+
+

चितवन मेडिकल कलेजलाई कोरोना परीक्षणको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३२ गते १४:०५

३२ साउन, चितवन । चितवन मेडिकल कलेज भरतपुरले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण अनुमति पाएको छ । कलेजले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंबाट पीसीआर परीक्षण गर्ने अनुमति साउन ३० गते प्राप्त गरेको जनाएको छ ।

‘निजी प्रयोगशालालाई कोभिड १९ को मोलिक्युलर परीक्षण गर्न अनुमति दिने सम्बन्धी निर्देशिका २०७७’ को व्यवस्था अनुरुप कलेजले प्रयोगशालाका लागि आवश्यक सबै मापदण्ड पुरा गरेपछि अनुमति प्राप्त गरेको कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । कलेजले ५ करोड ४० लाखको लगानीमा अत्याधुनिक प्रविधिसहित प्रयोगशाला तयार गरेको जनाएको छ ।

मेडिकल ल्याब्रोटरीका विभागीय प्रमुख डा. सञ्जय राय यादवको नेतृत्वमा ८ जना दक्ष प्राविधिकहरूको टोलीले तीन सिफ्टमा २४ सै घण्टा प्रयोगशाला सञ्चालन हुने कलेजले जनाएको छ । एक सिफ्टमा चार सय जनाको दरले दैनिक १२ सय जनासम्मको नमुना परीक्षण गर्न सक्ने क्षमता पीसीआर मेसिनको रहेको प्रशासकीय प्रमुख देवकोटाले बताए । नमुना स्वाब लिएको ६ घण्टाभित्र नै परीक्षण नतिजा आउने देवकोटाले बताए ।

नेपाल सरकारले तोकेको गाइडलाइन अनुसार स्वाब संकलन गरिने र ६ हजार ५० रुपैयाँ तिरेर परीक्षण गर्न पाउने कलेजले जनाएको छ । भरतपुरमा महानगरपालिका–५ कैलाशनगरमा कोभिड ल्यावका लागि जनशक्ति देखि अन्य व्यवस्थापन अलग्गै गरिएको छ ।

कोभिड प्रयोगशाला सञ्चालनमा ल्याएपछि चितवन र यस आसपासका जिल्लाका जनताको परीक्षणको दायरा अझैं फराकिलो बन्ने विश्वास लिइएको कलेजका प्रवन्ध निर्देशक एवम् अध्यक्ष डा. हरिशचन्द्र न्यौपानले बताए । कोभिड ल्याव सञ्चालनपछि अप्रेशन गर्नुपर्ने बिरामी, संक्रमित भएको हुनसक्ने आंशका भएका व्यक्ति र फ्रन्टलाइनमा बसेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधीहरुलाई सहज हुने प्रवन्ध निर्देशक डा. न्यौपानले बताए ।

उनले कोभिड १९ का विरुद्ध कोरोना संक्रमित बिरामीको उपचारदेखि परीक्षणसम्ममा कलेजले योगदान रहने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?