Comments Add Comment

काठमाडौंका मेयर भन्छन्- नाकामा कडाइ गरौं, पीसीआरमा धेरै खर्च नगरौं

नआउनू भन्दाभन्दै काठमाडौं आउनेलाई पुरस्कार दिन सकिन्न

२२ साउन, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य काठमाडौं उपत्यकामा कोरोना बढ्नुमा बाहिरबाट आउने क्रम नरोकिनु नै प्रमुख कारण भएको बताउँछन् ।

गाडीले महंगो भाडा लिएर नाकामा मानिसहरुलाई ल्याएर छाड्ने गरेको भन्दै त्यस्ता गाडी सञ्चालकलाई कारवाही गर्नुपर्ने शाक्यको तर्क छ ।

बाहिरबाट आएकालाई अहिले काठमाडौंमा क्वारेन्टाइन बनाउने विषय पनि गलत हुने मेयर शाक्य बताउँछन् । सरकारले नगर्नू भनेको काम गर्नेलाई पुरस्कार दिन नसकिने उनले बताए ।

त्यसैगरी पीसीआर परीक्षण धेरै गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने र नेपाली रुपैयाँ विदेश जाने भन्दै शाक्यले यसको विकल्पमा नाकामै कडाइ गर्नुपर्नेमा जोड दिए ।

काठमाडौंमा बढ्दो संक्रमणको जोखिमबारे केन्दि्रत रही मेयर शाक्यसँग अनलाइनखबरकर्मी रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ –

कोरोना संक्रमणको त्रास काठमाडौं उपत्यकामा बढेको छ । दिनदिनै बढिरहेको संक्रमणको जोखिमलाई महानगरपालिकाले कसरी मूल्यांकन गरिरहेको छ ?

सुरुमै हामीले सम्माननीय प्रधानमन्त्रीदेखि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी) मा पनि हाम्रा कुरा राखेका थियौं । उपत्यका नगरपालिका फोरममा निर्णय नै गराएर यसबारे हामीले मिडियामा पनि भनेका हौं । सर्वसाधारणलाई पनि सचेत गराएका हौं । काठमाडौं महानगरपालिकाले पहिले जे निर्णय गरेको थियो, त्यो निर्णयलाई सबैले पालना गरिदिएको र हाम्रो आवाज सुनिदिएको भए काठमाडौंमा भयावह स्थिति आउने थिएन ।

यहाँ काठमाडौं उपत्यकामा जोसित कोरोना देखियो, ती यहाँका स्थानीय बासिन्दाभन्दा पनि विभिन्न पेशा व्यवसाय गर्नका लागि यहाँ आउनुभएकोमा संक्रमण देखिएको छ । हामीले त्यो नभित्र्याऔं भनेका थियौं । काठमाडौंभित्र बरु खुला नै राख्ने, बाहिरका नभित्र्याउने भनेका थियौं ।

कोरोनाको जोखिम कायमै छ । तर, काठमाडौं भित्रनेहरुको संख्या पनि दिनानुदिन बढिरहेको छ । त्योबेला पनि सरकारले एक जिल्लाबाट अर्को जिल्ला जान पाइँदैन भनेको छ । सरकारले अहिले लकडाउन हटाएको होइन । मोडालिटी परिवर्तन गरेको हो । साधारण समयमा जस्तो जे पनि गर्न पाउने भनिएको होइन ।

सरकारले यो-यो काम गर्न हुन्छ, यो यो गर्नु हुँदैन भनेर तोकेको छ । यो मर्मलाई बुझिदिनुपर्‍यो । सरकारले लकडाउन हटाएको वा लकडाउन खुल्यो भनेर बुझ्नुभन्दा पनि यो-यो गर्नुहुँदैन भनेर सचेत हुनुपर्‍यो ।

अहिले पनि लकडाउन पूर्णरुपमा हटिसकेको छैन । लामो दूरीका यातायातहरु अहिले पनि बन्द नै छन् । यसको अर्थ के हो भने एउटा जिल्लाबाट अर्को जिल्ला नजाउँ सरकारले भनेको हो । लकडाउन उलंघन त भइरहेको छ ।

तपाईंहरुले भन्नुभएको कुरा संघीय सरकारले नसुनेको हो ?

नआऊ भन्दाभन्दै आउनुपर्ने किन ? सरकारले नगर भनेको काम गर्नेलाई सरकारले प्राथमिकता दिनुपर्छ र ? तपाई सरकारले नगर भनेर निषेधित गरेको काम गर्नुहुन्छ भने तपाई पुरस्कार दिने कि कारबाही गर्ने ? कुरो त्यहाँबाट जानुपर्‍यो

संघीय सरकारलाई मात्रै दोष दिएर पनि हुँदैन । यहाँ धेरै मान्छे जान्ने छन्, सरकारले हामीलाई सिकाउनुपर्दैन भनेका छन् । मिडियाले हामीलाई सिकाउनुपर्दैन भनेका छन् । कोरोना के हो ? कसरी बच्ने भनेर धेरै नेपालीले हामीले बुझिसक्यौं भन्नुभएको छ । यो सरकारलाई चुनौती पनि हुन सक्छ ।

लामो समय लकडाउनमा बसेर, दिनभरि पत्रपत्रिकार पढेर हामीले ज्ञान प्राप्त गरिसकेका छौं भन्ने व्यक्तिहरुले अब कोरोना संक्रमण फैलियो भन्न अलि मिलेन कि भन्ने मलाई लाग्छ ।

लकडाउन उलंघन भयो भन्नुभयो, त्यसमा सरकारले अनुगमन तथा नियन्त्रण गर्नुपर्थ्यो, सरकारले गर्न सकेन भन्ने लाग्दैन ?

यसका लागि त हामी सबै मिल्नुपर्छ, सरकारमात्रै होइन । राम्रो मैले गरेको, नराम्रो जति मैले नगरेको भन्नु भएन । कोरोना सबैलाई लाग्छ, यसले पद हेर्दैन । जात हेर्दैन । न वर्ग हेर्छ, न भूगोल नै । सबैलाई लाग्छ । सबै सचेत हुनुपर्‍यो ।

काठमाडौंमा बाहिरबाट आउने क्रम रोकिएन भन्नुभयो, तर महानगरले एउटा पनि क्वारेन्टिन बनाउन पनि सकेन । बाहिरबाट आउनेलाई क्वारेनटाइनमा राख्न सकिएको भए त यो अवस्था आउने थिएन कि ?

नआऊ भन्दाभन्दै आउनुपर्ने किन ? सरकारले नगर भनेको काम गर्नेलाई सरकारले प्राथमिकता दिनुपर्छ र ? तपाई सरकारले नगर भनेर निषेधित गरेको काम गर्नुहुन्छ भने तपाई पुरस्कार दिने कि कारबाही गर्ने ? कुरो त्यहाँबाट जानुपर्‍यो ।

महानगरवासी तथा सम्पूर्ण देशवासीहरुमा मेरो अनुरोध छ, यो काठमाडौंमात्रै होइन, सम्पूर्ण नेपालीहरुको भविश्यको कुरा हो । हाम्रो अर्थतन्त्रको कुरा हो । अहिले हामीले प्राथमिकता दिएको भनेको हाम्रो अर्थतन्त्र अलिकति खस्कियो है भन्ने हो । तर, ज्यान बचाउनुपर्छ भनेर हामी लागिरहेका छौं । अहिले सरकारले गरेको निर्णयलाई अवहेलना गरिएको छ ।

धेरै प्रहरीको गुनासो छ, नाका-नाकामा ल्याएर मान्छे छाड्ने गरिएको छ । सरकारले त्यो नाकामा ल्याएर गाडीबाट छोड भनेको हो त ? थानकोटमा ल्याएर गाडीबाट छाडिन्छ अनि चन्द्रागिरी नगरपालिकाको मेयरलाई गाली गरिन्छ ।

जिल्लाजिल्लाका मान्छे आउँछन् । अनि त्यहाँ बसेकाहरु भोकभोकै भए भनेर समाचार आउँछ । थानकोटमा रोकेर खुवाइ-पियाइ गर्नुपर्ने भयो । यसो गर्दा त झन संक्रमणको डर हुन्छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य ५ वटा नाकाका मेयरहरुलाई गाली गर्ने होइन, सबै सचेत हुनुपर्‍यो । सरकारले गरेको निर्णय बेठीक छ भने कि बेठीक भन्नुपर्‍यो, ठीक छ भने त्यो पालना गर्नुपर्‍यो ।

अहिलेको रोक सरकारले आफ्ना लागि गरेको होइन । प्रहरीले कडाइ गरेको छ, त्यो प्रहरीका लागि होइन । जोखिम त प्रहरीलाई धेरै छ । अहिले प्रहरीले सकेसम्म छुँदैन भन्ने थाहा छ, अनि प्रहरीलाई धकेलाधकेल गर्न जान्छन् । भोलि प्रहरीमा त्यसबाटै संक्रमण देखियो भने ? अरुबेला प्रहरीसँग डराउनेहरु अहिले टाँसिन गएका छन् ।

हाम्रो स्वास्थ्य मन्त्रालयले भनेको कुरा ख्याल गरौँ । यसले महामारीको रुप लियो भने हामीले थेग्न सक्दैनौँ । यसमा सरकार सचेत छ । सरकारले गरेका निर्णयहरु हामीले पालना गरिरहेका छौं । महानगरवासीले हाम्रो अनुरोध पालना गरिदिनुपर्छ ।

मलाई गर्व पनि लाग्छ, उपत्यकावासीले हाम्रो कुरा सुनिदिनुभएको छ । उपत्यका नगरपालिका फोरमले गरेको निर्णय उपत्यकावासीले सुन्नुभएको छ । अब बाहिरबाट प्रवेश गर्नेहरु पनि सुनिदिनुपर्‍यो ।

बाहिर आउने सबैलाई पीसीआर गरौं भनेर पनि सम्भव छैन । यसले गर्दा अर्थतन्त्रलाई असर गर्छ । हामीले पाउने कति, गुमाउने कति भन्ने कुरा पनि ख्याल गर्नुपर्‍यो । १ सय रुपैयाँ पाउन १ हजार रुपैयाँ गुमाउनुपर्ने अवस्था आयो भने यसले के असर गर्छ ? अहिले त सरकारले गर्छ भनेर सजिलै जवाफ दिइरहेका छौं । सरकारको पैसा भनेको पनि तपाई हाम्रै पैसा त हो नि ।

यसकारण राजस्व तिरेर बचेको पैसा पनि सदुपयोग गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो । काठमाडौं महानगरपालिकाको मेयरको हैसियतले भन्दा काठमाडौंवासीले पालना गरिरहनु भएको छ, अन्य जिल्लाबाट विशेष कारणबस आउनेहरुले पनि यो पालना गरिदिनुपर्छ । अहिले पनि हाम्रो माग भनेको उपत्यकाभरिमात्रै खोल भनेको हो, बाहिरबाट ल्याउने होइन ।

अहिले सरकारले पनि लामो दूरी खोल्न अनुमति त दिएको छैन । धेरै गाडीले अहिले पनि बाहिरबाट ल्याउँछन् अनि नाकामा छाडिदिन्छन् । हिँडेर भए पनि मान्छेहरु भित्र छिर्छन् । धेरै साथीहरुको माग यस्तालाई कारवाही गर्नुपर्छ भन्ने छ । एकजनाका कारणले सिंगो समुदाय वा क्षेत्रलाई असर गर्नु भएन । मेरा कारणले सबै महानगरवासीलाई असर गर्छ भने त मलाई छुट्टै राख्नुपर्छ नि । नगर भनेको कुरा गर्नु भएन ।

म मिडियाका साथीहरुलाई पनि अनुरोध गर्न चाहान्छु, राज्यले गरेका राम्रा निर्णयहरु सर्वसाधारणसम्म पुर्‍याइदिनुस् । यहाँ त लहडबाजी छ ।

यहाँ विभिन्न गतिविधि भइरहेका छन् । यहाँ जात्रा, पर्व संस्कृति एक किसिमका भए । तर, नयाँ संस्कृतिहरु जन्मिरहेका छन् । हेर्ने दृष्टिकोण फरक छ । त्यसलाई प्राथमिकता दिने कि निरुत्साहित गर्ने ? सरकारले त्यसलाई छोयो भने हस्तक्षेप गर्‍यो भन्ने कुरा आउँछ । केही गरेन भने सरकारले वास्तै गरेन भन्ने कुरा आउँछ ।

तपाईंले लकडाउन अन्त्य भएको हैन, को स्वरुपमात्रै परिवर्तन गरिएको हो भन्नुभयो, तपाईंले भनेजस्तै सैलुन, जिमखाना, सिनेमाहललगायतका क्षेत्रहरुलाई अहिले पनि नखोल्न भनिएको छ तर सरकारको निर्देशन विपरीत काठमाडौंमै ती खुलेका छन् । यसको अनुमगन त महानगरले पनि गर्नुपर्ने होइन ?

सबैभन्दा बुझ्नुपर्ने कुरा भनेको यो निर्देशन सरकारका लागि होइन । सरकारले गर्ने काम भनेको सर्वसाधारणका लागि हो । तत्कालका लागि यो निर्णय गर्दा देशवासीलाई बचाउन सकिन्छ भनेर गरिएको निर्णय हो, यो सबैले मान्नुपर्‍यो  ।

यहाँ सरकारभन्दा बाहिर धेरै नेताहरु छन् । जित्नेभन्दा हार्नेहरु धेरै छन् । यसकारण सबै दलहरुले यो स्वीकार गर्नुपर्छ । कार्यान्वयन सबै मिलेर गर्नुपर्छ । यहीबेला सरकारलाई गाली गर्ने, निहँु खोज्ने, यो भएन, ऊ भएन भन्नुहुँदैन । बच्चा हुँदा यो चाहियोे भनेजस्तै घुर्काउने समय यो होइन । यसकारण सरकारले गरेको निर्णय उपयुक्त भएन यो गरौं, यसरी जाऔँ भनेर विकल्प दिन सक्नुपर्छ । नत्र सबै मिलेर यो कार्यान्वयन गर्नुपर्छ । भएको निर्णय भन्दा भोलिका दिनमा राम्रो विकल्प आयो भने त्यसलाई आत्मसाथ गरेर अघि बढ्नुपर्छ । यसरी जान सक्यौं भनेमात्रै हामीले बचाउन सक्छौं ।

जहाँसम्म यहाँ नगर भनेका कामहरु धेरै भइरहेका छन् । यहाँ कसैलाई छोयो भने अर्को आरोप आइलाग्छ । प्रहरीले कसैलाई छुनुहुँदैन । यहाँ सरकारले कसैलाई छोयो भने आन्दोलन हुन्छ । सरकार अभिभावक हो । अभिभावक भएका कारण लचिलो बन्नु परिहाल्छ । नगर भनेको काम गर्दा पनि सकेसम्म सम्झाएर काम गराउने भन्ने छ ।

मिडिया सबैभन्दा धेरै जिम्मेवार छन् । मिडियाले राम्रा र नराम्रा कुरा दूधको दूध पानीको पानी बनाइदिनुपर्छ भन्ने मेरो सुझाव छ । तपाई यहाँ हुनुहुन्छ, यदि तपाई नभएको भए मेरा कुरा सबै जनतासमक्ष पुग्दैनथ्यो होला । मेरो कुरा जनतासम्म कसरी पुर्‍याउने, कसरी सम्पादन हुन्छ, त्यसमा भर पर्छ । पस्कने काम त मिडियाको भयो । मिडियाले सही सूचना दिन र सतर्क बनाउन भूमिका खेल्नैपर्छ ।

कोरोना नियन्त्रणमा महानगरपालिकाको भूमिका चाहिँ के छ त ?

सरकारले गरेका निर्णयहरु आफूले पनि पालना गर्ने । राम्रा निर्णयहरु पालना गर्न महानगरवासीलाई प्रोत्साहित गराउने, सचेत गराउने काम हामीले गरिरहेका छौं । सरकारले गरेका राम्रा निर्णयहरु कार्यान्वयन गराउन हामी आफैं पनि निर्णयहरु गर्छौं । माथि सरकारले गरेका उचित निर्णय कार्यान्वयन गराउन हामी उपयुक्त निर्णयहरु गर्छौ‌ं । महानगरवासीहरुलाई यी विषयमा हामी सचेत गराउने काम पनि गर्छौं ।

पीसीआर अब कतिजनालाई गराउने ? आज म पीसीआर गराएर एउटा जुलुसमा जान्छु, जुलुसबाट आएपछि मेरो पीसीआर गराउने कि नगराउने ? मेरो रिपोर्ट नेगेटिभ थियो, तर जुलुसमा गएपछि कोको मान्छेलाई भेटिन्छ, थाहा हुँदैन । तरकारी किन्न जाँदा कोही भेटिएला । सधैं पीसीआर गरेर साध्य नहोला

१२० दिन लामो लकडाउनपछि यतिबेला आर्थिक गतिविधि बढ्न थालेका छन् । तर पुनः लकडाउनको कुरा पनि उठिरहेको छ । काठमाडौं उपत्यकाको सन्दर्भमा अब के गर्नुपर्छ ?

काठमाडौं उपत्यकाको सन्दर्भमा पहिला हामीले जे निर्णय गरेका थियौं, त्यो सही थियो । सरकारले त्यसलाई स्वीकार पनि गरेको थियो । हामी गृहमन्त्रीको अध्यक्षतामा बैठक बसेका थियौँ । उपत्यकाभित्र खुकुलो बनाउँ भन्ने थियो । ४५ दिनभन्दा बढी लकडाउनमा बसेकाले टेष्ट गर्दा पनि सबैको नेगेटिभ आउने थियो । यसकारण उनीहरुभित्र गतिविधि गराउँदा डराउनुपर्दैन भन्ने थियो ।

जस्तो- हामी दुईजना लामो समय काठमाडौंभित्रै बसेका छौं, अरु व्यक्तिलाई भेटेका छैनौं भने हामी-हामीमा बेकारको शंका गर्नुपर्दैन । तर, यहाँ अहिले कोही पनि आयो भने त्यससँग म डराउनुपर्छ । हजारमा एकजना मात्रै भेटिएला, तर त्यो एकजनाले एक हजारजनालाई प्रभाव पार्न सक्छ र संक्रमण फैलाउन सक्छ भनेर हामी सचेत हुनुपर्छ ।
यसकारण उपत्यकाभित्र आर्थिक गतिविधि गराउनुपर्छ । त्यसका लागि जिल्लाबाट मान्छे ल्याउने, श्रमिकहरुलाई ल्याउने कामलाई रोक्न सकेनौं भने सरकार पछि पर्छ ।

पीसीआर अब कतिजनालाई गराउने ? आज म पीसीआर गराएर एउटा जुलुसमा जान्छु, जुलुसबाट आएपछि मेरो पीसीआर गराउने कि नगराउने ? मेरो रिपोर्ट नेगेटिभ थियो, तर जुलुसमा गएपछि कोको मान्छेलाई भेटिन्छ, थाहा हुँदैन । तरकारी किन्न जाँदा कोही भेटिएला । सधैं पीसीआर गरेर साध्य नहोला ।

यसकारण हामी आफैं सचेत हुने हो । सकेसम्म हुलमुलमा नजाने हो । सरकारले भनेको मान्ने हो । जानै परे सुरक्षा सतर्कता अपनाउने हो । दैनिक लाखौं मान्छे आउने, अनि लाखौंको पीसीआर गरेर हुँदैन । पीसीआर औषधी होइन । मलाई तत्काललाई संक्रमण छ कि छैन भनेर चेक गराउने मात्रै हो । अघि मैले पीसीआर गरेको थिएँ, तपाईलाई भेटेपछि फेरि गराउनु पर्ला । यसरी गरेको गर्‍यै गर्ने हो भने पैसा खर्च हुन्छ । जनताले तिरेको राजस्व त फेरि विदेश जाने भयो । किनकि हामीसँग किट छैन । भोलि हाम्रो अर्थतन्त्र भयावह हुन सक्छ । यसमा हामी सचेत हुने कि नहुने ?

अहिले आफूले थोरै पैसा कमाउने, सरकारलाई गाली गर्न पाउने बाहानामा जुन गतिविधि भएको छ, त्यसलाई रोक्नुपर्छ । मेरो मिडियालाई आग्रहमात्रै हो, यस्ता गतिविधि प्राथमिकतामा राख्नु पनि हुँदैन ।

अस्ति एकजना साथीले मलाई सुनाउनुभयो ।

बसन्तपुरमा युवतीहरुसँग फोटो खिच्न तँछाड-मछाड भएछ । त्यसबेला क्यामेरा म्यानहरुको राम्रो उपस्थिति देखियो । त्यहाँ ठूला- ठूला नेताहरु आएका थिए, उनीहरुको फोटो खिच्न वहाँहरुको कुरा सुन्न कोही क्यामेरामेन पुगेनन् । हेर्न धेरै नआउने भएपछि युवतीहरुलाई बोलाएर खै के गराएका रे (क्याटवाक) । त्यहाँ गाला जोडेर फोटो खिच्न तँछाड मछाड थियो रे । मिडियाकर्मीलाई पनि कोरोना लाग्छ, सबै सचेत हुनुपर्‍यो ।

मिडियाकर्मी पनि सचेत हुनुपर्‍यो । अहिले हामी जनप्रतिनिधि पनि जोखिममा छौं । दैनिक रुपमा सेवा लिन कोको आउँछन् थाहा हुँदैन । पत्रकार पनि त्यतिकै जोखिममा छन् । प्रहरीहरु पनि जोखिममै छन् । स्वास्थ्यकर्मी पनि झन जोखिममा नै छन् । वहाँहरुले आफ्नो ड्युटी गरिहँदा मेरा कारणले अरुमा जोखिम नहोस् भनेर सचेत भइदिनु पर्छ । आफू पनि जोगिने र अरुलाई पनि जोगाउने हुनुपर्छ ।

अब यही तरिकारले चल्न दिने कि फेरि लकडाउन गर्ने ?

सीसीएमसीमा अहिले पनि छलफल भइरहेको छ । लकडाउनमात्रै विकल्प होइन भन्ने कुरा उठेको छ । अहिले सरकारले लकडाउन हटायो भने गर भनेर आवाज उठ्छ, लकडाउन गर्‍यो भने हटाऊ भनेर आवाज उठ्छ ।

सर्वसम्मतिमा निर्णय हुनुपर्‍यो । लकडाउन गर्दाखेरि धेरै समस्या भयो, अर्थतन्त्र डामाडोल भयो अन्य समस्या धेरै भयो भन्ने व्यक्तिहरु नै अहिले सरकारले लकडाउन नगरेर कोरोना निम्त्यायो भन्छन् । लकडाउन छिटो गर भनिरहेका छन् । किन यस्तो संवेदनशील विषयमा पनि हामी एक हुन सक्दैनौँ ? कोरोना भनेको नदेखिने शत्रु हो । देखिएको शत्रु भए त त्यहीबेला साफ गरिन्थ्यो । अमेरिकामा त्यत्रो धेरैको मृत्यु भयो । कोरोनाबाट सबै त्रसित छौं । तर, हामीले यसलाई देख्न सक्दैनौ । कसलाई कसरी, कहाँबाट यसले प्रभाव पार्छ थाहाँ छैन । यो साझा शत्रु भन्नु परो ।

अदृश्य शत्रुसँग जुध्नका लागि सरकारमात्रै होइन सरकारबाहिररहेका हरुले पनि साथ दिनु पर्छ । हामी सबै मिल्नुको विकल्प छैन । उसले गरेर भनेर दोष दिएर मात्रै हुँदैन ।

उपत्यका नगरपालिका फोरमको अनि तपाईंको धारणाचाहिँ के हो त ? कसरी नियन्त्रण गर्ने ?

उपत्यका नगरपालिका फोरमको अध्यक्ष पनि म नै छु । हामी नियमित रुपमा सम्पर्कमा छौं । हाम्रो धारण भनेको स्थानीय तहले मात्रै निर्णय गरेर सबै कार्यान्वयन गर्न सक्दैनन् । जस्तो गृह प्रशासन हाम्रो माताहतमा छैन । गृह प्रशासनलाई हामीले सुझाव दिने हो ।

उपप्रधानमन्त्रीज्यूको नेतृत्वमा सीसीएमसी बनेको छ, त्यहाँबाट क्याविनेटमा जान्छ । अहिले स्कूल खोल्नु पर्यो भनेर एकथरीको कुरा आइरहेको छ । सिनेमा हल खोल्नु पर्यो भनेर पनि कुरा आएको छ । तपाईले अघि किन कारबाही नगरेको भन्नुभयो । तर यहाँ खोल्नु पर्यो भनेर डेलिगेशन आइरहेका छन् । विभिन्नका पार्टीका नेताहरु होहो उनीहरुको आवाज ठिक हो भनेर लागिरहेका छन् ।

उपत्याका नगरपालिका फोरमको धारण भनेको जोखिम अहिले पनि निर्मूल भइनसकेको र उपत्याका भनेको राजनीतिक हिसाबले मात्रै होइन यहाँ बसोवास गर्नेहरुको संख्या पनि धेरै ठूलो छ । भूगोल सानो भए पनि जनसंख्या धेरै छ, यहाँ संक्रमण फैलन धेरै समय लाग्दैन । नियनत्रण गर्न धेरै गाह्रो छ । एउटै घरमा बाहिर ३, ४ जना होलान तर यहाँ २०/२५ परिवारसम्म एउटै घरमा बसेका छन् । यसमा कमाउने व्यक्ति नै गयो भने परिवारको अवस्था के होला ? यसकारण अहिले भनेको थोरै कमाउँ, सबै बाचौँ भन्ने हो । जोखिम नमोलौँ ।

अहिले जुन किसिमले श्रमिक काठमाडौं भित्र आइरहेका छन् त्यसले खतरा बढाएको छ । यहाँ भएकालाई नै प्रयोग गर भन्ने हाम्रो भनाई हो । २ दिन लाग्ने काम ४ दिन लाग्ला तर खतरा त कम हुने थियो । ल्याइसकेपछि जर्वजस्ती क्वारेनटाइनमा राख्ने, पीसीआर गराउने गर्दा सरकार सफल हुन्छ कि हुँदैन ? यो धेरै गाह्रो कुरा छ ।

एक दिनमा एक लाख भित्रिएला, १० हजारका दरले हिसाब गर्नुस दैनिक कति रुपैयाँ विदेश जान्छ ? मैले अरुलाई पनि यहिँ प्रश्न गर्ने गरेको छु । काठमाडौंमा जति जोखिम छ अन्त पनि पक्कै छ । बाहिरका मान्छे काठमाडौं आउदा जति जोखिम म काठमाडौंको मेयरले देखेको छु, काठमाडौंका मान्छेहरु बाहिर जाँदा पनि त्यहाँको मेयरले पक्कै जोखिम देख्नुहुन्छ । यसकारण अहिले सरकारले गरेको निर्णय अनुसार एक जिल्लाबाट अर्को जिल्ला जानु हुँदैन । जोखिम रोक्नका लागि बाहिरबाट ल्याएर जसले नाकामा छोड्ने गतिविधि भइरहेका छन् उनीहरुलाई रोकेर कारबाही गर्नु परो ।

भनेपछि काठमाडौं भित्रने नाका पूर्ण रुपमा बन्द गरौं भन्ने तपाईहरुको चाहाना हो ?

सचेत बनौं । लकडाउन अझै जारी छ । एक जिल्लाबाट अर्को जिल्ला जान अहिले पनि पाइँदैन । यसको पालना हुनुपर्‍यो । लुकिछिपी आउने र ल्याउनेलाई कारबाही नगर्ने हो भने केही पनि हुनेवाला छैन

नाकामा ल्याउन नै भएन नि । सुदुर पूर्व वा पश्चिमबाट ल्याउने अनि थानकोट नाकामा छाडिदिने हो भने तपाई तविचल्लीमा पर्नुहुन्छ । वहाँबाट ल्याउनै भएन भन्ने कुरा हो । उत्दम विन्दुबाटै नियनत्रणमा लिनुपरो । थानकोटमा रोक्ने नरोक्ने भन्ने प्रश्न नै होइन । नाकामा जुन गाडिले ल्याउछ त्यसलाई कारबाही गर्नुपरो ।

यहिँ मौकमा बढी पैसा उठाएर थानकोटमा ल्याएरविचल्ली बनाउनु भएन । नाकामा ल्याएर छाडिदिएकालाई क्यारेनटाइन गरेर, पीसीआर गरेर पाल्नु परो । केहि मान्छेहरुलाई त पालिएला । तर सबैलाई त सक्ने कुरा भएन । यहाँबाट बाहिर जादा पनि सचेत हुनुपरो । बाहिरबाट यष्हाँ आउन पनि सचेत हुनुपरो । जो जहाँ छ त्यहिँ बस्नु परो ।

झन्डै सात लाख व्यक्तिको मृत्यु हुनु भनेको सानो कुरा होइन । मेरो जीवनको यो सबैभन्दा ठूलो संख्या हो। अझ यसको औषधि पनि पत्ता लागेको छैन। धनाढ्य देशमा नै धेरै मान्छे मरेका छन् । अन्त उपचार गर्न नपाएर जाने देशहरुमा नै धेरै मान्छे मरेका छन् । हामी जस्तो अविकसित देशमा त्यस्तो भयो भने त कल्पना गर्नै गाह्रो हुन्छ ।

यसकारण सबै सचेत बनौं । लकडाउन अझै जारी छ । एक जिल्लाबाट अर्को जिल्ला जान अहिले पनि पाइँदैन । यसको पालना हुनुपरो । लुकिछिपी आउने र ल्याउनेलाई कारबाही नगर्ने हो भने केहि पनि हुनेवाला छैन ।

काठमाडौंमा त फेरि जात्रा पर्व भइरहन्छन् । तपाईंले गाइजात्रा घरमै मनाउन आहृवान गर्नु भएको थियो, तर सडकमा निस्किए । यस्ता जात्रा पर्वबाट कत्तिको जोखिम देख्नु हुन्छ ?

जात्रापर्वबाट पक्कै पनि जोखिम हुन्छ । अहिले पनि हामीले धेरै जसो मन्दीरहरु खोलेका छैनौं । पजारको दृष्टिकोणले खोल्दा राम्रो होला । पुजारीको आम्दानीको कुरा होला । दर्शनार्थीहरुको पनि मनोकांक्षा पूरा हुने कुरा होला । तर सबैकोसुरक्षा हेर्नु पर्ने भएकाले मन्दीर बन्द राखेका छौं । गाइजात्रा जस्ता हाम्रा अन्य पर्वहरु पनि छन् ।

कुनै घरमा कुनै व्यक्ति मरेको छ, त्यो पर्व जात्रा नमनाए मृतक मान्छे पार नतर्ला भन्ने चिन्ता होला । काठमाडौंमा हरेक घरमा कोहि न कोहि मरेको छ, दुःख कम होस भनेर मनाइने जात्रा हो । सबै घरका मान्छे मरेका हुन्छन्, यसलाई सहज रुपमा लिनु पर्छ । जन्मेपछि एकदिन मर्छ । अल्पायुमै मृत्यु भयो भने अर्कै कुरा हो ।

यसकारण हामीले गाइजात्रा घरमै मनाउन आहृवान गरेका थियौँ । केहिहदसम्म नियन्त्रण पनि भयो । तर सरकारले भनेर हुन्छ र हाम्रो आस्थाको कुरा भनेर धेरै जना निस्कनु भयो । केहि केहिले त यो गलत हो भनेर वक्तव्य नै जारी गरे ।

हामीले घरमै मनाउन गरिएको आग्रह सबैतिर पुगेन होला तर ति विज्ञप्तिहरु सबैतिर पुगे । यहाँ जात्रा पर्व कहाँ मास्न पाइन्छ भनेका कुराहरु मिडियामा बढी हाइलाइट भए । सबै पाठकमा हाम्रो कुरा पुगेन । हाम्रो सन्देश नपुगेर, हामीले थाहाँ नपाएर पनि यस्तो भएको होला ।

भोलि संक्रमितहरुको संख्या भयावह हुँदै गयो भने भेन्टिलेटर पनि नपुग्ने अवस्था छ । सम्भावित जोखिम टार्न तपाईंहरुको तयारी के छ ?

जोखिम आइसकेपछि नियन्त्रण गर्नेभन्दा पनि जोखिम आउनै नदिनेतर्फ हामीले सोचनु पर्छ । मैले बुझेसम्म १८० वटामात्रै भेन्टिलेर छ । त्यसमा पनि कति बिग्रिएका होलान् । कोरोना आउनु भन्दा अगाडि टेष्ट गर्न सकिदैन थियो ।

टेष्ट गर्न विदेश पठाउनु परेको थियो । अब अहिले सरकारले ल आउनुस जति पनि टेष्ट हामी गरिदिन्छौं भनेको छ । यसरी क्रमिक रुपमा सुधार भइरहेको छ । महामारीको रुपमा फैलियो भने हामीलाई धेरै गाह्रो पक्कै पर्छ । यसकारण हामीले रोज लागेपछि के गर्ने भन्दा पनि पहिले लाग्नै नदिने हामीले सोच्नु पर्छ ।

यसलाई फैलन नदिन सोचौँ । फैलन नदिने हो भने त भेन्टिलेटर खरि गर्ने होइन भएकै पनि बढी हुन्छ नि । रोग फैलिइसकेपछि नियन्त्रण गर्न गाह्रो हुने भएकाले पहिले नै रोग फैलन नदिन ध्यान दिनु पर्छ ।

रोग त फैलिदैछ, थप फैलन नदिन सकिन्छ त ?

नसक्ने भन्ने होइन । सबै मिलेमा नसक्ने भन्ने हुँदैन । हेलचक्राई गर्यो भने हेलचक्राई गर्नेलाई मात्रै होइन अरुलाई पनि खतरा हुन्छ । हेलचक्राई गर्नेलाई सम्मान पूर्वक मिडियाले पनि धेरै उठाइदिनु भएन ।

२ जना कोहि आएर सरकारको विरोध गर्‍यो भने मिडियाको दौडादौड हुन्छ । हुनत मिडियाको पनि आफ्नो विजनेश होला । माइतिघरमा कुनै केटी अर्धनग्न दौडियो भने ३/४ सय पत्रार पुग्छन् । एक जना केटा सिंहदरबाभित्र नग्न प्रवेश गर्न खोज्दा ठूला-ठूला मिडिायमा हाइलाइट्स हुन्छ । तर सरकारले गरेका राम्रा निर्णयहरु जनता समक्ष पुर्‍याउन गाह्रो छ ।

मिडियाले साथ दिएनन् भन्न खोज्नु भएको हो ?

होइन, प्राथमिकता फरक पर्‍यो कि भन्ने लागेको हो । मिडिया पनि एउटा विजनेश हाउस नै हो । राम्रा कुराहरु छाप्दा कमले हेर्ने र नराम्रा छाप्दा धेरैले हेर्ने ट्रेन्ड फरक भएर पनि होला । सामाजिक रुपमले मात्रै हेर्दा न्यूज नबिक्ने भन्ने पनि होला ।

यो मेरो अनुमानमात्रै हो । मिडियाहरुको पनि आफ्नो प्राथमिकता, समस्याहरु पनि होलान् । तर मेरो अपेक्षा भनेको मिडिया हाउस अन्य व्यवसाय जस्तो होइन । मिडियाले कुनै व्यक्तिको होइट उडाउन पनि सक्छन्, सिध्याउन पनि सक्छन् ।

कुनै व्यक्तिको विषयमा हो भनेर लेखिदिदा त्यो पुष्टि त पछि होला । दोषिलाई त कारबाही हुन्छ । यदि उ निर्दोष रहेछ भने त उ डिप्रेशनमा जानसक्छ । उसको परिवार डिप्रेशनमा जानसक्छ । यसकारण हामी पनि संवेदनशील हुनुपर्छ मिडियापनि जिम्बेवार र संवेदनशील हुनुपर्छ ।

यस्तो बेलामा सरकारलाई सचेत पनि गराउने, विकल्पसहित यसरी जादा उपर्युक्त होला भनेर सुझाव पनि दिने गर्नुपर्छ । सरकारले विज्ञसहित राखेर गरेको निर्णय सर्वसाधारणमा पनि सचेत बनाउन सकियो भने हामीले पहिलो चरणमा नै नियन्त्रण गर्न सक्छौं ।

तस्वीर र भिडियो : आर्यन धिमाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment