Comments Add Comment

ओली-प्रचण्डवीच चारघण्टा छलफल : महाधिवेशन आयोजक समिति बनाउने ओली पक्षको प्रस्ताव

फाइल तस्वीर

२९ साउन, काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विहीबार करिब चारघण्टाको छलफल सकारात्मक निष्कर्ष नजिक पुगेको नेताहरुले दाबी गरेका छन् ।

दुई अध्यक्षबीच एक्ला एक्लै छलफलमा के कुरा भयो भन्ने जानकारी भने नदिइएको महासचिव विष्णु पौडेलले बताए ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा ९ दिनपछि दुई अध्यक्षबीच सम्वाद भएको हो । दुई अध्यक्षबीचको छलफलमा महासचिव बिष्णु पौडेल र नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्मा पनि सहभागी भएको बताइएको छ । तर, पौडेलले भने दुई अध्यक्षबीच एक्लाएक्लै छलफल भएको बताए ।

बालुवाटार स्रोतका अनुसार एक्लाएक्लै र सामुहिक छलफलमा पार्टीमा उत्पन्न गतिरोध अन्त्य गर्ने उपाय खोजिएको छ । त्यसमा विभिन्न विकल्पहरु प्रस्तुत भए पनि दुई अध्यक्षबीचको एक्ला एक्लै कुराकानी परिणाममा नआउन्जेल सबै विकल्प अनुमानका लागिमात्र काम लाग्ने एक नेताले बताए ।

असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि र ओलीले बैठकलाई पटक-पटक बेवास्ता गरेपछि चर्किएको सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन दुई अध्यक्षवीच पुनःवार्ता गराउन नेताहरुले दौडधूप गरेका थिए ।

यसबीचमा ओली र प्रचण्डबीच झलनाथ खनाल तथा सुवास नेम्वाङलाई समेत राखेर छलफल भएको थियो । सहमतिका विभिन्न विकल्पहरु आए पनि दुई अध्यक्षले केही दिनभित्रै सबैलाई मान्य हुने गरी निकास निकाल्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

महाधिवेशन आयोजक समिति बनाउने ओली पक्षको प्रस्ताव

नेकपाभित्र अहिलेको विवाद समाधान गर्न महाधिवेशन आयोजक समिति गठन गर्ने नयाँ प्रस्ताव ओली पक्षले अगाडि सारेको छ । हालको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको तर्फबाट प्रचण्डसमक्ष लगिएको स्रोतले जनाएको छ ।

बुधबार प्रचण्डलाई महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटेका थिए । महाधिवेशन आयोजक समितिको प्रस्ताव बालुवाटारबाटै आएको प्रचण्डनिकट नेताहरुले बताएका छन् । यद्यपि त्यसबारेमा दुई अध्यक्षबीचको पछिल्लो छलफल कस्तो भयो भन्ने खुलाइएको छैन ।

नेकपा स्रोतका अनुसार केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने र चैतमा महाधिवेशन गर्ने प्रयोजनबाहेक त्यसले अरु कुनै निर्णय गर्न नपाउने गरी आयोजक समितिको संयोजक प्रचण्डलाई बनाउन ओली लचिलो बनेका छन् ।

केपी ओलीले आफू पूरै कार्यकाल प्रधानमन्त्री हुने र महाधिवेशन आयोजक समितिले महाधिवेशन तयारीबाहेक अन्य कुनै निर्णय गर्न नपाउने वैधानिक व्यवस्था गरेपछि आफू पार्टीभित्रको बहुमतीय समीकरणबाट जोगिने उपायका रुपमा आयोजक समितिलाई लिएका हुन सक्छन् । यसरी आयोजक समिति बनाएर महाधिवेशनमा जाने एजेण्डा पनि ओलीकै हो ।

नेकपाको विधानमा महाधिवेशन आयोजक समिति गठन गर्ने प्रावधान छैन । त्यसका लागि दुई अध्यक्षबीच समझदारी भएर पार्टीका कमिटीमा छलफल गराई केन्द्रीय कमिटीमा लगेर विधान संशोधन गर्नुपर्ने हुन्छ ।

अर्कोतर्फ, गत केन्द्रीय कमिटीको बैठकले यसअघि नै चैतमा महाधिवेशन गर्ने गरी मिति तय गरिसकेको छ । सो बैठकले विधान संशोधन गर्ने वा महाधिवेशन आयोजक समिति बनाउने भनेको थिएन ।

प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पाँच दिनभित्रै नेकपाको विवाद टुंगो लाग्ने बताएकै भोलिपल्ट अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर चार घण्टा छलफल गरे । महासचिव बिष्णु पौडेल र नेताद्धय शंकर पोखरेल तथा जनार्दन शर्मा पनि त्यसबेला बालुवाटारमै भेला भएका थिए । तर, अधिकांश समय दुई अध्यक्षबीचमात्र कुराकानी भएको महासचिव पौडेलले बताए ।

यसपटक दुवै अध्यक्षबीच अन्तिम समझदारी नभई बाहिर कुनै कुरा नचुहाउने सहमति भएको नेकपा नेताहरु बताउँछन् । दुई अध्यक्षबीच हुने समझदारीमा अन्य बरिष्ठ नेताहरु पनि सहमत हुने गरी विकल्पमा छलफल भइरहेको बालुवाटार वार्तामा सहभागी एक नेताले बताए ।

महाधिवेशन आयोजक समिति गठन गरेर सबै विषय महाधिवेशनमै टुंग्याउने विकल्पमा पनि छलफल भइरहेको उनको भनाइ छ ।

तत्काल महाधिवेशन आयोजक समिति गठनका साथै बरिष्ठ नेताहरुको समझदारीमा मन्त्रिपरिषद पुनर्गठन, कतिपय प्रदेश सरकारको नेतृत्व हेरफेर र सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र गठन जस्ता विषय पनि छलफलमा छन् । दुई अध्यक्षबीच छलफल सकारात्मक रहेको र जे-जे विषय आएका भए पनि अध्यक्षद्धयकै समझदारीपछि टुंगिने सुवास नेम्वाङले बताए ।

ओली र प्रचण्डबीच शुक्रवार पनि छलफल हुने भएको छ । यसपटकको छलफलले अहिलेको गतिरोधलाई अन्त्य गर्ने विश्वास नेताहरुले व्यक्त गरेका छन् । दुई अध्यक्षबीच समझदारीपछि स्थायी कमिटी बैठक बसेर त्यसलाई अनुमोदन गरिने र केन्द्रीय कमिटीलाई आयोजक समितिमा रुपान्तरण हुने नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment