Comments Add Comment
अन्तर्वार्ता :

केन्द्रले नाका बन्द गरोस्, भित्रको व्यवस्थापन हामी गर्छौं

‘स्थानीयले काम नगरेको भए केन्द्रीय सरकार फ्लप खाइसक्थ्यो’

२३ साउन, काठमाडौं । ललितपुर महानगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ भने बिहीबारसम्म ६६ जना संक्रमित छन् । काठमाडौं र तराईका जिल्लालाई हेर्ने हो भने उपत्यकामा संक्रमितको संख्या न्यून हो ।

परीक्षण नभएर वा व्यवस्थापन राम्रो भएर, संक्रमितको संख्या कम भएको हो कि ? यो प्रश्न अहिलेसम्म निरुत्तरित नै छ । कारण जे भए पनि संक्रमतिको संख्या उपत्यकामा दिनानुदिन बढिरहेको छ ।

उपत्यकाभित्र स्थानीय तहका प्रतिनिधिहरुले चाहिँ बाहिरी जिल्लाबाट उपत्यका छिर्ने नाकाहरुमा कडाइ गरिनुपर्नेमा जोड दिएका छन् । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले अनलाइनखबरसँगको अन्तर्वार्तामा त्यही भने । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको निश्कर्ष पनि लगभग त्यस्तै छ ।

आफूहरु कोरोना रोकथामको सन्दर्भमा अति सम्वेदनशील भएर लागिपरेको ललितपुरका मेयर महर्जन बताउँछन् ।

७९ हजार घरपरिवार रहेको ललितपुर महानगरले कोरोनाको जोखिम नियन्त्रणमा कस्ता–कस्ता प्रयास र तयारीहरु गरिरहेको छ त ? पढौं, महर्जनसँग अनलाइनखबरकर्मी विश्वास खड्काथोकीले गरेको कुराकानी :

अघिल्लो लकडाउनका बेला ललितपुर महानगरपालिकाले कस्तो अनुभव संगाल्यो ? त्यसबेलाको अनुभूति सुनौं न….

त्यो सन्दर्भमा हामी सफलता हात पार्‍यौँ जस्तो लाग्छ । हामीले सेनिटाइजर, मास्क बनाउनेदेखि लिएर यसका लागि उप्रेरणा दिनेसम्मको काम गर्‍यौँ ।

हाम्रो नगरपालिकामा करिब ७९ हजार घर परिवार छन् । त्यसमध्येमा डाटा संकलन गरी करिब २५ हजार घरपरिवारलाई एकै लटमा राहत वितरण गर्‍यौँ । कतै पनि गुनासो नआउने गरी जिटुजी (गभरमेन्ट टू गभरमेन्ट) माध्ययमबाट राहतको काम गर्‍यौं । राहत सामाग्री साल्ट ट्रेडिङबाट खरिद गरेका थियौँ । जसले गर्दा गुणस्तर र किफायती मूल्यमा ती सामाग्रीहरु खरिद गर्दा कसैले औँला उठाउन सकेन ।

दोस्रो चरणमा अप्ठ्यारोमा परेका मानिसहरुलाई बिहान–बेलुकी एक छाक खाना पनि खुयायौँ । तर, पछि सरकारबाट रोकावट भएपछि २९ सै वडाका वडाअध्यक्षहरुको तजबीजमा खर्च गर्ने गरी १५/१५ बोरा चामल/दाल वितरण गर्‍यौँ । त्यति मात्र नभएर हामीले नियमितरुपमा चराचुरुङ्गीदेखि कुकुर, बाँदरहरुलाई पनि खानाको व्यवस्था गरेका थियौँ ।

लकडाउन खुलेपछि अर्थतन्त्र चलायमान भयो । सहरमा मानिसको चाप अत्याधीक छ । तर, तपाईको महानगरमा भने कोरोना संक्रमितको संख्या अहिलेसम्म न्यून छ । यसमा तपाईंहरुको पूर्वतयारीले काम गर्‍यो कि जनस्तरमा राम्रोसँग कोरोना परीक्षण भएन ?

हो, ललितपुर महानगरमा संक्रमितको संख्या नै ७० कटेको छैन । एकजनाको संक्रमितको मृत्यु भयो । त्यो कोरोनाभन्दा पनि अन्य रोगको कारण मृत्यु भयो कि भन्ने हाम्रा ठम्याइ हो । अन्य रोगको कारण अस्पतालमा उपचारत उनको पीसीआर टेस्टका क्रममा पोजेटिभ देखियो । तर, उहाँको परिवार र सम्पर्कमा आएमा ३० जनामा भने कोरोनाको रिपोर्ट नेगेटिभ नै देखापर्‍यो ।

यस सन्दर्भमा काठमाडौं उपत्यकासँग जोडिएर कुरा गर्न चाहान्छु । उपत्यका नगरपालिका फोरममा काठमाडौं उपत्यकाको मान्छेलाई वाहिर नपठाऔँ र बाहिरको मान्छे पनि नलिऔँ । तर, यहाँभित्रको आथिक गतिविधि भने निर्वाधरुपमा अगाडि बढ्न दिऔँ भनेर निर्णय गरेका थियौँ । र, सरकारलाई पनि यसैअनुसारको सुझाव दिएका थियौँ । त्योअनुरुप राम्रै भइरहेको थियो । तर, २४ जेठमा सरकारले ४४ वटा व्यवसायिक उद्योगलाई खोल्न दिने, एक तिहाई कर्मचारीलाई परिचालन गर्ने र एक चौथाइ गाडीहरु चलाउने दिने जुन निर्देशन गर्‍यो ।

त्यसपछि भने हाम्रो काबुभन्दा पनि बाहिर गयो । हाम्रो विरोधपछि सरकारले नाका नाकामा आर्मी नै लगाएर नियन्त्रण गर्‍यो । तर, त्यतिबेलासम्म धेरै मानिसहरु महानगरभित्र आइसकेका थिए । र, नेपाल सरकारकै गृहमन्त्रालयका पास बोकेर तीनजना कोरोना संक्रमित भित्रिसकेका थिए । यसले गर्दा व्यवस्थापनमा अलि गाह्रो पर्‍यो ।

ललितपुर महानगरपालिकाले गर्नुपर्ने काममा भने केही बाँकी राखेको छैन । यद्यपि संघीय सरकारको अलिकति असहयोग जस्तो पनि देखियो । प्रहरीको गाडी र अन्या सुरक्षा निकायको गाडीहरुबाटै हामीकहाँ मानिस ओसार्ने काम भए । जबकि हामीले टोलटोलमा बाहिरका मान्छे निषेध गरेका बेला मध्यरातमा मानिसहरु भित्र्याइयो । स्थानीय जनताका तर्फबाट भने हामीले राम्रो सहयोग पायौँ । त्यसैले अझै पनि हाम्रा अवस्था गएगुज्रेको चाहिँ छैन ।

पछिल्लो समय संक्रमितको आँकडा हेर्ने हो भने कोरोना नियन्त्रण गर्न परीक्षणको दायरालाई बढाउनुपर्ने देखिन्छ । यसमा तपाईंहरुले कसरी काम गरिरहुनभएको छ ?

स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर हामीले सुरक्षा, सफाइ कर्मचारी, स्वास्थ्यकर्मी, कर्मचारीदेखि फ्रण्टलाइनमा काम गर्ने पत्रकारसम्मको आरडीटी र पीसीआर परीक्षण गर्‍यौँ । कसैको रिपोर्ट नेगेटिभ आयो । तसर्थ यसमा केही कमीकमजोरी भएको भन्ने अनुभूति छैन ।

ललितपुर राजधानी पनि हो र यहाँ छिर्ने थुप्रै नाकाहरु छन् । तर, ती नाकाहरुलाई स्थानीय तहले नियन्त्रण गर्ने अधिकार छैन । त्यसले चाहिँ अलि समस्या पर्ने देखिन्छ ।

देश यस्तो अवस्थामा आइसकेको छ कि संक्रमितहरु पनि स्वास्थ्यकर्मीको निगरानीविना होम आइसोलेसनमा बस्नुपरेको छ । विभिन्न ठाउँका क्वारेन्टाइनहरु कोरोनाको ‘हट स्पट’जस्ता छन् । यसमा तपाईंहरुको व्यवस्थापन कस्तो छ ?

नेपालमै सबैभन्दा गुणस्तरीय क्वारेन्टिन हामीले सञ्चालन गर्‍यौँ । यो नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले पनि स्वीकारेको कुरा हो । एन्फाको ट्रेनिङ सेन्टरमा हामीले २३ बेडको क्वारेन्टिन सञ्चालन गरेका थियौँ । त्यसपछि हामीले नेपाल युथ फाउण्डेसनको सहकार्यमा महिला र बालबालिकाका लागि सुनाकोठीको दुई भवनमा २८ बेडको क्वारेन्टिन व्यवस्थापन गर्‍यौँ ।

तर, अहिले एन्फाले खेलकुद तालिम सुचारु गर्ने भएपछि हामीले ज्वापु समाजको बृद्धाआश्रम, बागडोलमा अर्को क्वारेन्टिन बनाइरहेका छौँ । त्यहाँ ११० जना क्षमताको बनाउन मिल्छ । तर, अहिले ३४ बेडबाट शुरु गर्दैछौँ ।

उसोभए तपाईंहरुको क्वारेन्टिनको संख्या एक सय पनि पुगेन । तराई र काठमाडौंका जिल्लाहरुमा जस्तै यहाँ पनि कोरोनाको महामारी फैलिएपछि व्यवस्थापन गर्न सकस हुँदैन र ?

त्यस्तो अवस्था आयो भने ज्यापु समाजको क्वारेन्टिानलाई ११० बेडमा बढाउनेछौँ । परी आएको खण्डमा नगरवासीलाई बचाउने हाम्रो पहिलो कर्तव्य हो । विकास निर्माणको काम भनेको देखा जाएगा !

यी दुई क्वारेन्टिन हाउसफुल भए भने अर्को कहाँ बनाउने भनेर पनि योजना बनाइरहेका छौँ । एकदमै भयावह स्थिति त नआउला । आएपछि हामी त्यसलाई नियन्त्रणमा राख्न सक्षम छौँ ।

तपाईंहरुले बढीमा कति जनासम्म संक्रमितलाई धान्ने आइसोलेसन र आईसीयू बेड लगायतका संयन्त्रहरु तयार पार्नुभएको छ ?

ठ्याक्कै यति भन्ने छैन । यसमा स्वास्थ्य मन्त्रालयसँग पनि सन्निकटमा बसेर काम गरिरहेका छौँ । हाम्रो महानगरको डाक्टर र स्वास्थ्यकर्मीहरु हुनुहुन्छ, उहाँहरुले मन्त्रालय र जिल्ला जनस्वास्थ्यसँग मिलेर काम गरिरहनुभएको छ ।

सीसीएमसीसँग पनि मिलेर काम गरिरहेका छौँ । त्यसमा भएका निर्णयलाई हामीले पालना गर्छौं र हाम्रो उपलब्धी सुनाउँछौँ ।

कोरोना नियन्त्रणमा संघीय सरकारभन्दा पनि स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने देखिन्छ । यसको स्थानीय सरकारलाई अधिकार पनि छ । अहिलेको अवस्थालाई व्यवस्थापन गर्नका लागि ललितपुर महानगरले कति बजेट छुट्याएको छ ?

यो समयमा स्थानीय तहले रफ्तारमा काम नगर्दो हो त केन्द्रीय सरकारले फ्लप खाइसक्थ्यो । एकाधबाहेक सबै स्थानीय तहले राम्रोसँग काम गरिरहेका छन् । हामी हाम्रो कमजोरी थाहा पाउनासाथ त्यसलाई सम्बोधन गरिहाल्छौँ । अहिलेसम्म समस्या आयो कि सम्बोधन गरिहाल्ने क्षमता हामीसँग छ । त्यसैले पनि हाम्रो महानगरलाई कोरोनाले त्यस्तो आतंकित पनि पारिसकेको छैन ।

लकडाउनमा हाम्रो सहयोग रहँदैन । संघीय सरकारले नाकामा कडाइ गर्ने हो भने महानगरभित्र व्यवस्थापन गर्न हामी सक्षम छौँ ।

जहाँसम्म बजेटको कुरा छ, हामीले प्रत्येक वर्ष डिजास्टर म्यानेजमेन्टका लागि ५० लाख रुपैयाँ छुट्याउँथ्यौं । त्यो बजेटलाई पनि अहिले हामीले कोरोना क्राइसिस म्यानेजमेन्ट कोष भनेर राखेका छौँ । त्यसवापत हामीसँग एक करोड रुपैयाँ कोषमा छ ।

केन्द्रीय सरकारले पनि स्थानीय विकास निर्माणको बजेटलाई पनि कोरोनामा रकमान्तर गरेर काम गर्न सकिने परिपत्र गरेको छ । तसर्थ, रकमान्तर गरेर चार करोड रुपैयाँ कोरोना डिजास्टर म्यानेजमेन्ट कोषमा राखेका छौँ । तसर्थ हामीसँग ५ करोडको बजेट छ । र, त्यहीबाट हामीले काम गरिरहेका छौँ ।

ललितपुरलाई ‘कल्चरल हेरिटेज’को रुपमा पनि चिनिन्छ । जसअन्तर्गत विभिन्न जात्रा र सांस्कृतिक गतिविधिहरु वर्षेनी भइरहन्छन् । यसरी जात्रा गर्दा कोरोना संक्रमणको जोखिम हुँदैन ?

हालै मात्र मतिया जात्रा हुनुपर्ने हो । जुन पाटनको एउटा हेर्न लायक जत्रा हो । सम्पदा र धार्मिक दृष्टिले पनि यसले निकै महत्व बोकेको छ । यसपालि हामीले त्यसलाई रोक्यौं र केही विधि पुर्‍याएर त्यसको काम टुंग्यायौँ । रातो मछेन्द्रनाथको जात्राको उस्तै ख्याती छ । त्यसको त रथ नै ६० फिट अग्लो, ६० टन तौल र ६० फिट लम्बाइ हुन्छ । जुन १६ सय वर्षदेखि अनवरतरुपमा सञ्चालन हुँदै आएको थियो । यो जात्रा रोक्न स्थानीय समुदाय मानेका थिएनन् । तर, एउटा समझदारीमा विभिन्न संघसंस्थाहरुले निर्णय गर्नुभयो । अहिले रथारोहण गर्ने र कोरोनाको जोखिम कम भएपछि रथ तान्ने भन्ने निर्णय भयो । ज्यापु समाजले यसको नेतृत्व गरेको छ र त्यसलाई हामीले समर्थन जनऔँ । यो अवस्था सृजना गर्न हामीलाई महाभारत नै भयो ।

तपाईंको महानगरपालिका कोरोनाको जोखिम व्यवस्थापन गर्न ‘अलर्ट’ छ भन्ने कुराको सूचक चाहीँ के हो त ?

मुख्य सूचकांक त अहिलेसम्मको रिजल्ट नै हो । हामीले यहाँको जात्रा, पर्व इत्यादिलाई पनि कन्ट्रोल गर्न खोजिरहेका छौँ ।

देशमा कोरोना संक्रमितको संख्या बढेसँगै पुनः लकडाउनको पनि बहस चुलिएको छ । यसमा तपाईंको धारणा र केन्द्र सरकारलाई सुझाव के हो ?

खाली लकडाउन भनेर त्यत्तिकै छोड्दिने हो भने नगरे हुन्छ । लकडाउनको सन्दर्भमा काठमाडौं भ्याली छिर्ने जुन नाकाहरु छन्, त्यसमा राम्रोसँग नियन्त्रण हुनुपर्‍यो । उपत्यकाभित्र लकडाउन भनेर ‘लकअप’ नै गरी बस्नुपर्ने अवस्था छैन । लकडाउनमा हाम्रो सहयोग रहँदैन । संघीय सरकारले नाकामा कडाइ गर्ने हो भने महानगरभित्र व्यवस्थापन गर्न हामी सक्षम छौँ ।

तस्वीरहरु: आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment