Comments Add Comment

नेता विकास तिवारीलाई रिहाइ गर्न नेविसंघको माग

२९ साउन, वीरगञ्ज । बुधबार राति पक्राउ परेका नेपाल विद्यार्थी संघ पर्साका नेता विकास तिवारीलाई रिहा गर्न उनको संगठनले माग गरेको छ ।

वीरगञ्जमा बिहीबार पत्रकार सम्मेलन गरी नेविसंघले तिवारीलाई अनाहकमा पक्राउ गरी प्रहरीले दुख दिएको बताएको छ ।

‘उसको कुनै दोष छ भने प्रमाणित गरेर देखाउनुपर्छ, होइन भने अनाहकमा पटक पटक पक्राउ गरेर दुःख दिने अधिकार प्रहरीलाई कसले दिएको छ ?’ नेविसंघका पूर्व जिल्ला अध्यक्ष राकेश यादवले भने ‘बर्दीको आडमा प्रहरीको ज्यादती धेरै दिन सहेर बस्ने पक्षमा हामी छैनौं ।’

साउन २६ गते जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि प्रदर्शनका क्रममा नेविसंघका तिवारी, शेष हजारा र मनोज साह पक्राउ परेका थिए । उनीहरुलाई सोही दिन राति साढे ११ बजे नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेलको जिम्मामा छाडिएको थियो । तर प्रहरीले पुनः तिवारीलाई साउन २८ गते घरबाटै अपहरण शैलीमा गिरफ्तार गरिएको दावी तिवारी पक्षको आरोप छ ।

पटक पटक गिरफ्तार गरेर दुःख दिएको, कसैलाई भेट गर्न नदिएको, कहिले साइबर क्राइम त कहिले सामाजिक शान्ति व्यवस्था भंग गरेको भनी आरोप लगाउने गरेको गुनासो उनीहरुको छ ।

उपचार नपाएर अनाहकमा ६ जनाले मृत्युवरण गरेको अवस्थामा त्यस्ता अस्पताललाई कारबाही गनुपर्ने र स्वास्थ्य सेवामा सुधार गर्नुपर्ने माग राखेर सडक आन्दोलन गर्दा पक्राउ गरेको नेविसंघको आरोप छ ।

तिवारीलाई रिहा नगरे आन्दोलन गर्ने उनका समर्थकहरुले चेतावनी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले भने सामाजिक सञ्जाल फेसबुकमा विषम परिस्थितिमा अफवाह फैलाउने किसिमको सन्देश पोष्ट गरेकोले पक्राउ गरिएको जानकारी दिए ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित चिकित्सकले राजिनामा दिएको समाचार सार्वजनिक भएपछि उनले उक्त पोस्टमा मेडिकल सुपरिटेन्डेन्टसहितका चिकित्सकमाथि आपत्तिजनक टिप्पणी गरेको र अरुलाई उक्साउने काम गरेको प्रहरीको भनाइ छ ।

‘त्यसैले पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न म्याद थपका लागि अदालत पठाएका छौं’ डीएसपी  कुँवरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment