Comments Add Comment

‘गोकर्णे औँसी’मा सुनसान गोकर्ण

३ भदौ, काठमाडौं । उत्तरगया भनेर पनि चिनिने काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भाद्र कृष्ण औँसी अर्थात् बुवाको मुख हेर्ने दिन भव्य मेला लाग्थ्यो । दिवंगत बुवाको श्राद्ध गर्नेहरु टाढा-टाढाबाट आउँथे । मेलाका कारण हुने भीडले जोरपाटीबाट नै मूल सडक बन्द हुने गर्दथ्यो ।

तर यो पवित्र क्षेत्र यस वर्ष भने सुनसान रह्यो । किनभने कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष मन्दिर सिल गरिएको छ । साथै सबै प्रकारका मेला र जात्रा गर्न बन्देज गरिएको छ ।

आज बिहानैदेखि गोकर्णेश्वर मन्दिर छिर्ने सबै नाकामा प्रहरी राखेर आउ-जाउ गर्न बन्देज लगाइएको गोकर्णेश्वर नगरपालिका वडा नं.-४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए । गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहेका उनले कोरोनाका कारण मन्दिरमा लाग्ने मेला, जात्रालगायत भीडभाड हुने कार्यक्रम बन्द गरिए पनि नित्य पूजा भने यथावत् रहेको बताए ।

पुजारी जगदिशप्रसाद भट्टले विगतका वर्षहरुमा भाद्रकृष्ण औँसीको तीन दिनअघिदेखि नै भक्तजन मन्दिर क्षेत्रमा आएर बस्ने गरेकामा यस वर्ष कोरोनाका कारण चहलपहल नभएको जानकारी दिए ।

पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न गत चैत ११ गतेदेखि नै बन्द गरिएपछि गत साउन पहिलो साता गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो । मन्दिरमा लागेको भीडका कारण कोरोना फैलिने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द गरिएको छ ।

मन्दिर बन्द गरिए पनि परिसरमा भने भक्तजनहरु पूजाका लागि आवतजावत् गरिरहेका छन् ।

बाबुको मुख हेर्ने दिन पिता दिवंगत भएका छोरा-छोरी यहाँ आई तर्पण, सिदादान र पिण्डदानसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा प्रत्येक वर्ष कुशे औँसीसमेत भनिने भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ । त्यसैले भाद्रकृष्ण औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ ।

गोकर्णेश्वर क्षेत्रमा सत्य युगमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विष्णुपादुका छ, जसलाई महत्वका साथ पुजिन्छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment