Comments Add Comment

तथ्यांक विश्लेषण : दीर्घरोग नभएका युवामा पनि कोरोनाको जोखिम उत्तिकै

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक सय नाघिसकेको छ । शुक्रबार नै कोरोना संक्रमितको मृत्युले एक सयको आँकडा छोएको हो ।

जेठ ३ गते नेपालमा कोरोना संक्रमितको पहिलो मृत्यु भएको ३ महिना ननाघ्दै एक सय कटेको कोरोनाको मृत्युदर विश्लेषण गर्दा दीर्घ रोग पहिचान नभएका युवा समेत यसको जोखिममा देखिएका छन् ।

सामान्यतया कोरोना भाइरस वृद्ध र दीर्घरोगीका लागि बढी घातक हुने भनिएको भए पनि एक सय जनासम्मको तथ्यांकलाई विश्लेषण गर्दा भाइरसका कारण भएको युवाको मृत्युको आकडाले युवापुस्ता समेत यसको जोखिममा रहेको देखाएको छ ।

शनिबार बेलुकासम्मको कुल मृत्युदरको तथ्यांकलाई विश्लेषण गर्दा २० वर्षदेखि ४५ वर्षका मृत्यु हुने व्यक्तिहरूकोे संख्या २९ पुगेको छ ।

जेठ ३ गते नेपालमा कोरोनाबाट पहिलो मृत्यु २९ वर्षीया महिलाको भएको थियो । उनी सुत्केरी थिइन् । दोस्रो मृत्यु २५ वर्षीय पुरुषको थियो । उनी भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए भने उनमा कुनै पनि दीर्घ रोग थिएन । कोरोनाकै कारण तेस्रो मृत्यु हुने व्यक्ति ४१ वर्षका पुरुष थिए । उनी भने दीर्घ रोगी थिए ।

२० वर्षदेखि ४५ वर्ष उमेरलाई युवावस्था मान्दा पनि नेपालमा पहिलो ३ मृत्यु युवाहरूको नै भएको तथ्यांकले देखाएको छ । यी तीनै जनालाई श्वासप्रश्वासमा समस्या आएको थियो ।

असार १५ गते स्टार अस्पतालमा मृत्यु भएका ३० वर्षीय युवक, नेपालगञ्ज मेडिकल कलेजमा असार ३ गते मृत्यु भएकी ४३ वर्षीया महिला, जेठ २३ गते मृत्यु भएका डोल्पा स्थायी घर भएर घरमै आइसोलेसनमा बसेका २० वर्षीय पुरुषहरूमा कुनै पनि दीर्घ रोग भएको यकिन जानकारी छैन । उनीहरू कोभिडकै कारणले ज्यान गुमाउन बाध्य भए ।

जेठ ३२ गते उपल्लो तम्घासको आइसोलेसनमा मृत्यु भएका ३६ वर्षीय युवक आन्द्राको क्यान्सरको उपचार गराइरहेका थिए, असार ९ गते प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएका ४५ वर्षीय पुरुष क्षयरोगका बिरामी थिए भने असार १६ गते बयलपाटा अस्पतालमा मृत्यु भएका ४५ वर्षीय पुरुष मधुमेहका बिरामी थिए ।

कोरोनाका कारण मृत्यु भएका कुल युवाहरूमध्ये २२ जनामा दीर्घ रोग रहेको जानकारी प्राप्त छैन । बाँकी ७ जना कुनै न कुनै दीर्घ रोगबाट पीडित रहेको पाइएको छ ।

दीर्घ रोगबाट पीडित युवाहरूमध्ये क्षयरोग, निमोनिया हुँदै क्यान्सरसम्मका बिरामी छन् । साउन २८ गते ह्याम्स अस्पतालमा मृत्यु भएका ३२ वर्षीय युवा क्षयरोग र निमोनियाका बिरामी थिए । उनलाई ज्वरो आएपछि परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो । उनको उपचारकै क्रममा निधन भएको हो ।

साउन २३ गते पाटन अस्पतालमा उपचारको क्रममा निधन भएकी ४१ वर्षीया महिलामा पाठेघरको क्यान्सर र निमोनियाको समस्या थियो । साउन २१ गते कोसी अस्पतालमा मृत्यु भएका ४५ वर्षीय पुरुष कलेजोका बिरामी थिए । २१ असारमा मृत्यु भएका बागलुङका २९ वर्षीय पुरुष मृगौला पीडित थिए ।

मृत्यु हुनेमध्ये दीर्घ रोगीको हिस्सा आधामात्रै

कोरोनाका कारण मृत्यु भएकाको आधा हिस्सा मात्रै दीर्घ रोगीको छ । ती दीर्घ रोगीमध्येपनि मधुमेह, उच्चरक्तचाप जस्ता रोग धेरैलाई छ र यस्तो रोगलाग्नेहरू अधिकांश युवावस्था पार गरिसकेकाहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment