Comments Add Comment

म्यानचेष्टर युनाइटेडविरुद्ध पुनरागमन जितसहित सेभिया युरोपा लिगको फाइनलमा

१ भदौ, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमाथि पुनरागमन जितसहित स्पानिस क्लब सेभिया युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगितामा सेभिया फाइनल पुगेको यो छैटौं पटक हो ।

जर्मनीको कोलोनमा भएको पहिलो सेमिफाइनल खेलमा सेभियाले एक गोलले पछि परेको स्थिति उल्टाएर युनाइटेडलाई २-१ ले पराजित गरेको हो । खेलको नवौ मिनेटमै ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

युनाइटेडले यस सिजन पेनाल्टी पाएको यो २२ औं पटक हो । सेभियाको डिएगो कार्लोसले मार्कुस रासफोर्डलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो र त्यसमै फर्नान्डेजले गोल गरे ।

सुरुवाती अग्रता युनाइटेडले कायम राख्न सकेन । २६औं मिनेटमा सुसोले सेभियाका लागि बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सेभियाले एक गोल थप्दै खेल जितेको हो ।

७८औं मिनेटमा लुक डे जोङले गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाए र त्यही गोल नै सेभियालाई फाइनल पुर्‍याउन निर्णायक बन्यो ।

सेभिया छैटौं पटक युरोपा लिगको फाइनल पुग्दा युनाइटेड भने लगातार तेस्रो पटक युरोपियन प्रतियोगितामा स्पानिस क्लबबाट पराजित हुँदै बाहिरिएको छ ।

सेभियाले यसअघि पाँच फटक फाइनल पुग्दा पाँच पटक नै उपाधि जितेको थियो । सेभियाले २००६, २००७, २०१४, २०१५ र २०१६ मा युरोपा लिग जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment