Comments Add Comment

नेपाल-चीन व्यापारमा पहिरो र कोभिड-१९को अवरोध

२८ साउन, काठमाडौं । पहिरो र नेपालमा फैलिएको कोरोनाका कारण नेपाल-चीन व्यापार ठप्प भएको छ । चीनबाट नेपालले वस्तु तथा खाद्यन्न आयात गर्ने प्रमुख दुई नाका तातोपानी र रसुवागढी पहिरोका कारण ठप्प रहेको त्यहाँस्थित भन्सार कार्यालयहरुले जनाएका छन् ।

चीनतर्फको हिमताल फुट्ने जोखिम र विभिन्न ठाउँमा गएको पहिरोका कारण तोतापानी नाकाबाट एक महिनादेखि खाद्यन्न र लत्ताकपडा आयात नभएको भन्सार कार्यालय तातोपानीले जनाएको छ ।

पहिरोले बाटो अबरुद्ध भएको र चीनतर्फको हिमताल फुट्ने जोखिमका कारण सवारी साधन नपठाइएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । ‘केही अत्यावश्यक औषधि स्वास्थ्य सामाग्री आएको भएपनि खाद्य वस्तु र अन्य सामग्री आयात भएको छैन,’ खत्रीले भने ।

यस्तै रसुवागढी नाकाबाट पनि दुई देशबीचमा व्यापार साता दिनदेखि अवरुद्ध रहेको रसुवागढी भन्सार कार्यालयलले जनाएको छ । दुई देशबीचको व्यापारमा कोभिड र पहिरोको अबरोध रहेको रसुवागढी भन्सार प्रमुख पुण्यबिक्रम खड्काले बताए ।

‘नाका खुले देखिनै नेपालको कोभिड संक्रमणलाई कारण देखाएर व्यापारमा उलेख्य प्रगति थिएन, अहिले त पहिरोको अबरोध छ,’ खड्काले भने ।

हामी डुब्यौ : आयातकर्ता

प्राकृतिक कारण र कोभिडलाई बहाना बनाएर चीनतर्फको व्यापारमा अवरोध हुँदा आफूहरु डुब्ने अवस्थामा पुगेको व्यावसायीहरुले बताएका छन् । नेपालमा कोभिड भएको भन्दै भन्सार जाँच पास र सवारी साधन सञ्चालनमा चीनले लिएको नीतिले ८ महिनादेखि १४ सय कन्टेनर चीनतर्फ अडि्कएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ । ‘गार्मेन्ट, विद्युतीय सामाग्री, लगायतका कन्टेनर अडि्कएको छ, व्यवसायीको अर्बौंको सम्पत्ति फसेको छ,’ संघका अध्यक्ष बच्चु पौडेलले भने ।

नाकाको व्यापार सहजताकालागि परराष्ट्र मन्त्रालय, भन्सार विभाग लगायतका सरकारी निकाय तथा नेपालस्थित चिनियाँ दूतावासमा जानकारी गराइएपनि समस्या समाधान नभएको अध्यक्ष पौडेलले बताए । ‘कतैबाट सहयोग पाइएको छैन, व्यवसायीहरु फस्ने अवस्थामा पुग्यौं,’ उनले भने ।

नेपालतर्फै समस्या औल्याउँछन् चिनीयाँ अधिकारी

दुई देशबीचको व्यपार सहजीकरणमा नेपाल पक्षले गरेको स्थानीय छलफलमा कोभिड-१९लाई चिनियाँहरुले मूख्य समस्या मानेको भन्सारका अधिकारी तथा व्यवसायीहरु बताउँछन् । नाकामा व्यापार बढाउन चीनतर्फबाट धेरै सावारी साधन पठाउन आग्रह गरिए पनि चिनियाँ पक्षले अस्वीकार गरेको भन्सारका एक अधिकारीले बताए ।

खुलेको बेला दिनमा जम्मा दुई तीन वटा गाडी मात्रै चिनबाट मितेरी पुलसम्म आउने गरेको र त्यसले गर्दा पुरानो कन्टेनरको सामान भित्रिन मात्रै पनि महिनौँ लाग्ने ति अधिकारीले बताए । खुलेको बेला थप सवारी साधनमार्फत ढुवानी सेवा दिन चिनियाँ पक्षले नमानेको उनको भनाइ छ ।

व्यापार सहज हुने वातावरणका लागि केरुङ प्रशासनमा गरिएको अनुरोध अस्वीकार भएको सीमापार वाणिज्य संघले जनाएको छ ।  नेपालमा कोभिड-१९ फैलिएको बेला बढाइएने गतिविधिले चीनमा समस्या उत्पन्न हुने भन्दै चिनियाँहरुले अटेर गरेको संघका एक अधिकारीले बताए । ‘व्यापार गर्न  नेपालतर्फ नै समस्या छ, हामी अहिले जोखिम लिन्नौं,’ केरुङस्थित चिनियाँ अधिकारीको भनाई उदृत गर्दै एक व्यवसायीले भने ।

परराष्ट्रले छलफल गर्ने

दुई देशबीचको व्यापार सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले चीनसँग आग्रह गर्ने भएको छ । बुधबार दुई देशबीचको परराष्ट्र सचिव तहमा छलफल हुन लागेको र त्यसमा व्यापार अवरोधको मुद्दा पनि प्राथमिकतामा रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

नेपालले व्यापार सहजीकरणका लागि चिनियाँ अधिकारीसँग छलफल गर्ने एक अधिकारीले अनलाइनखबरसँग भने । वाणिज्य व्यापारमा भएको अवरोधबारे परराष्ट्रलाई अवगत गराइएको वाणिज्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment