Comments Add Comment

आइसोलेसन अनुभव : आत्तिनुपर्दैन, भाइरसलाई जितिन्छ

साउन १४ गते बेलुकी ८ बजे खाना खाँदै थिए । कुनै नचिनेको नम्बरबाट फोन आयो र भनियो । तपाईको कोभिड-१९ पोजेटिभ आएको छ । तपाई आधा घण्टाभित्र तयार हुनु होला कोभिड हस्पिटल लान एम्बुलेन्स घरमा नै लिन आउँछ । मैले १२ गते कोभिड-१९ परिक्षण गर्न दिएको थिए । मैले भेटेका एकजना चिकित्सकलाई कोरोना भएपछि शंका लागेर परीक्षण गराए । परिणाम कोभिड पोजेटिभ आयो ।

त्यो फोनसँगै म पसिनै पसिना भए । म अत्तालिए । टाउको भारी जस्तो भयो । चारैतिर अन्धकार छायो । घरको छत झरेर थिचेजस्तो भयो । आमा छाती पिटीपिटी रुन थाल्नुभयो । श्रीमती र छोरी डाको छोडेर रुन थाले । मलाई पनि आँशु आउन नखोजेको हैन ।

तर। म आफैं कमजोर भए भने घरमा अरुलाई नकारात्मक असर पर्छ भन्ने सोचे । मनभरि निराशा, डर र त्रास भए पनि मनोबल उच्च राखे । केही सर-सामान झोलामा हाल्दै थिए । एम्बुलेन्स घर अगाडि नै आइसकेछ । जे भए पनि कोभिड आइसोलेसन हस्पिटलमा जानु नै थियो । त्यसपछि रुँदै गरेका आमा, श्रीमती र छोरीलाई सम्झाई बुझाई गर्दै झोला बोकेर भारी मनका साथ म एम्बुलेन्स चढंे र केहीबेरमा बिराटनगरबाट कोभिड आइसोलेसन हस्पिटल गोठगाँउ पुगे ।

त्यो रात मेरो जीवनको अलग्लै क्षण थियो । मलाई त कोरोना भयो म यसलाई जित्छु भन्ने विश्वास थियो । तर चिन्ता घरमा क्यान्सर लागेकी आमा र सानी छोरीको थियो । रात भरी मनमा अनेक कुरा आए । चीनको बुहान देखी म सम्मको कोरोनाको यात्रा पनि सम्झिए । कोभिड अस्पतालमा इन्टरनेट भएकाले श्रीमतिलाई म्यासेन्जरमा फोन गरे । फोन त उठाइन् तर बोल्न सकिनन् भक्कानु छोडेर रोइन मात्र । छोरीलाई देखाउ भने छोरी निदाई सकेकी रहेछिन् । छोरी र श्रीमतीको मुख हेर्दे दरो मन पारी फोन काटे ।

आफुलाई एक्लो महसुस गरे । एउटा कोठा, भवन वरिपरि नेपाली सेनाको पहरा, म जस्तै अन्य संक्रमित पनि, अर्को दुनियामा भएको जस्तो भान भयो मलाई । तैपनि हिम्मतमा अलिकति पनि कमी आउन दिइनँ । म विचलित भइनँ । रातभर घरपरिवारको चिन्ताले आगोले झै मन पोलिरह्यो । राम्रोसँग निदाउन सकिनँ ।

चिन्ता नलिउ भन्दा पनि मनमा अनेक प्रकारका कुराहरु आइहाल्थे । तर, रोगसँग लड्न आत्मबल पनि चाहिन्छ भन्ने मैले बुझेको थिएँ । र सबै कुरा बिर्सिएर भए पनि आत्मबल र आत्मविश्वासमा कमी हुन दिइनँ । आफूले आफैंलाई सम्हालें । दह्रो बनाएँ ।

म अलि बोलैल्या स्वभावको भएकाले भोलिपल्टदेखि विस्तारै एडजस्ट हुँदै गएँ । अन्य संक्रमितहरुसँग कुराकानी गर्न थालें, घुलमिल हुन थालें । बिहान बेलुका शारीरिक व्यायाम गर्न थालें । तर, मनमा श्रीमति, आमा, छोरी र बुबालाई पनि संक्रमण भयो भने के गर्ने भनेर एक प्रकारको डर भने थियो । परिवारमा कोरोना संक्रमणको जोखिम पनि उच्च थियो ।

तीन दिनपछि घरका अन्य सदस्यहरुमा कोरोना संक्रमण नभएको सूचनाले मेरो चिन्ता र तनाव आधा मात्र भयो । मनको भारी बिसाएझैं हलुंगो भयो । मैले आइसोलेसनमा कुनै पनि प्रकारको शारीरिक अस्वस्थ्यता भोग्न परेन । मलाई कुनै पनि प्रकारको कोरोनाको लक्षण देखिएन । त्यसैले, कोरोना लाग्दा कस्तो हुन्छ भनेर शारीरिक अस्वस्थ्यताको अनुभूति गरिनँ । म शारीरिकरुपमा आवरणमा ठीक भए पनि मलाई भित्र मनमा म त कोरोना संक्रमित पो हो त भन्ने कुराले बेला-बेला भने झस्काउँथ्यो । तर, म सकेसम्म छिटो कोरोनालाई जित्न चाहन्थें । ठीक हुन चाहन्थें । हस्पिटलबाट बिदा लिन चाहन्थें ।

आइसोलेसनमा सबैका आ-आफ्ना पीडा थिए । अधिकांशका अनुहार मलिन देखिन्थे । कोही घर परिवारसँग फोनमा रोइरहेका हुन्थे । मैले त्यहाँ कमजोर आत्मबल भएका घेरैलाई सम्झाई बुझाई पनि गरंे । जीवन दर्शन बताएँ । जुन कुराले उनीहरु खुसी भए ।

आशावादी भएर जीउनुपर्छ र भविष्यका लागि बाँच्नुपर्छ भन्ने सन्देश प्रवाह गरें । मानसिक कमजोरीमा रहेका संक्रमितलाई एक प्रकारले मैले माया, प्रेम, स्नेह, हौसला र प्रेरणा प्रदान गरें । जुन कार्यले मलाई आफूलाई पनि मानसिकरुपमा स्वस्थ्य रहन सघाउ पुर्‍यायो ।

बाहिरबाट हेर्दा आइसोलेसनमा बस्न सजिलो देखिन्छ । तर, यथार्थमा गाह्रो छ । यद्यपि मैले प्रदेश नं. १ कै सुविधासम्पन्न आइसोलनमा बस्ने अवसर पाएकाले भौतिक समस्या कमै दुःख सामना गर्नुपर्‍यो ।

मेरो भोगाइमा आइसोलेसनमा भौतिक र शारीरिक समस्याभन्दा मानसिक समस्याले मानिसलाई धेरैभन्दा धेरै पिरल्दोरहेछ । मानिसको टाउको नै उसको निर्देशक भएकाले मानसिक तनाव, डिप्रेसन, तनाव, चिन्ता रोग, अनिन्द्रा आदि भोग्नुपर्ने रहेछ । यो भोगाइको डिग्री भने व्यक्तिपिच्छे फरक हुने रहेछ ।

म विस्तारै मानसिकरुपमा सबल हुँदै गएँ । मैले कोरोनासँग लडेर जित्नुपर्छ भन्ने दृढ सकल्प लिएँ । तर, धेरै संक्रमितहरु आत्मबल र हौसलाकोे कमीमा आत्तिने, तर्सिने, बर्बराउने, चिच्याउने गरेकोसम्म मैले देखें ।

सरकारले कोरोनाको बारेमा नागरिकलाई सचेत गराउने बहानामा मानिसमा भ्रम  र त्रास उत्पन्न भएको रहेछ । कोरोनालाई बाहिर जति हाउगुजी बनाइएको छ, त्यति डराउनुपर्ने रोग होइनरहेछ । कोरोनाले मरेभन्दा बढी मानिस त सामान्य रुघाखोकीले मर्छन् । यो त सामान्य फ्लु मात्र रहेछ भन्ने महसुस गरें ।

बरु कोरोना शक्तिशाली देशको कर्पोरेट बिजनेस, राजनैतिक दाउपेज र अन्य सत्ता सञ्चालकका स्वार्थसँग जोडिएको महसुस गरें । कोरोनाबाट सृजित आतंक गलत सूचनाका कारण हो भन्ने पनि अनुभूति गरें ।

सत्य पत्ता नलागुञ्जेल सबै मानिस भ्रममा नै पर्दा रहेछन् । कोरोनाको यथार्थ र सत्य टाढा हुँदा मानिसले दुःख भोग्नु परेको रहेछ । कोरोनाको औषधी छैन भन्ने मनोविज्ञानले संक्रमितलाई पिरोलेको देखें ।

कोरोनाले स्वस्थ्य र उमेरदारी मानिसलाई रुधाखोकी लागे जति पनि असर र प्रभाव पर्दैनरहेछ । कोरोनासँग बुढाबुढी, दीर्घरोगी र केटाकेटीहरु सतर्क हुनुपर्ने अरु डराउन नपर्ने रहेछ भन्ने महसुस गरें ।

सरकारले आइसोलेसन त बनायो । तर, देश अनुसारकै । गर्न सक्ने र सम्भव हुने कुरामा पनि सरकार चुकेको छ । सरकार थप जिम्मेवार र जवाफदेही बन्न जरुरी छ ।

मैले आइसोलेसनमा प्रमुख चारवटा समस्या देखें

१) स्वास्थ्य समस्या, २) भौतिक समस्या ३) मानसिक समस्या र ४) संक्रमण निको भएपछि समाजमा हुने पुनर्स्थापकीय समस्या ।

मानिस आइसोलेनमा एक दिन खान पाएन भने मर्दैन । तर, एकछिन टाउकोले काम गरेन भने मर्न सक्छ । संक्रमितलाई हुने स्वास्थ्य र भौतिक समस्यालाई केही हदसम्म सरकारले सम्बोधन गरेको छ । तर, मनोचिकित्सक, मनोसामाजिक र पुनस्र्थापकीय परामर्शलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । त्यसको उचित प्रवन्ध हुन नसक्दा दुर्घटनाको जोखिम बढेको छ ।

यो दुर्घटनाबाट बच्न सरकारले मजस्ता संक्रमितलाई हुने साइकोसिस, मेनिया र एडजस्टमेन्ट डिसअर्डर आदिजस्ता समस्याका बारेमा बुझाउन र काउन्सिलिङ गर्न सके संक्रमितलाई सजिलो हुन्थ्यो भने कतिपयकोे अनाहकमा ईहलिला समाप्त हुने थिएन । यसमा सरकारले हटलाइन सेवा वा अन्य केही साधनमार्फत् मनोचिकित्कद्धारा काउन्सिलिङ गर्नु पर्ने जरुरी देखे मैले ।

साउन २१ गते बिहीबार पुनः गरिएको मेरो रिर्पोट नेगेटिभ आयो । यो क्षण मेरा हर्षका आँशु बगे । कतिखेर घर पुगेर परिवारसँग भेट गरौं भन्ने भयो ।

मैले कोरोना संक्रमणपश्चात जुन आत्मबल, दृढविश्वास र सकारात्मक सोच लिएँ । त्यसैले नै मलाई कोरोनाबाट मुक्त गरायो । मैले कोरोनालाई जितें । मैले आत्मवल, धैर्यता र विश्वास गुमाइनँ र कोरोनालाई हराएरै छाडे ।

अन्तमा,

आम मानिसलाई मेरो अनुरोध छ । समाजमा कोरोना निको नहुने भ्रम छ, तर कोरोना निको हुन्छ । सकेसम्म कोरोना लाग्नबाट बचौं । यदि कोरोना लागि हालेमा सामान्यरुपमा लिनुहोस् । कोरोना लाग्छ वा लाग्यो भनेर नआत्तिनुहोस् । आत्मबल कमजोर नबनाउनुहोस् । धैर्यवान बन्नुहोस् । कोरोना अरु सामान्य रोग जस्तै भएकाले यसलाई जित्न सकिन्छ भन्ने विश्वास गर्नुहोस् । अरुबेलाजस्तै नियमित दिनचर्या व्यतीत गर्नुहोस् । आफूलाई जे गर्दा मनमा आनन्द हुन्छ त्यही गर्नुहोस् । बारम्बार कोरोनाको बारेमा सोचिरहने, संक्रमण हुन्छ कि भन्ने लाग्ने र संक्रमण भयो भने उपचार छैन मरिन्छ होला भनेर कहिलै नसोच्नुहोस् ।

रोग जोकोहीलाई पनि लाग्न सक्छ । संक्रमित र उसको परिवारलाई छिः छिः दुरदुर नगरी प्रेम, स्नेह, माया, ममता, हिम्मत, आँट र हौसला प्रदान गरौं । हेयको दृष्टिले हेरी अमानवीय व्यवहार नगरौं । २१ औं शताब्दीको शिक्षित, सभ्य र चेतनशील समाजको परिचय दिउँ । निकृष्ट र अमानवीय व्यवहार नगरौं । समाजमा सवै जिम्मेवार बनौं । संक्रमितको मनोवल उच्च राख्न सहयोग गरौं ।

संक्रमितले पनि हरेक पल सकारात्मक सोच शरीरमा सञ्चार गरी नकारात्मक कुराहरुबाट टाढा बसौं । संक्रमित स्वयं रोगसँग लड्नुपर्ने भएकाले हरेक प्रकारले आफूले आफैंलाई जित्नुपर्छ । कहिलै आफूसँग हार्नु हुँदैन । त्यसैले सकारात्मक विचार, उच्च आत्मबल, हौसला र प्रेरणा नै कोरोनालाई जित्ने औषधी हो भन्ने बुझ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment