Comments Add Comment

इटलीको गल्ती दोहोर्‍याउँछ नेपाल !

ननकोभिड अस्पतालमा संक्रमित राख्ने निर्णय यसकारण गलत

१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ साउनमा निजी तथा सामुदायिक सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ का बिरामीका लागि छुट्याउन निर्देशन दियो । र भन्यो, उपचाररत कुनै विरामीमा कोरोना संक्रमण देखिएमा मन्त्रालयको निर्देशन बेगर अन्यत्र रिफर नगर्नू ।

पछिल्लो समय नयाँ संक्रमितको संख्या बढ्दै गएको र कोभिड अस्पतालहरुमा बेड अभाव हुन थालेपछि सरकारले यो निर्णय गरेको बताएको छ । तर कोभिड र ननकोभिडका बिरामी एकै ठाउँमा राख्दा संक्रमण झन् फैलिने सम्बन्धित क्षेत्रका विज्ञहरु बताउँछन् । भौतिक क्षतिको साथसाथै मानिसहरु अस्पताल जान डराउने मानसिकता विकास हुने विज्ञहरुको मत छ ।

संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी सरकारको यो निर्णय गलत रहेको बताउँछन् । उनका अनुसार कोभिड र ननकोभिड बिरामी एकै ठाउँमा राख्दा संक्रमण फैलिन डर हुन्छ । ननकोभिड बिरामी संक्रमणको डरले अस्पताल जाँदैनन् । र, त्यसको परिणाम झन् भयानक हुने उनी बताउँछन् ।

सरकारको यो निर्णय अव्यवहारिक र अदूरदर्शी छ, अहिले जति पनि स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ, कोभिडका लागि नछुट्याइएका अस्पतालका हुन्,’ डाक्टर सुवेदी भन्छन्, ‘त्यस्ता अस्पतालमा उचित सुरक्षाको पालना भएको छैन । बिरामीहरु मिसमास हुने सम्भावना ज्यादा हुन्छ, यो नै ठूलो डरलाग्दो कुरा हो ।’

डा. सुवेदीका अनुसार कोरोना संक्रमणको अवस्था योभन्दा भयावह आउन सक्छ । त्यस्तो बेला सबै अस्पतालमा कोरोनाका विरामीको उपचार गर्नुपर्ने हुनसक्छ । तर त्यसका लागि जनशक्तिलाई संक्रमणबाट बच्ने तालिम र सुरक्षा सामाग्री दिनुपर्छ, वेड विस्तार गर्नुपर्छ । ‘अहिले विनातयारी, तालिम र पूर्वाधारविना ननकोभिड अस्पतालमा संक्रमित राख्नु घातक हो,’ डाक्टर सुवेदीले अनलाइनखबरसँग भने, ‘संक्रमित राख्नको लागि त धेरै मापदण्ड पो पूरा गर्नुपर्छ ।’

डा. शेरबहादुर पुन भन्छन्- यति धेरै निजी मेडिकल कलेजहरु छन्, खाली भवनहरु छन्, त्यहाँ उपचार गर्न सकिने जनशक्ति राखेर संक्रमितको व्यवस्थापन गर्न सकिन्छ । विकल्पहरु हुँदाहुँदै कोभिडका विरामीलाई ननकोभिड अस्पतालमा राखेर रिस्क लिनु ?

कोरोनाको डेडिकेटेड अस्पताल हुँदा क्रस संक्रमण हुने सम्भावना कम हुन्छ भनेर पहिले नै कोभिड र ननकोभिड अस्पताल छुट्याउने नीतिगत निर्णय गरेको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला बताउँछन् ।

तर अहिले व्यवस्थापन सजिलो बनाउन र आर्थिक रुपमा मिलाउन यो निर्णय गरेको हुनसक्ने डाक्टर कोइरालाको कथन छ । उनका अनुसार यस्तो निर्णयले ननकोभिडका बिरामीलाई असर गर्छ । कोभिडका बिरामी राखिएपछि अन्य रोगका बिरामी अस्पतालमै नआउने, घरमै बस्ने र मृत्युदर उता बढ्ने जोखिम हुनसक्छ । ‘एकै स्थानमा दुवै खाले बिरामी राख्दा अस्पताल नै संक्रमणको स्रोत पो हुन्छ कि ?’ डाक्टर कोइराला भन्छन्, ‘कोभिडको बिरामी राख्दा अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण देखिएर सबैजना क्वारेन्टाइन, आइसोलेनमा जानुपर्ने अवस्था आयो भने सेवा प्रभावित हुन्छ ।’

सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन सरकारको यो निर्णयले बिरामीलाई मानसिक असर गर्ने बताउँछन् । अहिले पनि कोभिड टेस्ट गर्ने अस्पतालमा बिरामीहरु उपचार गर्न जान डराउँछन् । सबै अस्पतालमा कोभिडका बिरामी राख्दा मानिसहरु सिकिस्त हुँदा पनि अस्पताल जान डराउने उनको कथन छ । ‘सबै अस्पतालमा बिरामी राख्दा भौतिक रुपमा हुने जोखिम त छदैछ, मानसिक रुपमा पनि धेरै असर पर्छ र अर्को दुर्घटना निम्तिन सक्छ,’ डाक्टर पुन भन्छन्, ‘इटाली र स्पेन जस्ता देशले यही नियम लागू गर्दा ठूलो मूल्य चुकाउनु पर्‍यो, हामीले उनीहरुको गल्तीबाट सिक्नुपर्छ ।’

ननकोभिड अस्पतालमा संक्रमण भेटिँदा पछिलो समय धेरै स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको जान्दाजान्दै यसो गर्नु जनस्वास्थ्यको हिसाबले व्यवहारिक नहुने डाक्टर पुनको तर्क छ ।

सुरक्षा सतर्कता अपनाएको भन्दाभन्दै संक्रमण सर्ने जोखिम हुने उनी बताउँछन् । उनका अनुसार यो निर्णयले ननकोभिड दीर्घरोगी, सुत्केरी र बालबालिकालाई असर गर्छ । ‘गंगालाल, कान्ति, न्युरो लगायत अस्पतालमा कोभिडको बिरामी राख्दा हुने जोखिम एकातिर छँदैछ, त्यहाँ उपचार गराउन जाने मानिसको साइकोलोजी के होला ?’ डाक्टर पुन भन्छन्, ‘सरकारले संक्रमित व्यवस्थापन गर्ने अन्य विकल्प खोज्नुपर्छ ।’

ननकोभिड अस्पतालमा कोभिडको केस राख्दा संक्रमण फैलिने जोखिम हुने कुरा सामान्य मानिसलाई पनि थाहा भएको नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की बताउँछन् ।

यति सामान्य विषयमा सरकारले सामान्य ‘लजिक’ नलगाएको देख्दा उदेक लागेको सुनाउँछन् । ‘आगोले पोल्छ भन्ने थाहा हुँदाहँदै आगोमै हात हाल्दा के हालत हुन्छ ?’ डाक्टर कार्की भन्छन्, ‘इटालीमा धेरै मानिस मर्नुको कारण कोभिडको बिरामीलाई ननकोभिड अस्पतालमा राख्नु हो, हामीले इटालीबाट पाठ सिक्नु पर्दैन ?’

विकल्प के त ?

ननकोभिड अस्पतालमा संक्रमित नराखिकन पनि संक्रमितको व्यवस्थापन गर्ने सकिने विज्ञहरुले बताएका छन् । अधिकांश विज्ञहरु निजी मेडिकल कलेज, प्राइभेट अस्पताल र खाली अपार्टमेण्ट भाडामा लिएर संक्रमितको व्यवस्थापन गर्न सकिने बताउँछन् ।

‘यति धेरै निजी मेडिकल कलेजहरु छन्, खाली भवनहरु छन्, त्यहाँ उपचार गर्न सकिने जनशक्ति राखेर संक्रमितको व्यवस्थापन गर्न सकिन्छ,’ डाक्टर पुन भन्छन्, ‘विकल्पहरु हुँदाहुँदै कोभिडका विरामीलाई ननकोभिड अस्पतालमा राखेर रिस्क लिनु ?’

डाक्टर पुनको तर्कमा संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी सहमत छन् । मापदण्ड पुगेका र छुट्टै संरचना भएका निजी अस्पतालमा संक्रमित राख्न सकिने भन्दै उनले भने, ‘यति धेरै निजी मेडिकल कलेज र अस्पताल र त्यसको जनशक्ति काम लाग्ने भनेको यस्तै बेला हो । महामारीको अवधिमा त्यहाँ कोभिडको बिरामी मात्रै राख्ने गरी व्यवस्थापन गर्दा राम्रो हुन्छ ।’

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर कार्की संक्रमित व्यवस्थापनको सुझाव मन्त्रालयलाई पटकपटक दिइसकेको बताउँछन् । उनकाअनुसार स्वास्थ्य सचिव, मन्त्रीदेखि विज्ञसँग भएको छलफलमा संक्रमित व्यवस्थापन गर्ने उपाय सुझाइएको थियो ।

तर विज्ञहरुको सुझावलाई कार्यान्वयन गर्नुको साटो मन्त्रालयले गलत निर्णय गरेकोमा दुःख लागेको उनी बताउँछन् । ‘थोरै बेड भएका १० वटा निजी अस्पतालमा १०÷१० जना संक्रमित राख्नुको साटो कुनै एउटा मेडिकल कलेज या अस्पताल भाडामा लिएर एकै ठाउँमा ३ सय संक्रमित राख्दा जोखिम कम हुन्छ नि,’ डाक्टर कार्की भन्छन्, ‘यति सामान्य कुरा मन्त्रालयले बुझ्नु पर्दैन ?

छुट्टै भवन, अस्पताल छिर्ने–फर्किने छुट्टै बाटो, छुट्टै स्वास्थ्यकर्मी र कोभिड उपचारको छुट्टै प्रोटकल भएका ननकोभिड अस्पतालमा भने बिरामी राख्न सकिने बताउँदै डाक्टर कार्की भन्छन्, ‘एउटै भवनमा फरक–फरक विभागमा राख्यो भने पनि संक्रमण त सरिहाल्छ नि, त्यसैले मन्त्रालयको यो निर्णय गलत छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment