२ भदौ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले दक्षिण अफ्रिकाका फास्ट बलर एनरिच नोर्त्जेलाई अनुबन्ध गरेको छ ।
दिल्लीले मंगलबार एक विज्ञप्ति जारी गर्दै इंग्लिस खेलाडी क्रिस वोक्सको स्थानमा नोर्त्जेलाई भित्र्याएको जनाएको छ ।
दिल्लीले अक्सनबाट वोक्सलाई छनोट गरे पनि उनले यसअघि नै आईपीएल नखेल्ने घोषणा गरिसकेका छन् । उनले कोरोना महामारी सुरु भएपछि नाम फिर्ता लिएका थिए ।
नेपाली राष्ट्रिय टिमका सदस्य तथा युवा लेग स्पीनर सन्दीप लामिछाने समेत रहेको दिल्लीमा अनुबन्ध हुने नोर्त्जे दोस्रो दक्षिण अप्रिकी फास्ट बलर हुन् । यसअघि नै कगिसो रबाडाले दिल्लीबाट खेल्दै आएका छन् ।
२६ वर्षीय नोर्त्जे गत सिजन कोलकत्ता नाइट राइडर्समा थिए । तर,काँधको चोटको कारण उनले खेल्न पाएका थिएनन् ।
दिल्लीमा अनुबन्ध भएपछि आफू उत्साहित रहेको भन्दै उनलेअवसर दिएकामा दिल्लीलाई धन्यवाद दिएका छन् ।
नोर्त्जेले सन् २०१९ मा भारतसँग खेल्दै टेष्टमा डेब्यु गरेका थिए । उनले ६ टेस्टमा १९ विकेट लिएका छन् । यस्तै ७ ओडीआईमा १४ र ३ टी २० आईमा २ विकेट लिएका छन् ।
आईपीएलमा एक टिमले ८ विदेशी खेलाडी राख्न पाउनेछन् र दिल्लीमा सबै विदेशी खेलाडी उत्कृष्ट रहेका छन् । नोर्त्जे, रबाडा र सन्दीपसंगै दिल्लीमा अष्ट्रेलियाका एलेक्स केरी र मार्कुस स्टोइनिस, वेष्ट इन्डिजमा सिमरोन हेतमायर र किमो पल तथा इंग्ल्याण्डका ज्यासन रोय पनि छन् ।
कोरोना भाइरस महामारीका कारण तोकिएको समयमा हुन नसकेको आईपीएलको यस संस्करण सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ । फाइनल खेल नोभेम्बर १० मा हुनेछ ।
प्रतिक्रिया 4