Comments Add Comment

विज्ञहरुको चेतावनी – अस्ट्रेलियामा खानेकुराको अभाव हुनसक्छ

२८ साउन, सिड्नी । अष्ट्रेलियाका दुई ठूला सहरहरु मेल्बर्न र सिड्नीमा कोरोना भाइरसको दोश्रो चरणको संक्रमणका कारण खानेकुराको अभाव हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

भिक्टोरिया राज्यको मेल्बर्नमा गत महिनादेखि कोरोना भाइरसको दोश्रो चरणको संक्रमणमा वृद्धि आएपछि लगाइएको संकटकालपश्चात फास्ट फुड इन्डस्ट्री, मासु संशोधन उद्योग, फलफूल तथा तरकारीको उत्पादन दर घटेपछि खाद्यान्न संकट हुनसक्ने उनीहरुको तर्क छ ।

त्यसो त, खाद्यान्न उत्पादन गर्ने उद्योगहरुका कर्मचारीहरुमा पनि संक्रमण देखिएपछि कयौं उद्योगहरु बन्द भएका छन् भने अन्य उद्योगहरुमा कर्मचारी अभावका कारण उत्पादनमा कमी आएको छ ।

त्यति मात्रै होइन, दोश्रो चरणको संक्रमणका कारण मेल्बर्नमा संकटलकाल घोषणा भएपछि ड्राइ फुड जस्ता चाँडै नबिग्रने खानेकुराहरु मानिसहरुले अधिक मात्रामा सञ्चय गर्न थालेपछि खाद्यान्नको माग र आपूर्तिको बीचमा धेरै नै अन्तर देखिइसकेको थियो ।

मेल्बर्नका प्रिमियर डेनियल एन्ड्रुजले संकटकालका बाबजूद मासु, सि फुड तथा फलफूल तथा तरकारी उत्पादकहरुलाई उत्पादन जारी राख्न निर्देशन दिए पनि उद्योगका कर्मचारीहरुमै संक्रमण देखिएपछि भने कामदार अभावका कारण उत्पादन ३० प्रतिशतले घटेको छ ।

अस्ट्रेलियन तथ्यांक विभागका अनुसार गत वर्ष पूर्वी अस्ट्रेलियामा देखिएको सुख्खा, अत्यधिक गर्मी, न्यू साउथ वेल्समा भएको आगलागीका कारण पनि पहिलेका वर्षहरुमा भन्दा अहिलेको बर्षमा उत्पादन कम देखिएको थियो ।

अस्टेलियामा अत्यधिक मात्रामा रुचाइने फास्ट फुडहरु मध्येको केएफसीका कामदारहरुमा देखिएको संक्रमणका कारण कयौं स्टोरहरु बन्द भएका छन् भने अन्य स्टोरहरु खुल्ने समय घटाइएको छ ।

‘महामारीका कारण कुखुराको मासु उत्पादनमा कमी आएपछि भिक्टोरियाका कतिपय रेस्टुरेण्टहरु केही समयको लागि मात्र खुल्ने वा पूरै बन्द हुनसक्ने छ,’ केएफसीका प्रवत्ताको भनाई उद्दृत गर्दै सेभेन न्युजले लेखेको छ ।

त्यस्तै, अस्टेलियन मिट इन्स्ट्री काउन्सिलले पनि मासु उत्पादन गर्ने उद्योगहरु बन्द हुनसक्ने स्थितीमा मासुको आपूर्तिमा भारी मात्रामा कमी आउनसक्ने चेतावनी दिइसकेको छ ।

इन्डस्ट्रिका कार्यकारी अध्यक्ष पेट्रिक हचिन्सनले भने, ‘हामीले उत्पादन गर्ने मासुमा ३० प्रतिशतले कमी आएको छ, यसले भविष्यमा माग र पूर्तिको सन्तुलनमा असर गर्नेछ,’
गत हप्ता मेल्बर्नका प्रिमियर एन्ड्रुजले पनि खाद्यान्नमा संकट हुनसक्ने घुमाउरो भाषामा भनेका थिए, ‘तपाईंले चाहेको हरेक वस्तु हरेक मात्रामा डिपार्टमेन्टल स्टोरमा नपाइने हुन सक्छ, तर अत्यावश्क सामग्रीहरुमा कुनै कमी हुँदैन,’ उनले भने, ‘तपाईंलाई के मन पर्छ भन्दा के आवश्यक छ भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।’

‘भिक्टोरियामा खाद्यान्न आपूर्तिमा कमी हुन नदिन हामी सम्बन्धित निकायहरुहरुसँग सहकार्य गर्दैर्छौ,’ उनले भनेका थिए ।

कृषि मन्त्रालय भन्छ : फुड सर्टेज छैन

अस्ट्रेलियाका कृषि, जल तथा वातावरण मन्त्रालयले भने अस्ट्रेलियामा खाद्यान्न अभाव नहुने बताएको छ ।

‘विभिन्न प्राकृतिक प्रकोपहरुसँग जुध्दै आएको अस्टेलियामा खाद्यान्न अभावको चिन्ता बढेको छ, ती चिन्ताहरु बुझनीय तर निराधार छन्,’ कृषि मन्त्रालयले हालसालै प्रकाशन गरेको एक रिपोटमा लेखिएको छ ।

उक्त रिपोर्ट भन्छ, ‘अस्टेलियाभित्रै उपभोग हुने उत्पादन भन्दा ७० प्रतिशत कृषि उत्पादनहरु बाहिर निर्यात हुन्छ, त्यसैले हामीलाई खाद्यान्न संकट हुँदैन ।’

त्यसो त अस्टेलियाले गत आर्थिक वर्षमा ४८ अर्ब डलरको खाद्यान्न आपूर्ति गरेको थियो ।

फलफूल तथा तरकारीको मूल्य वृद्धि हुनसक्ने

कोरोना भाइरस महामारीका कारण फलफूल तथा तरकारी उत्पादन गर्ने उद्योगहरुले तरकारी तथा फलफूलको मुल्यमा ६० प्रतिशतले वृद्धि आउन सक्ने चेतावनी दिएको छ ।

महामारीपश्चात गरिएको सीमा बन्दका कारण विदा भिसामा आउने अन्तर्राष्ट्रि य कामदारहरु आउन नसकेपछि कामदार अभाव भएका कारण उत्पादन टिप्न महँगो पैसामा कामदार लगाउनु परेका कारण मूल्य वृद्धि हुनसक्ने हर्टिकल्चर उद्योगले बताएको छ ।

अष्ट्रेलियाका विभिन्न फार्ममा उत्पादन हुने फलफूल तथा तरकारी टिप्न आवश्यक कामदाहरु करिब ८० प्रतिशत विदा भिसामा आउने विदेशी कामदारहरु हुन्छन् ।

कामदार अभावका कारण पाकेको फलफूल तथा तरकारी कुहिनुका साथै नयाँ विरुवा रोप्न कठिनाइ भएको समेत उद्योगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment