Comments Add Comment

बेलायती सांसदको नेतृत्वमा युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन

२७ साउन, काठमाडौं । नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार प्रवर्द्धनमा सघाउने उद्देश्यले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन भएको छ ।

बेलायतको हाउस अफ लर्ड्समा सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा मञ्च गठन भएको हो ।

फोरमको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्त बहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्रजंग लामिछाने छन् । फोरमको महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल चयन भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

मन्चको संरक्षकमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी रहेका छन् । मन्चको उद्घाटन भेलालाई सम्बोधन गर्दै राजदूत सुवेदीले बेलायत र नेपालबीच व्यापार व्यवसाय र लगानी प्रवद्र्धनमा मञ्चको भूमिका प्रभावकारी रहने बताए ।

मञ्चका अध्यक्ष तथा बेलायती सांसद लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गर्न सकिने बताए । उनले आफूहरु नेपालको आर्थिक विकासमा सहयोग पु¥याउन प्रतिबद्ध रहेको जनाए ।

लर्ड शेखले लण्डन अन्तर्राष्ट्रिय व्यापार र लगानीको प्रमुख केन्द्र रहेको बताउँदै नवगठित मञ्चले नेपालका व्यवसायीहरुको सम्पर्क र सम्बन्ध बेलायतीसहित अन्तर्राष्ट्रिय व्यापारी र उद्यमीहरुसँग गराउने बताए । उनले नेपाल सरकारको व्यापार, वाणिज्य तथा लगानी सम्बन्धी नीति तथा कार्यक्रमहरु बेलायतका व्यवसायी र लगानीकर्तासम्म पुर्याउने प्रतिबद्धता पनि जनाए ।

युके–नेपाल व्यापार तथा लगानी मञ्चले आगामी सेप्टेम्बर महिनाको तेस्रो साता नेपालको व्यापार र लगानीमा केन्द्रित रही एक विशेष कार्यक्रम गर्ने दूतावासका प्रवक्ता शरदराज आरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment