुन्ने चलन थियो । कलकारहरुले क्यासेट बेचेरै पैसा कमाउँथे । बद्रीको ससुरालीमा एल्बम दुई लाख ७५ हजार वटा विकेको थियो । यो गीतबाट त्यस समयमा आफूलाई १९–२० लाख कमाई भएको उनले सुनाए । त्यसपछि उनले पछाडि फर्किनु परेन ।

अहिलेसम्म बद्रीले सात–आठ दर्जन गीत गाइसकेका छन् । पछिल्लोपटक उनले गाएको तीजगीत ‘स्यानिटाइजर घसेर…’ केही दिन अगाडि यूट्युवमा आएको छ ।

अहिलेसम्म गाएकामध्ये बद्री आफैंलाई सबैभन्दा आत्मसन्तुष्टि मिलेको गीत चाहिँ ‘लाउ चेली सिन्दुर लाउ…’ हो ।

यो गीत श्रीमान गुमाएका एकल महिलाहरुलाई सामान्य जीवन बाँच्न उत्प्रेरित गर्नेखालको थियो ।

गीतका शब्दहरु यस्ता थिए :

लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ

महिला मर्दा पुरुषले अर्को बिहे गर्ने अरे

पुरुष मर्दा महिलाले चैं सेतै लाउनु पर्ने अरे ।

आउ दिदी बहिनी अब यस्तो गीत गाउनै पर्छ

आमाको नामबाट नागरिकता पाउनैपर्छ

लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ

यो गीत बजारमा आएपछि बद्रीलाई धेरै महिलाहरुले स्यावासी दिए । कतिपय एकल महिलाहरुले उनकै गीतको प्रेरणाले रातो सारी लगाउन थालेको बताए । एउटा संस्थाले उनलाई सम्मान पनि गर्यो । एक हिसाबले आफ्नो गीतले सामाजिक चेतनाको दियो जलाएको भनेर उनी सन्तोष मान्छन् ।

तीन वर्षअघि एउटा सेटब्याक भयो उनलाई । सेटब्याकको कारक थियो, एउटा चुनावी गीत ।

‘मै पनि एमाले, सै पनि एमाले…’

२०७४ सालको संसदीय चुनावलाई लक्षित गरी तत्कालीन एमाले पार्टीका लागि यो चुनावी गीत उनले गाएका थिए । यो गीतले बद्रीको करिअरमा ठूलै चोट पुर्यायो । उनी सामाजिक सञ्जालमा अत्यधिक ट्रोल मात्रै भएनन् ‘आफ्नै ठानेकाहरु’ समेत उनीसँग बिच्किए ।

कलाकारहरु सबैका साझा मानिन्छन् । उनीहरुले एउटा पार्टीलाई खुलेर समर्थन गर्दा अरु पार्टीका समर्थकहरुलाई बिझ्नु अस्वाभाविक होइन । गीत गाउँदा यो कुरा बद्रीले किन ख्याल गरेनन् ?

‘वास्तवमा भन्नुपर्दा,’ बद्री प्रष्टीकरण दिँदै भन्छन्, ‘मैले अनुमानै गरेको थिइनँ यति ठूलो कन्ट्रोभर्सी होला भन्ने । मैले यसअघि अन्य राजनीतिक पार्टी र नेताको समर्थनमा पनि गाएको थिएँ । माओवादी र कांग्रेसको पक्षमा गाउँदा कुनै विवाद भएन । एमालेको पक्षमा गाउँदाचाहिँ मलाई भयंकर आक्रमण भयो ।’

उनी थप्छन्, ‘मैले पाउनुपर्ने गाली पनि पाएँ, नपाउनुपर्ने पनि पाएँ । त्यसबेला त सामाजिक सञ्जाल हेर्नसमेत डर लाग्ने अवस्था थियो । देशद्रोह गरेको वा मान्छे मारेको जघन्य अपराधीजस्तो बनाइयो मलाई ।’

उनको थप स्पष्टीकरण छ, ‘मैले यसलाई आफ्नो व्यवसायिकताकै हिस्साका रुपमा लिएर गाएको थिएँ । नेपालमा मात्र होइन, अन्य देशमा पनि चलेका कलाकारहरुले अमूक पार्टी र नेताको समर्थनमा गीत गाउने गर्छन् । आफ्नो पारिश्रमिक लिएर गाउने कुरालाई ती देशमा अन्यथा लिइँदैन । तर, नेपालमा चाहिँ अनावश्यक उछाल्ने काम भयो ।’

भनेपछि उनलाई त्यो गीत गाएकोमा थोरै पनि आत्मालोचना छैन ?

बद्री भन्छन्,  ‘त्यो गीतले वास्तवमा समृद्धि, विकास र सुशासनको वकालत गरेको थियो । तर, मानिसहरु ‘मै पनि एमाले सै पनि एमाले’ मा मात्रै केन्द्रित भए । अर्को कुरा के पनि हो भने, मैले गीत गाउँदा जे सोचेको थिएँ, त्यो आज भइरहेको छैन । मैले सोचेको थिएँ कि भोलि नेपालमा स्थिर र बलियो सरकार आयो भने देश र जनताको समृद्धि सपना पूरा हुनेछ । तत्कालीन समयमा अरु पार्टीभन्दा जनतामा एमालेको छाप राम्रो पनि थियो । मलाई पनि एमालेले बलियो सरकार चलाउन पायो भने केही गर्छ भन्ने भित्री मनमा लागेकै हो । तर, अहिले मैले सोचेजस्तो भइरहेको छैन । कुर्सीकै हानाथापमा छन् नेताहरु । यो दृश्य देख्दा मैले त्यो गीत गाएर गलत नै गरेंछु भन्ने पनि एक मनमा लाग्छ । तर, निस्कर्षमा पुग्नुअगाडि म अझै दुई वर्ष सरकारको काम हेर्न चाहन्छु ।’

उनमा अझै झिनो आशा बाँकी रहेको देखियो ।

‘हामीले आशा त राख्नैपर्छ । यो देश बनाउने भनेको देशभित्रकै पार्टीले हो, यहीँका नेताले हो । हामी चाइना वा अमेरिकाबाट नेता आयात गरेर देश विकास गर्न सक्दैनौं । त्यसैले यहीँका नेताहरुलाई सच्चिएर अघि बढ्न प्रेरणा र दवाव दिनुको विकल्प हामीसँग छैन ।’

केही दिनअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गरेका थिए । संगीत दिवसका अवसरमा प्रधानमन्त्रीले केही संगीतकर्मीलाई निम्त्याउँदा पंगेनीले पनि निम्तो पाएर पुगेका थिए ।

‘मैले त्यसबेला प्रधानमन्त्रीसँग गुनासो गरेँ, ‘सरकारले जति नराम्रो काम गर्छ, त्यति मलाई गाली आउँछ । कृपया मैले गाएको गीतको इज्जतका लागि भए पनि तपाईंले केही गरेर देखाउनुपर्यो ।’

‘प्रधानमन्त्रीले के जवाफ दिनुभयो त ?’

‘उहाँ सुरुमा हाँस्नुभयो । त्यसपछि गम्भीर भएर सरकारले राम्रा काम पनि गरिरहेको तर प्रचारमा नआएको गुनासो गर्नुभयो । अबको बाँकी अवधिमा जनतालाई सन्तुष्ट पार्ने गरी काम गरेर देखाउने वचनबद्धता पनि सुनाउनुभयो ।’

तत्कालीन एमालेप्रति आफ्नो केही झुकाव रहेको भए पनि पार्टीमा भने कहिल्यै आवद्ध नभएको बद्रीको भनाइ छ । अन्य पार्टीका नेताहरुसँग पनि आफ्नो उत्तिकै राम्रो सम्वन्ध रहेको उनले बताए ।

‘कांग्रेसका धेरै नेताहरुसँग मेरो सम्वन्ध छ । स्वर्गीय सुशील कोइरालासँग राम्रो चिनजान थियो । अहिले चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा लगायत नेताहरुसँग नजिक छु ।’

‘मै पनि एमाले गीत’ गाएपछि अन्य पार्टीका नेता–कार्यकर्ता र शुभेच्छुकले आफूलाई हेर्ने नजर बदलिएको उनको अनुभूति छ ।

‘एउटा गीत छ नि– एउटा कुलो काट्दाखेरि उताको खेत सुक्यो अरे… यताको मन राख्दाखेरि उताको मन दुख्यो अरे… मलाई ठीक यस्तै भयो,’ उनले दुखेसो सुनाए ।

****

बद्रीका बुवाले दुई बिहे गरेका थिए । जेठी श्रीमतीबाट एक छोरी र कान्छीबाट बद्रीसहित तीन छोराछोरी । बद्रीचाहिँ सानैदेखि ठूलीआमासँग बसे ।

‘मलाई ठूलीआमाले पनि आफ्नी आमालेजस्तै माया गर्नुहुन्थ्यो, कहिल्यै भेदभाव गर्नुभएन,’ उनी भन्छन् ।

बद्रीको परिवारसँग जग्गाजमिन प्रशस्त थियो । रामपुरमा त्यसबेला सयौं रोपनी जग्गा भएको बद्री बताउँछन् । खानलाई दु:ख थिएन ।

तर, बुवा रक्सीको कुलतमा लागेपछि परिवारमा विग्रह र आर्थिक विचलन आउन थाल्यो । आम्दानीको अरु स्रोत नभएकाले जे परी आए पनि पैसाका लागि जग्गा बेच्नुभन्दा अर्को विकल्प थिएन । छोराछोरीको बिहेबारी गर्नुपर्दा जग्गा बेच्यो, चुनाव लड्दा जग्गा बेच्यो । (बुवाले राजनीति पनि गर्थे) बुवाले यसरी धेरै जग्गा सिध्याए ।

‘मैले थाहा पाएरै बुवाले सय रोपनीजति जग्गा बेचेर सिध्याउनुभएको छ,’ बद्रीले सुनाए ।

बुवाको रक्सीको कुलतले परिवारमा पनि कलह हुन्थ्यो । बुवाले रक्सीले मातेर आमाहरुसँग दिनदिनै झगडा गरेको देखेर दिक्दार बन्थे बद्री । यसले गर्दा उनलाई सानैदेखि रक्सीसँग घृणा उत्पन्न भयो । उनले जिन्दगीमा रक्सी भन्ने चिज चाख्दा पनि चाख्दिनँ भन्ने प्रण नै गरे । त्यही प्रणमा अहिले पनि कायम छन् ।

‘हो, अहिलेसम्म पनि मेरो मुखमा रक्सीको एक थोपा परेको छैन,’ उनले सगर्व सुनाए, ‘रक्सीको स्वाद कस्तो हुन्छ, मलाई थाहा छैन ।’

रक्सी मात्र होइन, चुरोट, खैनी लगायत कुनै पनि चिजको अम्मलमा परेनन् बद्री । उनका धेरै साथीभाइहरु रक्सी खान्छन् । रक्सी खाने साथीहरुसँग बस्दा रमाइलो लाग्छ रे उनलाई ।

‘अरुले रक्सी खाएको हेर्दा रमाइलो लाग्छ, कहिले म आफ्नै पैसाले पनि साथीहरुलाई रक्सी खुवाउँछु,’ उनले भने, ‘तर, आफू चैं अहँ.. ।’

बद्रीले गत माघमा आफ्ना पितालाई गुमाए । छोराछोरीले लगातार आग्रह गरेपछि करिब चार वर्षपछि उनका पिताले रक्सी खान छाडेका थिए । रक्सीले आफ्ना पिताको आयु छोट्याएको उनलाई लाग्छ ।

****

बद्री पंगेनीसँग बसिबियाँलो गरिसकेपछि लोकदोहोरीबारे बहस र गन्थन नगर्दा अपूरो हुन जान्छ ।

नेपालमा लोकदोहोरीको लोकप्रियता पछिल्ला दिनहरुमा निकै बढिरहेको छ । तर, विकृतिहरु पनि बढिरहेका छन् ।

लोकदोहोरी प्रतिष्ठानका निवर्तमान अध्यक्ष हुन् बद्री । लोकसंगीतमा भित्रिएको अश्लीलता र उछृंखलतालाई लिएर उनी चिन्तित छन् ।

‘हो विकृतिहरु छन्,’ उनी भन्छन्, ‘यस्ता विकृतिहरुलाई हटाएर लोकसंगीतलाई स्वच्छ बनाउनका लागि हामी प्रयासरत पनि छौं । मेरो व्यक्तिगत अनुरोधमा केही गायक–गायिकाले आफ्ना गीतहरु सच्याउनुभएको वा युट्युवबाट हटाउनुभएको पनि छ । तर, यो समस्यालाई समग्रतामा समाधान गर्न मैले ला लोकदोहारी प्रतिष्ठानले मात्रै सम्भव छैन । सरकारले नै कडा नियम–कानून ल्याएर कार्यान्वयन गर्नुपर्ने मैले देखेको छु ।’

दुई कलाकारको समूह आमने–सामने भएर गीति भिडन्त गरिने विधा हो, लोक दोहोरी । यो हेर्न र सुन्न निकै रोचक लाग्छ । तर, गाउनेलाई कति कठीन हुन्छ ?

बद्री भन्छन्, ‘तत्काल शब्द सिर्जना गरेर त्यसलाई भाकामा ढालेर सवाल–जवाफ गर्ने काम सजिलो त किन हुन्थ्यो ?’

उनको भनाइमा लोकदोहोरी गाउन अभ्यासले मात्रै पुग्दैन, कला नै चाहिन्छ ।

‘अभ्यासले तपाईंको कलालाई निखार्ने हो । तर, तपाईंसँग कला छैन भने जति अभ्यास गरे पनि लोकदोहोरी गाउन सक्नुहुन्न,’ उनले भने ।

बद्रीले नेपालका धेरै गायिकाहरुसँग दोहोरी भिडेका छन् । उनलाई कोसित सबैभन्दा रमाइलो लाग्छ ? बद्रीले प्रीती आले र शिला आलेको नाम लिए ।

‘उहाँहरु दोहोरी गाउँदा आफ्नो प्रतिस्पर्धीलाई पेल्ने मात्रै ध्याउन्न राख्नुहुन्न, प्रतिस्पर्धीका लागि स्पेस छाडेर दर्शकलाई मनोरञ्जन दिने हिसाबले गाउनुहुन्छ । त्यसैले यी दुई चेलीहरुसँग मलाई सहज लाग्छ,’ उनले ।

अर्की एक चेलीसँग गाउँदा भने बद्री अलि अप्ठेरो मान्छन् । उनी हुन् ज्योती मगर ।

‘उहाँ पनि एकदमै राम्रो दोहोरी गायिका हो । स्वर पनि राम्रो छ । तर, गाउँदा–गाउँदै फ्याट्ट अश्लीलता घुसाइदिनुहुन्छ, अनि आपत पर्छ,’ हाँस्दै बद्रीले भने ।

बद्रीलाई दोहोरी भिड्न सबैभन्दा कठिन लाग्नेचाहिँ निशा सुनार र सकुन्तला थापासँग हो । ‘निशाले पहिले–पहिले ठाडो गाउनुहुन्थ्यो । प्याच्च–प्याच्च भन्दा कहाँनेर बिताइदिनुहुन्छ कि जस्तो लाग्ने । सकुन्तला थापा र शिला आलेले पनि आच्छुआच्छु पार्नुहुन्थ्यो,’ उनले भने ।

ठेगाना गलत भएपछि त्यो  चिठी उनकै घरमा फर्किएर गयो । फर्किएको चिठी हुलाकीले कल्पनालाई होइन, उनका बुवाको हातमा थमाइदिए

पछिल्ला दिनमा दुई लोक दोहोरीमा दुई बालिका कमला घिमिरे र आयुषा गौतमको खुबै चर्चा छ । सानो उमेरमै उनीहरु दोहोरी गाउन पोख्त छन् । प्रख्यात दोहोरी गायकहरुसँग भिडेर उनीहरुले आफ्नो क्षमता देखाइसकेका छन् । उनीहरुको क्षमतालाई कसरी लिन्छन् बद्री ?

‘यो उमेरमा त्यसरी दोहोरी गाउन सक्नु विलक्षण हो । गड गिफ्टेड हुन् उनीहरु दुवै । यस्ता विलक्षण बच्चाहरु दुर्लभ हुन्छन्,’ उनले भने ।

बद्रीलाई अर्को रमाइलो प्रश्न गरियो ।

‘दोहोरी गाउँदा छिनको छिनमै शब्द फुर्छचाहिँ कसरी ? मानौं, अहिले मसितै दोहोरी खेल्नुपरो भने कसरी सुरु गर्नुहुन्छ ?’

बद्रीलाई सोच्न १० सेकेन्ड पनि लागेन । फुराइहाले ।

आयौ आयौ होला बुढीलाई ढाँटेर

कता हिँड्यौ फ्रेन्च कट काटेर ?

ससुरालीमा… ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा

‘मेरो नाकलाई लिएर घोचपेच गर्नुपर्यो भने ?’

मान्छे हेर्दा ठिकठीकै रैछ नि

नाक चैं अलि ठूलो नै रैछ नि

ससुरालीमा…

अर्को पनि थपिदिए

छोटो कपाल चिटिक्क कोरेको

हातको घडी माग्या कि चोरेको ?

ससुरालीमा…

आजको अन्तरवार्ता राम्ररी मिलाएर हाल्दिनु नै भनेर दोहोरीमा नै भन्नु त ?

अहिलेचाहिँ सोच्न अलिबेर लगाए ।

जे भन्या छ त्यै लेखिदिनुस् कुरा

हावा टाइटल नराख्नुस् हजुर

ससुरालीमा… ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा

****

अन्त्यमा,

बद्रीको कथा उतार्ने क्रममा छुटेका दुई रोचक प्रसंग :

प्रसंग १

काठमाडौंमा एकपटक लामो समय कल्पनाको चिठी बद्रीले नपाएको सन्दर्भ माथि आयो । त्यसको कारण के थियो भन्ने बद्रीले पछि मात्र थाहा पाए ।

खासमा कल्पनाले नियमित चिठी पठाउँथिन् । तर, उनले पोष्ट बक्स नम्बर लेख्दा लगातार गल्ती गरिन् । ठेगाना गलत भएपछि त्यो  चिठी उनकै घरमा फर्किएर गयो । फर्किएको चिठी हुलाकीले कल्पनालाई होइन, उनका बुवाको हातमा थमाइदिए । प्रेमीलाई पठाएको चिठी बुवाको हातमा परेपछि अवस्था के भयो होला ? आफैं कल्पना गर्न सक्नुहुन्छ ।

कल्पनाका बुवालाई बद्रीको जातसँग समस्या रहेछ । उनीहरु बाहुन, बद्री क्षेत्री । त्यतिबेलाको समयमा बाहुन–क्षेत्रीबीच पनि बिहेबारी हम्मेसी चल्दैनथ्यो । यही पीडालाई लिएर पछि बद्रीले एउटा गीत पनि गाएका थिए ।

गीतको बोल थियोः

‘उनी रैछ ठूलो जातको म त सानो जातको,

फुलको रसमा रमाउनेलाई केको माया पातको…’

प्रसंग २

नेपालमा मेला–महोत्सवको प्रचलन सुरु भएको थिएन । स्टेज शोहरु नगण्य हुन्थे । एकपटक बद्री र भगवान भण्डारीलाई काठमाडौं बाहिर एउटा कार्यक्रमका लागि बोलावट आयो ।

एउटा क्लवले आयोजना गरेको दोहोरी कार्यक्रममा उनीहरुलाई गीत गाउन भनिएको थियो । पारिश्रमिकको विषयमा सोध्दै नसोधी दुवै गीत गाउन तयार भए ।

बद्री र भगवान आफ्नै खर्चमा त्यहाँ गए । एउटा होटलमा बसे । कार्यक्रममा प्रस्तुति दिए । भोलिपल्ट होटलबाट निस्किने बेलामा आयोजकको अत्तोपत्तो छैन । होटलवालाले आएर बिल तेर्स्याए । उनीहरुले आयोजकको नाम लिए । तर, होटलवालाले मानेनन् ।

‘हामी कुनै क्लब चिन्दैनौं । तपाईंहरु बस्नुभएको छ, अब पैसा तिर्नुस र जानुस,’ होटलवालाले कडा चेतावनी दिए ।

धेरै गलफत्ती के गर्ने भनेर उनीहरुले मिलाएर पैसा तिरे । होटलबाट निस्कनै लाग्दा आयोजक क्लवका मान्छेहरु आए । बल्ल उनीहरुलाई ढुक्क भयो । क्लवका मुख्य व्यक्तिले पैसाको कुरा निकाले ।

‘सरहरुलाई थाहा नै छ, हाम्रो क्लबको आर्थिक अवस्था त्यति बलियो छैन । त्यसैले हाम्रो क्लबलाई आफूले सकेको सहयोग गर्नुभयो भने हामीले भविष्यमा पनि यस्तो कार्यक्रम गर्न सक्थ्यौं,’ उनले एउटा रसिद तेस्र्याँउदै भने ।

बद्री र भगवान जिल्ल भए ।

बद्रीले आफूहरुसँग पैसा नभएको बताउँदा ‘जति छ त्यति सहयोग गर्नुस’ भनेर कर पो गर्न थाले । उपाय नभएपछि भगवानले ५ सय रुपैयाँ दिए र उनीहरु बिदा भए ।

अचेल बद्रीलाई सामाजिक सञ्जालमा खुब डर लाग्छ ।

केही लेख्नुअगाडि हजार पटक सोच्छन् । अन्तरवार्ता दिँदा पनि अत्यधिक सचेतता अपनाउँछन् । तैपनि कहिलेकाहीँ केही त्रुटी भइदिन्छ । र, त्यही भाइरल बन्छ ।

‘जस्तो कि भर्खरै एउटा अन्तरवार्ताका क्रममा मैले एकपटक हातले नाकको मेकअप पुछेको रहेछु । त्यसलाई काटेर अन्तरवार्तामै सिँगान पुछेको भन्दै टिकटकमा हाल्न भ्याइसकेछन् ।’

कलाकारको सामान्य कमजोरीमा दर्शकले क्षमा दिनुपर्ने उनको भनाइ छ ।

बद्रीले भने, ‘अनलाइनखबरमार्फत भन्न चाहन्छु कि म र मजस्ता कलाकारबाट अञ्जानमा भएका कमजोरीलाई क्षमा दिनुहोला । स्वस्थ आलोचनालाई त स्वीकार्ने नै छौं ।’

र, यो पनि

बद्रीको पहिल्यैदेखि एउटा स्वभाव छ, आफूले खाएको भाँडा आफैं माझ्ने । बिहेपछि पनि उनी घरमा खाना खाइसकेपछि थाल, कचौरा नमाझी उठ्दैनन् । यतिमात्र कहाँ हो र, ससुराली जाँदा पनि आफूले खाएको भाँडा आफैंले माझ्छन् रे ।

सासूले तपाईंलाई भाँडा माझ्न दिनुहुन्छ त ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कहाँबाट नदिनु ! सुरु–सुरुमा अलि अप्ठेरो मान्नुहुन्थ्यो । आजकाल त कहिलेकाहीँ हतारमा नमाझी उठेँ भने पनि सासूआमाले नै ‘ज्वाईंसा’ब भाँडा माझ्न बिर्सिनुभयो’ भनेर सम्झाइदिनुहुन्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment