Comments Add Comment

साउनमा सरकारका २ गल्ती, जसले बढायो कोरोना संक्रमण

२ भदौ, काठमाडौं । असार महिनाको अन्तिम दिन ३१ गते नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या १७ हजार १ सय ७७ थियो । उनीहरुमध्ये ३९ जनाको मृत्यु भएको थियो भने ११ हजार २५ जना निको भइसकेका थिए ।

त्यो दिन थपिएका ११६ जनासहित सक्रिय संक्रमितको संख्या ६ हजार ११३ थियो । साउन लागेसँगै दैनिक पीसीआर परीक्षण गरिने नमुनाको संख्या झन् घट्यो र ३ साउनमा ३ हजार ३३१ मात्र नमुना परीक्षण भयो । त्यो दिन जम्मा ५७ जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमणको दर १.७ प्रतिशत मात्र रह्यो ।

सरकारलाई लाग्यो, कोरोना हाम्रै नियन्त्रणमा छ । ५ साउनमा मन्त्रिपरिष्द बैठकले होटलहरु खोल्ने, अन्तरजिल्लामा सवारी साधन चलाउने, हवाई उडान सुचारु गर्ने मितिहरु तोक्यो । र, निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले भनिदिए, १२० दिन लामो लकडाउन अन्त्य भयो ।

तर कोरोना नियन्त्रणमा आएको सरकारको दाबी फगत एउटा ‘भ्रम’ मात्र थियो ।

साउन दोस्रो साता लाग्दा नलाग्दै वीरगञ्जमा समुदाय स्तरमा संक्रमण पुगिसकेको संकेत देखिन थाल्यो । हरेक दिन भेटिने संक्रमितको संख्या मात्र बढेन, मृत्यु पनि बढ्यो । साउनको दोस्रो साता भन्दा अहिले देशव्यापी रुपमा परिदृश्य बदलिएको छ, विराटनगर र काठमाडौं उपत्यका ‘हटस्पट’ बन्ने संकेत देखिएको छ ।

मंगलबार अहिलेसम्मकै सबैभन्दा एकैदिनमा धेरै एक हजार १६ जनामा संक्रमण पुष्टि भएको छ । ७ जनाको मृत्यु भएको छ । यससँगै कारोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ११६ पुगेको छ । संक्रिय संक्रमित १० हजार ५६३ छन् । कोरोना विशेष अस्पतालहरुमा बेडको अभाव हुन थालेको छ भने कतिपय संक्रमितले आईसीयू र भेन्टिलेटर नपाएर मृत्युवरण गर्नु परेको छ ।

असार अन्तिम सातादेखि साउन दोस्रो सातासम्म महामारी नियन्त्रण गर्‍यौं भनेर आत्मरतीमा रमाउँदा यो अवस्था आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारी बताउँछन् ।

दुई सातासम्म परीक्षण घटाउनु र लकडाउन हट्यो भन्ने सन्देश दिनु गलत भएको भएको उनको कथन छ । ‘असार अन्तिमसम्म हामी सही ट्रयाकमा थियौं, साउन महिनामा लापरवाही गर्नु हाम्रो गल्ती भयो’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘हाम्रै लापरवाहीका कारण संक्रमणले सोचेभन्दा फरक बाटो लियो ।’

हुन पनि जब सरकार स्वय‌ंले ‘लकडाउन हट्यो’ भन्ने सन्देश दियो, चहलपहल ह्वात्तै बढ्यो । जसरी कुनै बन्द खुल्यो भन्दा मानिसहरु घरबाहिर निस्कन्छन्, ४ महिनादेखि चौघेरामा सीमित भएका मानिसहरु त्यसरी नै बाहिर आए ।

सरकारले कोरोना जोखिम कायमै छ भने आभास दिलाउनुको साटो परीक्षण घटाएर संक्रमितको संख्या कम देखिनुलाई नै सफलता ठान्यो भने आम नागरिकले पनि कोरोना संक्रमणको जोखिम कायमै छ भन्ने भन्ने बिर्सिए ।

अन्तर्राष्ट्रिय सीमा नाका त बन्दै थियो तर, वैध अवैध बाटाबाट हुने आवतजावत रोकिएन । कतिसम्म भने भारतीय नागरिकसमेत नेपाल प्रवेश गरेर काठमाडौंसम्म आइपुगे ।

जबकी त्यो समयमा समुदायस्तरमा गएर धेरैभन्दा धेरै परीक्षण गर्ने र सीमा नाकामा कडाई गर्ने र अत्यावश्यक कामले आएका नेताहरुलाई पनि क्वारेन्टिन गर्नुपर्थ्यो । ‘लगभग दुई हप्ता ३/४ हजार परीक्षण गरेर संक्रमण भेटिएन भनेर बसियो । सीमामा पनि कडाइ भएन’ उनले भने, ‘वीरगञ्ज हटस्पट बनेको थाहा पाएपछि मात्रै हामी सतर्क भयौं, त्यतिञ्जेल ढिलो भइसकेको थियो ।’ उनले भनेजस्तै पछिल्लो समय उपत्यकामा भेटिएका अधिकांश संक्रमितको ट्राभल हिस्ट्री बारा पर्सा, धनुषा र भारत लगायतको ठाउँ छ ।

एक महिनामा बढेको ग्राफ

साउनको दोस्रो साता देशभर २ सय १० जनामा कोरोना संक्रमण देखिएको थियो, मंगलबार काठमाडौ उपत्यकामा मात्रै २०५ जना नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जना छन् । देशभर १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ, उनीहरुमध्ये ११६ जनाको मृत्यु भएको छ भने १७ हजार ५८० जना निको भएका छन् ।

गएको एक महिनामा करिब १२ हजार नयाँ संक्रमित भेटिएका छन्, ७६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार १० हजार ५६३ जना आइसोलेसनमा छन् । उनीहरुमध्ये ११८ जना आईसीयू र ८ जना भेन्टिलेटरमा छन् ।

उपत्यका बाहिरका तीन जिल्लामा १००जना भन्दा बढी संक्रमित भेटिएका छन् । पर्सामा १२८ जना, मोरङमा १०८, सर्लाहीमा १०७ जना संक्रमित भेटिएका हुन् । धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१/२१ जना, कपिवलस्तुमा १९, सिराहा र कास्कीमा १६/१६ जना र रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसले संक्रमण धेरै वटा जिल्लामा फैलिएको मात्रै होइन, संक्रमणको दर पनि बढ्दै गएको देखाउँछ ।

कोरोना संक्रमणबाट भएको मृत्यु पनि त्यही देखाउँछ ।

असार ३१ गते देशभर ३९ जना संक्रमितको मृत्यु भएको थियो, साउन १४ गते मृतकको संख्या ४९ पुग्यो । साउन २० मा मृत्यु हुनेको सङख्या ५८ पुग्यो । २८ साउनमा एकैदिन ११ जनाको कोरोना संक्रमणमबाट मृत्यु भएको पुष्टि भयो । आज मंगलबार पनि एकै दिन ७ जना संक्रमितको मृत्यु भएको छ ।

मृतकमध्ये धेरै दीर्घरागी छन् । यसले पनि कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको देखिन्छ । यद्यपि स्वास्थ्य मन्त्रालयले संक्रमण कुन चरणमा छ भनेर बोलेको छैन । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा स्वास्थ्यमन्त्री भानभक्त ढकालले कोरोना नियन्त्रणमै रहेको दाबी गरेका छन् । उनका अनुसार मध्यम अवस्थामा भदौभर ३० हजार संक्रमित थपिनसक्छन् भने खराबभन्दा खराब अवस्था आउँदा कुल संक्रमितको संख्या ९१ हजार पुग्नसक्छ ।

तर जनस्वास्थ्य विज्ञहरुले कोरोना नियन्त्रणमै छ भन्ने बुझाइले नै समस्या ल्याउनसक्ने बताउँछन् ।

संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला समुदायमा संक्रमण फैलिएको भन्नसक्ने अवस्थामा पुगेको बताउँछन् । यस्तै लापरवाही गरिरहने हो भने कोरोना नियन्त्रण गर्न गाह्रो हुने उनले बताए । ‘संक्रमण र मृत्यु अझै बढ्न सक्ने सम्भावना पर्याप्त छ, दीर्घरोगी र वृद्धवृद्धालाई बचाउन सकिएन भने मृत्युदर झन् बढ्न सक्छ’ डा. कोइराला भन्छन्, ‘अब जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरेर मात्र संक्रमण फैलिन रोकिन्न ।’

सुरुवाती चरणमा भारतबाट आउने मानिसहरुलाई क्वारेन्टिनमा राखेको कारणले संक्रमण नियण्त्रणमा भएको कोइराला बताउँछन् । लकडाउन खुकुलो भएको सन्देश गएपछि मानिसहरु आवतजावत बढ्यो, जसले अहिले संक्रमण बढी देखिएको हो ।

‘पहिले ९५ प्रतिशत भारतबाट आएका मानिसलाई क्वारेन्टिनमा राखिएको थियो, केस देखिँदा पनि व्यावस्थापन गर्न समस्या हुने थिएन’ कोइराला भन्छन्, ‘अहिले देखिएका केस यात्रा गरिरहेका हाम्रै समुदायभित्रका मानिस छन् । लक्षण पनि छ । त्यसैले अहिले देखिएको संक्रमण पहिलाभन्दा खतरनाक हो, थोरै समयमा तीब्र गतिमा सर्न सक्छ ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि बढ्दो संक्रमण र मृत्युले जोखिम बढ्ने संकेत मिलेको बताउँछन् । ‘आगामी दिन झन् चुनौतीपूर्ण बन्दै जानेछ । पछिल्ला मृत्युहरुले संक्रमण अरु देशमा जस्तो खराब बन्ने चिन्ता थपिएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment