Comments Add Comment
सन्दर्भ : बैरागी काइँला ८१ औं जन्मदिन :

४५ वर्षपछि चौरास्तामा बैरागी काइँला

पारिजातको प्रेमी धनवीर मुखिया कमानको जागिरे थिए । उनी प्रेमीसँगै दार्जिलिङको त्यो घरमा भाडामा बस्थिन् । हामीलाई लालकोठीको घरधनी चन्द्र राईले यो जानकारी गराए ।

पारिजातलाई निकै बोल्ड क्यारेक्टरको रूपमा लिइन्छ साहित्यमा । यसैले पारिजातको घर हेर्नकै लागि कृष्ण बराल, पर्वत पोर्तेल र म चौरास्ताबाट ओरालो गल्ली झर्‍यौं ।

त्यो गल्ली प्रकाश कोविदको प्रख्यात औपन्यासिक गल्ली रहेछ । म उनको उपन्यास पढेको सम्झनामा हराउन थालें । त्यो गल्ली त्यति सफा थिएन । बाइक र गाडीहरूको पनि ओहोरदोहोर चलिइरहेको थियो । लथालिङ्ग खानेपानीको पाइप, फोहोर र रोडामा मानिसहरू हतारहतार हिँडिरहेका थिए ।

६ दशकअघिको कुरा हो बल्लभ, इबरा र काइँला चौरास्तामा भेला भएर अगाडिको भानुको मुर्ति हेरेर त्यसको चारैतिरको कोणबाट नियाल्दा फरक देख्थे । त्यसरी नै सरसल्लाह गर्दै तेस्रो आयामको सिद्धान्तमाथि छलफल गर्थे ।

दुई महिला दूध बेचेर फिरेका रहेछन् । ‘रातभरि हुरी चल्यो कथा’को कालेकी आमाजस्तै महिलाले हामीलाई चन्द्र राईको घर छिर्ने सानो गेट देखाइदिइन् ।

‘एन्टिक गल्ली’हरू चहार्दै चन्द्र राईको बगैंचाभित्र छिर्यौं । उनले स्वागत गरे र पारिजातले भाडामा बसेको घर देखाइदिए । त्यो घर अहिले अर्कैले किनिसकेको जानकारी गराए । हामीले त्यहीँबाट पारिजातको घर हेर्‍यौं  ।

दार्जिलिङ आइसकेको भएपनि बाघे डाँडा (टाइगर हिल) पुगेको थिइनँ । मेरो लागि यो उत्कट जिज्ञासा थियो । आयोजकले बाघे डाँडामा अस्ताउँदो घाम हेर्न लिएर गए । निकै टाढो रै’छ ।

साह्रै सुन्दर सूर्यास्त हेरियो डाँडाबाट । समयको मृत्यु पनि भयानक सुन्दर हुन्छ भन्ने आभास गर्‍यौं । जाडो थियो । डाँडामा तीन तले प्यारापिटसहितको दृश्यावलोकन भवन निर्माणाधीन रहेछ । माथि चढ्दा आङ सिरिङ्ग नहुने कोही थिएनौं ।

१५ अक्टोबर २०१९ । नेपाली कविताका शीर्षस्थ व्यक्तित्व वैरागी काइँलासँग थियौं । सन्दर्भ थियो ‘इन्द्राख्यान’ परिचर्चा । नेपाल–भारतका बहुसङ्ख्यक लेखकको विचारहरू यस कृतिमा समावेश गरिएको छ । कार्यक्रममा दार्जिलिङका साहित्यकारहरू र इबरा (इन्द्रबहादुर राई) परिवारका सदस्य उपस्थित थिए ।

दोस्रो साँझ हामी कान्छा राईको ‘साझा पुस्तक पसल’ पुग्यौं । साथमा बैरागी काइँला पनि थिए । बैरागी काइँला दार्जिलिङ हुँदा जहिले पनि यहाँ निक्लिँदा रहेछन् । यो पुस्तक पसलसँग काइँलाको विगत–कथाको लामो तानाबाना थियो । उनको अध्ययनको प्रमुख स्रोत थियो यो पुस्तक घर ।

‘चौरास्ता आएपछि कफी पनि नपिई के जानु ?’

सायद काइँलालाई पुराना दिनमा कफी खाएको याद आयो । यी सबै ठाउँमा उनको स्मृति जोडिएको छ । म श्रद्धाले बाजे भन्छु काइँला दाइलाई ।
‘बाजे तपाईं कोबाट ज्यादा प्रभावित हुनुहुन्छ ?’ मैले सोधेको थिएँ कफीघर छिर्दा ।

‘संसारमा जो पनि कसैबाट प्रभावित हुन सक्छ । म पनि कुनै समय भएँ हुँला । जसरी ‘इबरा’ (इन्द्रबहादुर राई) सस्यूरबाट ज्यादा प्रभावित भए । तर हामीले डेरिडा नपढी डेरिडाजस्तो गर्‍यौं । त्यो प्रभावजस्तो देखियो ।’

कफी मगाइयो ‘क्यापाचिनो’ । कफीसँगै काइँला दाइको ५० वर्षअघिको दार्जिलिङ बसाइ पनि खोतल्यौं । पैसा तिर्न कृष्ण बराल र काइँला दाइमा हानथाप पर्‍यो । बराल दाइले बाजी मारे, त्यसै पनि उनी हाम्रो दिलदार थिए । चार कप कफीको आठ सय भारू, बराल तीनचित् ।

बाँयाबाट क्रमशः पर्वत पोर्तेल, कृष्ण बराल, बैरागी काइँला र लेखक शेर्मा ।

साँझपख चौरास्ता मस्त जवान हुन्छ । चौरास्ताको यौवन पिएर काइँला दाइले ‘अक्सफोर्ड बुक्स एण्ड स्टेसनरी’ जाने भनेपछि छिर्‍यौं । हामीले कुनै पुस्तक किनेनौं, हेर्‍यौं मात्र । वैरागी काइँला भन्ने थाहा पाएपछि पसले ग्राहकहरू सतर्क देखिए । उनीहरूमध्ये केही काइँलासँग भलाकुसारी पनि गरे ।

पर्वत पोर्तेलले ‘लाङसा’ खाने भनेपछि ट्याक्सी स्टेन्डपछाडिको चेपतिर छिर्यौं । तीन पुस्ताअघि मुगलान पसेका ताप्लेजुङ्गे लिम्बुको ‘मेञ्जो बार एण्ड रेस्टुरेन्ट’ रहेछ, तर लाङसा सकिएको रहेछ । फेरि, नेपालको जस्तो ‘रोष्ट’, ‘सेकुवा फ्राई’ केही नहुँदोरहेछ । चिकन ग्रेभी खायौं ह्विस्कीसँग । त्यत्ति दिलखुस भएन ।

सलादको पनि अभाव, जेनतेने काम चलाइयो ।

आखिर, दार्जिलिङ्गे जाँड साँझको दुखद अवशान भयो ।

अर्को दिन काइँलाको मित बाबुकी छोरी टिउसन पढाउन बस्दा ईश्वरवल्लभले छोरी नै भगाएको नमिठो तर ‘ब्रेभ लभस्टोरी’ सुन्यौं । बल्लभ मुडमा चल्ने, झगडा गरिहाल्ने स्वभावको रहेको रहस्य सुन्यौं । त्यसबेलाको चर्चित आन्दोलन ‘तेस्रो आयाम’को विरोध अगमसिंह गिरी र गुमानसिंह राईले मात्र गरेका रहेछन् ।

आयामेलीसँग गिरी र राईले ठूलो वाकयुद्ध गरे । ‘म सिधासाधा सोझो मनोवृत्तिको भएकाले कसैसित रिसराग भएन’ काइँलाले कन्फेसन दिए ।

६ दशकअघिको कुरा हो बल्लभ, इबरा र काइँला चौरास्तामा भेला भएर अगाडिको भानुको मुर्ति हेरेर त्यसको चारैतिरको कोणबाट नियाल्दा फरक देख्थे । त्यसरी नै सरसल्लाह गर्दै तेस्रो आयामको सिद्धान्तमाथि छलफल गर्थे । यी तीनजनाले पैसा जोगाड गरेर २२ सालतिर छ अंकसम्म ‘फुल, पात, पत्कर’ साहित्यिक पत्रिका निकाले ।

त्यही दिन अपरान्ह, आफू दार्जिलिङ छँदा डेरा बसेको घर देखाउन काइँला सुरिए । हामीलाई ट्याक्सी स्ट्यान्ड नजिकै रहेको पूर्वतिरको गल्लीमा लिएर गए ।

तर कुन घरको कोठामा आफू बसेको हो स्पष्ट ठम्याउन सकेनन् । दार्जिलिङे गल्लीको भौतिक संरचना निकै परिवर्तन भइसकेकाले उनी अल्मलिए ।

त्यहाँबाट हाट कटेरा आयौं हामी । त्यहाँ उभोँ हेरेर औल्याउँदै काइँलाले भने, ‘यो गोर्खाल्याण्ड आन्दोलनको बेला भाषण गर्ने मञ्च थियो । अहिले त धेरै घर टहरा बनेर मञ्च नै छोपिसकेछ ।’

हामीले दुईतले मचान देख्यौं । ‘आज रमिता छ’ उपन्यासको अन्तिम इपिसोड यहीँको कथावस्तु रहेको कुरा पनि काइँलाले सुनाए । इबराले आफ्नो उपन्यासमा लेखेको परिवेश आफ्नै आखाँले हेर्न पाउँदा हामी उत्साहित थियौं ।

‘स्रोता दर्शक बस्ने ठाउँमा बाक्लै दोकान थिए त्यतिबेला । मैले घिसिङ, छत्रे सुब्बा, ईन्द्रबहादुर राई, विमल भाषण ठोक्दै गरेको देखेको छु’ काइँलाले सुनाए ‘त्यो भाषण सुन्न गाउँ–गाउँबाट, कमानबाट किसानहरू आउँथे । यहाँ ठूला कार्यक्रम हुन्थ्यो ।’

यात्राको अन्तिम बिहान प्रसिद्ध बोटानिकल गार्डेन हेर्न झर्यौं । बाटो भूलेर निकै तल झरिएछ । उद्यान त पारिपटि देखियो । फेरि हिँड्नुपर्यो । सन् १८७८ मा बनाइएको यो उद्यान एशियाकै प्रसिद्ध वनस्पति उद्यान मानिन्छ ।

उद्यानको जम्मा तीन खण्ड रहेछ । माथिल्लो खण्डमा हिमाली रैथाने वनस्पति, मध्यखन्डमा उन्यूँ, कोणधारी उच्च पहाडी वनस्पति र तल्लो खण्डमा पचास प्रजातिको सुनाखरीको ग्रिन हाउस रहेछ ।

अहिले यो वनस्पति उद्यानको चाहिए जति स्याहार नभएको आभास हुन्थ्यो । मैले काठमाडौंको गोदावरी उद्यानको अवस्था पनि सम्झें । हामी बिहानै पुग्दा मानिसहरू मर्निङ वाकमा थिए । कोही बगैँचाछेउमा ध्यान गर्न बसेका थिए ।

हामी साहित्य र प्रकृतिको गफमा मस्त हुँदै हिँडेका थियौं । एकजना मानिस अचानक हामी भएतिर जोडले डल्लो परेर कुदेर आयो । उसको वेगले हामी निकै झस्कियौं । ठोक्न आए जस्तो भान भयो । तर ऊ त्यसरी नै फर्केर गयो ।

खासमा ऊ दौडको कठीन अभ्यासमा रहेछ । कृष्ण बराल र्‍याल–सिंगान हुनेगरी हाँसे । हामी पनि हुरूक्कै । मनमोहक वनस्पति उद्यान छोड्ने मन थिएन । आखिर जीवनमा हजारौं बगैंचाहरू सम्भार गर्नु छ ।

अग्रज कवि बैरागी काइँलाको दार्जिलिङ कहानी कल्पिँदै हामी नेपाल फर्कियौं । हिजो सोमबार त उहाँले ८१ टेक्नुभयो । जन्म दिनको हार्दिक शुभेच्छा काल्दाई !

(शेर्माको ‘शब्दहरूको याक्सा’ कवितासंग्रह प्रकाशित छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment