Comments Add Comment

रुसले थाल्यो कोरोनाको खोप उत्पादन, प्रत्येक महिना ५० लाख डोज उत्पादन गर्ने लक्ष्य

३२ साउन, काठमाडौं । रुसले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको ठूलो परिमाणको उत्पादन शुरु गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले शनिबार कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको उत्पादन सुरु भएको जानकारी दिएको छ । यद्यपि त्यसको केही समयपछि इन्टरफेक्स न्युज एजेन्सीले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै रुसले पहिलो ब्याचको खोप बनाइसकेको उल्लेख गरेको छ ।

केही वैज्ञानिकहरुले रुसले राष्ट्रिय प्रतिष्ठालाई महत्व दिँदै स्वास्थ्य र सुरक्षामा भने कम प्राथमिकता दिएको भन्दै रुसको खोपमा आशंका व्यक्त गर्दै आएका छन् । रुसले भने उनीहरुको आरोप निराधार रहेको प्रतिक्रिया दिएको छ ।

विश्वभर कोरोना भाइरसविरुद्धको खोप निर्माणको दौड चलिरहेको अवस्थामा रुसले पहिलो कोरोनाविरुद्धको खोप बनाएको घोषणा गरेको हो । रुसले यो खोप यस महिनाको अन्तिममा बजारमा आउने बताएको छ ।

यो खोपलाई रुसले तेस्रो चरणको क्लिनिकल परीक्षण शुरु गर्नुभन्दा पहिला नै अनुमति दिएको हो । यो चरणको परीक्षण कुनै पनि खोपको लागि निकै महत्वपूर्ण मानिन्छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो खोप सुरक्षित रहेको बताएका छन् । उनले यो खोप पूर्णरुपमा सुरक्षित रहेको र आफ्नी छोरीले पनि यो खोप लगाएको बताएका थिए ।

इन्टरफेक्सका अनुसार यो खोप निर्माण गर्ने कम्पनी गामालेया इन्स्िटच्युटले रुसले डिसेम्बर-जनवरीसम्म प्रतिमहिना ५० लाख डोज खोप उत्पादन गर्न सक्ने बताएको छ ।

अहिले अमेरिका, ब्राजिल र भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हुन् । अमेरिका र ब्राजिलले भने रुसले निर्माण गरेको खोप प्रयोग गर्न अस्वीकार गरिसकेका छन् ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment