Comments Add Comment

नागढुङ्गामा ‘कडा’ चेकिङ : ‘ओलीकै मान्छेलाई पनि छोडिन्न’

शुक्रबार करिब १०० सवारी साधन फर्काइए

३० साउन, काठमाडौं । सरकारले काठमाडौं आउने-जाने सवारी पास नदिने निर्णय गरेसँगै राजधानी छिर्ने मुख्य नाका नागढुङ्गामा शुक्रबार सवारीको खासै चाप देखिएन । तथापि, प्रहरी भने बाक्लै खटिएको देखियो ।

शुक्रबार दिउँसो थानकोटमा एउटा कार सरर आयो । ड्युटीमा रहेका प्रहरीले सोधे, ‘के होला हजुर ?’ कार चालकले आफू कुनै कम्पनीमा काम गर्ने भन्दै परिचय दिए । र, उनले साउन २९ गतेका लागि जिल्ला प्रशासन कार्यालयले दिएको पास देखाए ।

पास हेर्दै प्रहरीले गाडी ‘साइड’ लगाउन आग्रह गरे ।

कारवालाले पावर देखाउन खोजे, ‘म प्रधानमन्त्रीको सचिवालयमा कुरा गरेर आएको हुँ ।’

प्रहरीले झन् कडा जवाफ दिए, ‘ को ? प्रधानमन्त्री केपी ओली ? हामी पनि उहाँकै आदेश मानिरहेका छौं । मैले छोड्न मिल्दैन । अहिले इन्सपेक्टर सा’ब आएपछि कुरा गर्नुहोला, गाडी साइड लगाउनुस् ।’

यात्रु र प्रहरीबीचको यो कुराकानी शुक्रबार दिउँसो ३ बजेतिरको हो ।

कोरोना भाइरस (कोभिड-१९) को जोखिम बढेपछि काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्णरुपमा बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासनले उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरेको हो ।

यसको असर शुक्रबारकै लागि पास लिएकाहरूलाई पनि पर्‍यो ।

काठमाडौं छिर्ने पास हुँदा पनि पाइँँदैन भन्ने थाहा हुँदाहुँदै समस्या देखाएर छिर्न पाइएला कि भनेर आएकाहरु शुक्रबार नागढुङ्गामा रोकिए ।

भैरहवाबाट काठमाडौं आएका भरतराज गिरीलाई पनि त्यस्तै लागेछ । ‘समस्या दर्शाएर छिर्न पाइन्छ भन्ने नै त होइन । तर, मेरो बसोबास काठमाडौं नै हो । जागिर यहीँ छ । बुबाको मृत्यु भएका कारण किरिया गर्न घर (भैरहवा) गएको थिएँ । १३ दिनको काम सकेर परिवार लिएर फर्किएको हुँ’ गिरीले अनलाइनखबरसँग भने ।

भरतराजले ३० गतेका लागि पास लिएका रहेछन् । २९ गतेको निर्णयले कुनै पनि पास काम नलाग्ने भएपछि नाकामा उनलाई समस्या पर्‍यो ।

शुक्रबार थानकोटमा गिरीजस्तै अरु यात्रुहरु पनि प्रहरीसँग काठमाडौं छिर्नका लागि अनुनय गरिरहेका थिए । उनीहरु ‘लौन एकपटक पठाइदिनुपर्यो’ भन्दै थिए । कोही कतिबेर पर्खिने हो ? भनेर प्रहरीलाई सोध्दै थिए ।

कोही पोखराबाट आएका, कोही स्याङ्जाबाट आएका त कोही धादिङकै कतिपय ठाउँबाट आएकाहरू थानकोटमा रोकिएका थिए ।

बिरामी लिएर आएका ट्याक्सीलाई समेत प्रहरीले कागजपत्र हेरेर मात्र छोडिरहेको थियो । एम्बुलेन्स पनि दर्ता भएर मात्र जान्थे । ढुवानीका सवारीहरु चेकजाँच गरेर प्रहरीले छाडिरहेको थियो ।

त्यस्तैमा एउटा ‘प्रेस’ लेखेको गाडी आइपुग्यो ।

प्रहरीले रोक्दा उनले सूचना विभागले जारी गरेको प्रेस पास देखाए । तैपनि प्रहरीले रोक्यो । इन्सपेक्टरलाई सोध्नुपर्छ भनेर गाडी साइड लगाउन भनियो ।

ती प्रेस पास देखाउनेले लकडाउनमा समेत आफूहरुलाई नरोकिएको भन्दै किन रोकेको भनेर कडा स्वरमा सोधे । प्रहरीले ‘जिल्ला बाहिरबाट आउनेलाई छाड्न माथिको आदेश चाहिन्छ, एकछिन बस्नुस्’ भनेर गाडी साइड लगाए ।

प्रहरीले भने, ‘सक्कली पत्रकार हो कि होइन, अलि-अलि प्रश्न त गर्न पर्‍यो नि ।’

कहाँबाट आएको, कहाँ जाने यस्तै कुरा गरेर प्रेस लेखेको गाडीलाई उनीहरुले छाडिदिए ।

ड्युटीमा खटिएका प्रहरीहरु भन्दै थिए, ‘कडा हुने निर्देशन छ ।’

उनीहरुको भनाई व्यवहारमा पनि देखिन्थ्यो ।

‘चेक गरेकोमा धन्यवाद, तर ढिला भयो’

काठमाडौंका गणेश तामाङलाई स्याङ्जा घर भएका साथीले ममी बितेको खबर सुनाए । साथीलाई घर पुर्‍याएर आउँछु भनेर उनी जिल्ला प्रशा सनबाट पास लिएर २९ गते साथीलाई घर पुर्‍याउन स्याङ्जा गए ।

उनी शुक्रबार काठमाडौं फर्किए । उनका अनुसार बाटोमा धेरै ठाउँमा चेक भयो र साथीकी ममी बिरामी भएर पुर्‍याउन गएको र त्यसका लागि लिएको पास देखाउँदा छोडिदिए । तर, नागढुङ्गामा उनलाई प्रहरीले रोक्यो ।

प्रहरीले रोकेकोमा उनले आफूलाई दुःख नलागेको बताए । ‘एकछिन बस्नुस् भनेका छन् । एक घण्टा जति भयो । भरेसम्म जान देलान्’ तामाङले दिउँसो ३ बजेको समयमा अनलाइनखबरसँग कुरा गर्दै भने ।

तामाङले आफूलाई रोकेकोमा प्रहरीलाई धन्यवाद दिए । ‘चेक गरेकोमा धन्यवाद, यसैगरी चेकजाँच सुरुदेखि नै गरेको भए अहिले यस्तो भयाभह स्थिति आउने नै थिएन । राम्रो भएको छ । तर, एकदमै ढिला भयो’ उनले भने ।

गृहमन्त्रालयले एकैचोटि सूचना निकालेर पास बन्द गरेकोमा काठमाडौं घट्टेकुलो बस्ने शैलेन्द्र पोखरेललाई भने चित्त बुझेको रहेनछ । ‘दिउँसो ४ बजे सूचना निकालेर ५ बजेदेखि आवत-जावत बन्द गर्ने भन्ने पनि हुन्छ र ?’ पोखरेलले भने, ‘जनतालाई निश्चित समय दिएर यस्तो हुँदैछ है भन्ने जानकारी गराउनुपर्दथ्यो । त्यसो गरिएन र दुःख पाइयो ।’

पोखरेल पोखरा गएका रहेछन्, फर्कँदा नागढुङ्गामा रोकिए ।

झण्डै १०० सवारी फर्काइए

नागढुङ्गामा खटिएका प्रहरीका अनुसार शुक्रबार करिब १०० सवारी साधनहरू फर्काइएका छन् । साँझसम्म ७१ वटा जीप, २ बस र २५ वटा मोटरसाइकल उपत्यका छिर्न नदिई फर्काएको प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए ।

केहीलाई होल्डमा राखेर, थप बुझेर मात्रै छिर्न दिने गरिएको उनले बताए । अत्यावश्यक सवारी, अस्पतालका कर्मचारी वा बिरामीहरु रहेछन भने छाडेका छौं, उनले भने, ‘होइन भने जताबाट आएका हुन्, उतै फर्काएका छौं ।’

प्रहरी निरीक्षक थापाका अनुसार काठमाडौँको जनजीवनलाई सहज बनाउने अत्यावश्यक सामग्री बोकेका सावारी साधन र एम्बुलेन्सहरुलाई उपत्यका प्रवेश गर्न दिइएको छ । काठमाडौंमा आउने खाद्य तथा तरकारी छिमेकी जिल्ला धादिङ, चितवनलगायत ठाउँबाट आउने गरेका छन् । त्यस्ता सवारी साधनको नम्बर र सवारीका चालकको सम्पर्क नम्बरसहितको विवरण लिएर सवारीलाई भित्र आउन दिने गरिएको छ ।

काठमाडौं छिर्न नपाइने भन्दा पनि विभिन्न बहाना र पहुँचका आधारमा छिर्न खोज्ने प्रवृत्ति रहेको प्रहरी अधिकारीहरु बताउँछन् । त्यस्ता पहुँचका आधारमा छिर्न खोज्नेलाई पनि फर्काइएको प्रहरीले जनाएको छ ।

पैदल छिर्नेहरु पनि निगानीमा !

नाकासम्म बस लिएर आउने र झरेर पैदलै नाका पार गर्ने प्रवृत्ति विगतमा देखिएको थियो । यसपटक त्यसलाई समेत ख्याल गरिएको बताउँछन् प्रहरी निरीक्षक थापा ।
‘विगतमा यस्तो देखिएको थियो, अहिले चेक गर्ने ठाउँहरुमा थप कडाई गर्न भनिएको छ । त्यसकारण बसमा आएर, ओर्लिएर झोला बोकेर छिरेको देखिएको छैन’ उनले भने ।

तथापि, बसमा आएको नभई केही नजिकैबाट उपचारका लागि वा अन्य कामका लागि नाका भएर आउनेलाई नरोकिएको उनको भनाइ छ ।

काठमाडौं उपत्यकामा कोरोनाको जोखिम पैदल यात्री, खासगरी बसमा आएर झरेर नाका पार गर्नेहरुबाट बढेको टिप्पणी हुने गरेका छन् । यसलाई ख्याल गरेर बस नै आउन नदिने र कसैले त्यसो गर्छ कि भनेर निगरानीमा राखिएको थापा बताउँछन् ।

शुक्रबार दिउँसो नागढुङ्गामा नाकामा पैदल आउजाउ गर्नेहरु खासै देखिएनन् ।

तस्वीर र भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment