Comments Add Comment

जापानको अर्थतन्त्र इतिहासको सबैभन्दा खराब अवस्थामा

१ भदौ, काठमाडौं । जापानको अर्थतन्त्र आधुनिक इतिहासको सबैभन्दा खराब अवस्थाबाट अघि बढिरहेको छ । कोराना भाइरस (कोभिड–१९) को महामारीको कारण व्यापारमा आएको कमी र मानिसहरुको खर्च पनि घटेसँगै अर्थतन्त्रमा त्यसको नकारात्मक असर देखिएको हो ।

सन् २०२० को दोस्रो त्रैमासमा जापानको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सात दशमलव ८ प्रतिशतको गिरावट देखिएको छ । जापानको आधुनिक इतिहासमा यो त्रैमासिक अवधिमा देखिएको अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट हो ।

दोस्रो त्रैमासमा देखिएको नतिजाले विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकको लागि अर्को एक समस्या उत्पन्न भएको छ । जापानका नीतिनिर्मातामाथि मुलुकको अर्थतन्त्रलाई अझै डुब्नबाट बचाउने र लामो समयसम्मको आर्थिक मन्दीबाट बचाउनुपर्ने दबाब देखिएको छ ।

सन् २०२० को दोस्रो त्रैमासमा निजी खपतमा पनि आठ दशमलव २ प्रतिशतको गिरावट आएको देखिएको थियो ।

जापानले मे महिनाको अन्तिममा मुलुकमा लगाइएको आपतकालीन अवस्थालाई हटाएको थियो । आपतकाल हटाइएसँगै मुलुकमा अधिकांश कारोबार पनि खुला गरिएको थियो । विशेषज्ञहरुले भने यस वर्षको अन्तिममा अवस्थामा कति सुधार आउँछ भन्ने महामारीको अवस्था कस्तो हुन्छ भन्ने कुराले दर्शाउने बताएका छन् ।

मिजुहो रिसर्च इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री सैसुके सकाइले भने, ‘हामीलाई तेस्रो त्रैमासमा दुई अंकको आर्थिक वृद्धि हासिल हुन्छ भन्ने विश्वास छ । तर, दोस्रो त्रैमासमा भएको नोक्सानीलाई भने त्यसले पूरा गर्न गाह्रो छ ।’

उनले भने, ‘कोरोना भाइरसको संकटको कारण जापानको आर्थिक गतिविधिमा पुनः अवरोध सृजना हुन सक्ने आशंका छ । ठूलो मुलुकमा पुनः लकडाउन हुने र जापानमा पनि पुनः एकपटक आपतकाल लाग्ने जोखिम अझै पनि कायम छ ।

जापानका अर्थमन्त्री यासुतोसी निशिमुराले सरकारले अर्थतन्त्रलाई पुनः लयमा ल्याउनका लागि लचिलो र समय अनुकूलको कदम चाल्ने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment