२७ साउन, सुर्खेत । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादनका लागि करार सम्झौता गरेका छन् ।
भदौ १ गतेदेखि लागु हुनेगरी ६ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् ।
प्रदेशको वार्षिक प्रगति सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री शाहीले करार सम्झौता गरेको बताए । अब मन्त्रालयहरुले सबै चुनौतीको सामना गर्दै तोकिएको समयमा कार्यसम्पादन गरिसक्नुपर्ने शाहीकको भनाइ छ ।
सम्झौता अनुसार मन्त्रालयहरूलाई कार्यक्रम सञ्चालनका लागि निश्चित समय तोकिनेछ । उक्त समयभित्र मन्त्रालयले गर्नुपर्ने काम नगरे मन्त्रीहरु हेरफेर गरिने मुख्यमन्त्री शाहीले बताए । यसरी अगाडि बढ्दा भौतिक तथा वित्तीय प्रगति अपेक्षा अनुसार हुने उनको भनाइ छ ।
‘करार सम्झौताले मन्त्रीहरुको कार्यासम्पादन बढाउन र जिम्मेवारीप्रति जवाफदेही बनाउने छ,’ उनले भने, ‘काम नगर्ने तर पद ओगटिरहने मन्त्रीहरु हेरफेर गरिन्छ ।’