Comments Add Comment

पत्रकार बलराम बानियाँ मृत भेटिए

२८ साउन, काठमाडौं । सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ ।

मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको उनले बताए ।

बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेउबाट स्वीच अफ भएको थियो ।

अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेउबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए ।

खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment