Comments Add Comment

वीरगञ्जमा २९ जना संक्रमण मुक्त, मिर्गौला रोगीले पनि जिते कोरोना

३२ साउन, वीरगञ्ज । वीरगञ्जमा थप २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयर हस्पीटलमा उपचाररत २९ जना कोरोनामुक्त भई घर फर्किएका हुन् । संक्रमणमुक्त हुनेमा ५ जना महिला छन् ।

पोखरिया र वीरगञ्ज श्रीपुर घर भएका मिर्गौला रोगी दुई जना महिलाले पनि कोरोनालाई जितेका छन् । उनीहरुलाई हेल्थ केयर अस्पतालमा तीन पटकसम्म डायलायसिस गरिएको थियो ।

संक्रमणमुक्त हुनेहरुमा पर्साका २५ जना तथा दैलेख, धादिङ, बाँके र झापा घर भई वीरगञ्जमै कार्यरत ४ जना कोरोना संक्रमणमुक्त भएको अस्पतालले जनाएको छ ।

पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको र संक्रमणमुक्त भए पनि १४ दिन होम क्वारेन्टिन बस्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

संक्रमणमुक्त भएकामध्ये ४ जनालाई रेमडिसिभर औषधि चलाएर निको पारिएको अस्पताल स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, मधेस विभाग समन्वय प्रमुख एवं पूर्वमन्त्री वीरगञ्ज–११ श्रीपुर बस्ने ५६ वर्षीय अजय कुमार चौरसिया, वीरगञ्ज महानगरपालिका–४ का वडा अध्यक्ष ५६ वर्षीय जगत साह कानु, झापा विर्तामोड घर भई वीरगञ्ज कारागार कार्यालय प्रमुख श्रवण कुमार पोखरेल लगायत छन् ।

वीरगञ्ज–१० का ४८ वर्षीय पुरुष, वीरगञ्ज–१४ पिप्रा चिनी मिलका ८ वर्षीया बालिका, वीरगञ्ज– १० घडिअर्वाका ३५ वर्षीया महिला, वीरगञ्ज– १० पानीट्यांकीका ४७ वर्षीया महिला, वीरगञ्ज–४ विर्ताका ४० वर्षीय पुरुष, वीरगञ्ज–१३ का ५५ र ४५ वर्षीय पुरुष, पर्सा भिखमपुरका ३६ वर्षीय पुरुष, वीरगञ्ज–१४ का २४, ३, ४४ र २९ वर्षीय पुरुष, पोखरीया–७ का ३५ वर्षीय पुरुष, वीरगञ्ज–२ का ३२ वर्षीय, वीरगञ्ज–१३ राधेमाईका २४ वर्षीया महिलाले कोरोना जितेका हुन् ।

त्यस्तै नेपालगञ्ज घर भएका ३५ वर्षीय पुरुष, धादिङ ज्वालामुखी–४ घर भएका ३३ वर्षीय पुरुष, दैलेखका ३३ वर्षीय पुरुषले पनि कोरोना जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment