Comments Add Comment

भरतपुर अस्पताल आएका १३ जनामा कोरोना, नर्स पनि संक्रमित भएपछि आकस्मिक कक्ष सिल

३० साउन, चितवन । चितवनको भरतपुर अस्पतालमा स्वाब संकलन गरिएका १३ जना र अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ ।

विहीबार भरतपुर कोभिड ल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १६ जनामध्ये १३ जना भरतपुर अस्पतालमा उपचारका लागि आएकाहरु भएको पाइएको छ । यससँगै कोरोना समुदायमा पहिलो तहमा पुगेको निष्कर्ष स्वास्थ्यकर्मीहरुले निकालेका छन् । अस्पतालमा उपचारका लागि आएका केही बिरामी स्वाब दिएर घर फर्किएका थिए ।

संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिको वडा नं. २, ४ र ७ का ८ जना पुरुष छन् । यस्तै राप्ती नगरपालिका वडा नं. ९ की एक महिला, खैरहनी नगरपालिका ८ का एक पुरुष र रत्ननगर नगरपालिका १३ का एक पुरुष पनि संक्रमित छन् ।

भरतपुर अस्पतालमा उपचारका लागि आएका मकवानपुरकी २२ वर्षकी एक महिला, नवलपुरका २८ वर्षका एक पुरुष र सर्लाहीको ४५ वर्षका एक पुरुषमा पनि संक्रमण देखिएको छ । चार जना संक्रमित अस्पतालमा नै भर्ना भएर बसेका बिरामी छन् । बाँकी भने अस्पतालमा उपचार गर्न वा स्वाब दिनका लागि आएका थिए ।

भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीतिवारीले कोरोना समुदायमा मास ट्रान्समिसन हुन नदिन एक साता सबै कुरा बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई प्रस्ताव गरिएको बताए

यस्तै भरतपुर अस्पतालको आकस्मिक कक्षमा नै कार्यरत एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरकी २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।

विहीबार राति आठ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अस्पताल सिल गरिएको मेसु डा. तिवारीले जानकारी दिए । आकस्मिक कक्षका बिरामीलाई त्यहीँ नै राखिएको छ । थप बिरामी ल्याउन दिइएको छैन ।

अस्पतालका मेसु डा. तिवारीले शुक्रबार नै आकस्मिक कक्षलाई निर्मलीकरण गरेर सञ्चालनको तयारी गर्ने बताए । संक्रमित नर्ससँग सम्पर्कमा आएका सबै जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

आकस्मिक कक्षमा झण्डै २५ जना स्वास्थ्यकर्मीले काम गरिरहेका छन् ।

यस्तै चितवनकै पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका लागि आएकी तनहुँकी २२ वर्षकी एक महिलालाई पनि कोरोना संक्रमण देखिएको छ ।

प्रशासनलाई एक साता लकडाउन गर्न प्रस्ताव

कोरोना समुदायस्तरमा समेत पुगेका लक्षणहरु प्रशस्त देखिन थालेकाले यसलाई नियन्त्रणमा लिन एक साता लकडाउन गर्न स्वास्थ्य कार्यालयका अधिकारी तथा भरतपुर अस्पतालका मेसुले प्रस्ताव गरेका छन् ।

भरतपुर अस्पतालका मेसु डा. तिवारीले कोरोना समुदायमा मास ट्रान्समिसन हुन नदिन एक साता सबै कुरा बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई प्रस्ताव गरिएको बताए । ‘अहिले संक्रमितका परिवारका सदस्यलाई पनि जाँचौं, केही समुदाय स्तरमा पनि नमूना संकलन गरेर हेरौं, एक सातामा यसको एउटा चित्र देखिन्छ,’ मेसु डा. तिवारीले भने, ‘कतिपयलाई लक्षणविहीन संक्रमण भएको तर थाहा नभएपछि एक साताभन्दा बढी समय घरमा बस्दा उसले अन्यत्र फैलाउँदैन, स्वयंमा पनि भाइरस कमजोर बन्छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अस्पतालहरु जोखिमको पहिलो केन्द्र भएकोमा विषेश सावधानी अपनाउन भनिएको बताए । बिरामी नभई वा सामान्य स्वास्थ्य सम्बन्धी समस्या पनि अस्पताल जाने काम रोकिनुपर्ने प्रजिअ भट्टराईको भनाइ छ ।

निषेधाज्ञा लगाउनुपर्ने परिस्थिति तयार अझै भैनसकेको र परिस्थिति जटिल बन्ने देखिएमा प्रशासनले निषेधाज्ञा जारी गर्ने प्रजिअ भट्टराईले बताए । जिल्लाभित्र चल्ने छोटो तथा लामो दूरीका सवारी साधन रोक्ने, होटल तथा रेष्टुरेन्टमा कडाइ गर्ने, आवातजावत रोक्ने, बैंक तथा वित्तीय संस्थाहरुमा विषेश सावधानी अपनाउने लगायतका कामलाई यथावत राखिएको प्रजिअ भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment