Comments Add Comment

एक अर्बको लगानीमा खुल्यो क्वालिटी पेपर उद्योग

२८ साउन, चितवन । युवा उद्यमीको लगानीमा चितवनमा युरोपियन प्रविधिको प्रयोग गरी क्वालिटी पेपर इण्डष्ट्रिज प्रालि सञ्चालनमा आएको छ ।

नवलपरासीको (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका –१० अरुणखोला नजिक उद्योग सञ्चालनमा आएको छ । उद्योगमा एक अर्बको लगानी रहेको वुधवार भरतपुरमा पत्रकार सम्मेलन गरी उद्योग सञ्चालकहरुले जानकारी दिएका छन् । उद्योगको मुख्य कार्यालय भने चितवनको चितवनको नारायणगढस्थित बेलचोकमा रहनेछ ।

मुख्य कार्यालय रहेको यस कम्पनिको उद्योग भने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाको अरुणखोलामा रहेको छ ।

उद्योगका अध्यक्ष सुरेशकुमार गुप्ताले स्वदेशमा खेर गइरहेको कागजजन्य फोहोर तथा स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै नयाँ कागज उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएकोे बताए ।

२०७५ सालमा मा स्थापना भएको सो उद्योगले झण्डै दुई वर्षपछि उत्पादन शुरु गरेको अध्यक्ष गुप्ताका भनाइ छ । उनका अनुसार कागजको राष्ट्रिय उत्पादन र मागलाई थोरै भए पनि उद्योगले टेवा पुर्‍याउने र स्वदेशी रकम विदेशिनबाट रोकिने छ ।

उद्योगले पहिलो चरणमा प्याकेजिङ (कार्टुन) लाई प्राथमिकता दिएर उत्पादन शुरु गरेको छ ।

‘नेपाललाई प्याकेजिङका लागि आत्मनिर्भर बनाउने उद्देश्यसहित उद्योग सञ्चालनमा ल्याइएको छ’ अध्यक्ष गुप्ताले भने, ‘दोस्रो चरणमा सेतो कागजसमेत उत्पादन गर्ने तयारी छ ।’ मुलुकलाई आवश्यक पर्ने सेतो कागजको आधा हिस्सा आफ्नो उद्योगले उत्पादन गर्ने लक्ष्य लिएको अध्यक्ष गुप्ताको दावी छ ।

उद्योगका प्रबन्ध निर्देशक राजन पियाले कागजजन्य फोहोरलाई पुनः प्रशोधन गरी दुई प्रकारका कागज उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको बताए ।

युरोपियन प्रविधिको प्रयोग गरी कागज उत्पादन गरिने भएकाले यो उद्योगबाट वातावरण प्रदुषण नहुने उनको भनाइ छ । करिब ११ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा चार जना युवा उद्यमीको लगानी छ ।

दैनिक ११५ टन कागजजन्य फोहोर प्रशोधन गर्ने क्षमताको यो उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपछि १५० जनालाई प्रत्यक्ष रोजगारी मिल्ने छ । उद्योगबाट दैनिक १२० टन कागज उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

नेपालबाट कागजजन्य फोहरहरु सस्तो मूल्यमा भारत तथा चीनमा निर्यात हुँदै आइरहेको थियो । उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपश्चात पत्रपत्रिका छपाइका लागि आवश्यक पर्ने सबै प्रकारका कागजहरु स्वदेशमै उत्पादन गर्ने तयारी गरिएको उद्योग सञ्चालकको भनाइ छ ।

कागज उद्योगको इतिहास बोकेको नवलपरासी जिल्लाको गरिमा बढाउनका लागि समेत आफूहरुले नवलपरासीभित्रै कागज उद्योग सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक पियाले बताए । कुनै बेला मुलुकलाई कागजमा आत्मनिर्भर बनाएको गैँडाकोटको भृकुटी कागज कारखाना विगत केही वर्षदेखि बन्द अवस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment