Comments Add Comment

परीक्षाविनाको एसईई नतिजा : जीपीए ४ ल्याउने पनि खुसी छैनन्

फाइल तस्वीर

३ भदौ, काठमाडौं । अभिभावकहरू आफ्ना सन्तानले एसईईमा राम्रो नतिजा ल्याएको भन्दै फेसबुकमा पोस्ट गरिहेका छन् । जेहेन्दार विद्यार्थीहरू भने यो सालको एसईईको नतिजाबाट खुसी छैनन् ।

परिस्थितिजन्य कारणले यसपालि एसईई परीक्षा हुन सकेन । ६ चैतमा तोकिएको परीक्षा सरकारले कोरोनाको कारण देखाएर अघिल्लो साँझ स्थगित गर्‍यो । कोरोना संकट लम्बिँदै गएपछि अन्ततः एसईई परीक्षा नै रद्द गर्‍यो । यसको असर विद्यार्थीमा परेको छ ।

४ जीपीए ल्याएकी डीएभी स्कुलकी समीक्षा घिमिरे यो नतिजामा खुसी मनाउन सकिरहेकी छैनन् । उनले सामाजिक सञ्जालमा केही नलेख्न अभिभावकलाई भनिन् । ‘परीक्षा दिएर रिजल्ट आएको भए पो खुसी मनाउनु…’ उनले अनलाइनखबरसँग भनिन् ।

समीक्षाजस्ता जेहेन्दार विद्यार्थीहरूलाई अहिलेको एसईईमा घाटा लागेको छ । उनीहरूले ‘परीक्षा नदिई पास भएको’ आक्षेप बोक्नुपर्ने छ । जबकि उनीहरू परीक्षा दिएरै उत्कृष्ट प्रमाणित हुने चाहना राख्ने ।

परीक्षाविनाको यो नतिजालाई लिएर सामाजिक सञ्जालदेखि पत्रपत्रिकासम्ममा विभिन्न टिप्पणी भएका छन् । ‘नपढिकनै पास भएको’ भन्नेदेखि विद्यालयहरूले ‘आफ्नो हात जगन्नाथ गरेको’ भन्नेसम्मका कटाक्ष गरिएका छन् । तर परीक्षा दिएरै परिणाम स्वीकार्न चाहने विद्यार्थीहरूको यसमा के दोष ?

‘परीक्षाविनाको नतिजा’ उनीहरूको रोजाइ होइन । कतिपय कमजोर विद्यार्थीको परीक्षा नदिएकोमा राम्रो नतिजा आयो होला तर भोलि त उनीहरूलाई पनि यसले फाइदा गर्ने होइन । यो नतिजाकै आधारमा कठिन विषय रोजे भने भोलि उनीहरूलाई फाइदा हुने देखिँदैन ।

शिक्षा मन्त्रालयले एसईई परीक्षाफलका लागि प्रधानाध्यापक अध्यक्ष रहने तीन सदस्यीय मूल्याङ्कन समिति तोकेको थियो । समितिमा सम्बन्धित कक्षा शिक्षक तथा माध्यमिक तहका शिक्षकहरूमध्ये जेष्ठ शिक्षक सदस्य रहने प्रावधान छ । साथै मूल्याङ्कनका अरू आधारहरू पनि तोकिएको थियो ।

धेरै विद्यालयले यो प्रावधानको दुरुपयोग गरेको आरोप छ । समग्र नतिजा मूल्याङ्कन गर्दा विद्यालयहरूले आफ्ना विद्यार्थीलाई स्तरभन्दा बढी अंक दिएको भन्न सकिन्छ । ९ हजारभन्दा बढी विद्यार्थीले शत्प्रतिशत अर्थात ४ जीपीए ल्याएका छन् । जबकि अघिल्लो वर्षको नतिजामा १०२ जनाको मात्रै जीपीए ४ थियो । त्यसअघि २०७४ मा ७४, २०७३ मा ४ र २०७२ मा २ जनाले मात्रै जीपीए ४ ल्याएका थिए ।

जीपीएमा यत्रो फेरबदल आउनेगरी यसवर्ष नेपालको शैक्षिक प्रणालीमा कुनै उलटपुलट भएको सबैलाई थाह छ । शिक्षाविद् डा. विद्यानाथ कोइराला शिक्षकहरूले आफ्ना विद्यालयलाई उत्कृष्ट देखाउन विद्यार्थीलाई अंक दिँदा खुकुलोपन अपनाएको बताउँछन् ।

‘यसरी आवश्यकभन्दा बढी उदार हुनु शिक्षकहरूको बाध्यता पनि होला,’ कोइराला भन्छन्, ‘उनीहरूले अभिभावक र विद्यार्थीलाई खुसी पार्न पनि बढी अंक दिएका हुन सक्छन् ।’

उनको विचारमा अहिलेको नतिजाबाट विद्यार्थीहरूको वास्तविक मूल्याङ्कन हुँदैन । अब एसईई परीक्षाको मोडल नै परिवर्तन गर्नुपर्ने उनको सुझाव छ ।

प्लस टुको अन्योल

कोरोनाका कारण देशमा शैक्षिक गतिविधिहरू ठप्प छन् । स्कुल–कलेज खुलेका छैनन् । त्यसैले एसईईको नतिजा आएपछि विद्यार्थी र अभिभावकको अन्योल झन् बढेको छ ।

निजी प्लस टुहरू विद्यार्थी भर्नाका लागि तयारी अवस्थामा रहेको बताउँछन् । अनलाइनबाटै इन्ट्रान्स लिएर भर्ना गर्ने उनीहरूको भनाइ छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारी निजी स्कुलहरू प्ल टुमा भर्ना खोल्न तयार रहेको बताउँछन् ।

‘हामी अनलाइनबाट भर्ना लिन तयारी अवस्थामा छौं’, उनी भन्छन्, ‘विद्यार्थी र अभिभावकसँग अनलाइन छलफल गरिरहेका छौं तर सरकारबाट स्पष्ट नीति–निर्देशन आएको छैन ।’

विद्यालयहरूले शैक्षिक सत्र खेर जान नदिने तयारी गरे पनि धेरै कुरा सरकारको निर्णयमा भरपर्ने महासचिव भण्डारीले बताए ।

शिक्षाविद् कोइराला कुनै हालतमा पनि शैक्षिक सत्र ‘कोल्याप्स’ हुन नहुने बताउँछन् । त्यसका लागि विभिन्न विकल्पमा जान सकिने उनको सुझाव छ ।

विद्यार्थीले घरमा बसेर गरिरहेका विविध गतिविधिलाई पढाइसँग जोड्ने कला शिक्षकहरूमा हुनपर्ने उनी बताउँछन् । ‘रेडियो, टेलिभिजन, रेकर्डर आदिबाट सुरु गरिएको अध्यापनलाई पनि प्रभावकारी बनाउनु पर्‍यो’, उनी भन्छन्, ‘नेताका गीत बजाउने फोकटिया कार्यक्रमहरू बन्द गरेर शैक्षिक कार्यक्रम चलाउनुपर्‍यो ।’ बितेको ४–५ महिने कोर्सलाई बाँकी रहेको समयमा पूरा गर्नेगरी छोट्याएर जान सकिने उनको सुझाव छ ।

‘हामी ४–५ महिनादेखि यसै भन्दै कराइरहेका छौं’ शिक्षाविद् कोइराला भन्छन्, ‘तर शिक्षामन्त्री र कर्मचारी किन सुन्न चाहँदैनन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment