
३ भदौ, वीरगञ्ज । पर्साको वीरगञ्जमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार दुवैको मृत्यु कोरोना संक्रमणबाट भएको जानकारी नारायणी अस्पतालका चिकित्सकले गरेका छन् ।
भिश्वाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार दिउँसो ३ः३० बजे मृत्यु भएको थियो । जिन एक्सपर्ट विधिमार्फत कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।
नारायणी अस्पताल स्रोतका अनुसार ५७ वर्षीय पुरुषमा निमोनिया देखिएको थियो । भवानी अस्पतालबाट थप उपचारका लागि उनलाई राम्रो अस्पताल लैजान सुझाव दिइएको थियो । उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेज र बयोधा अस्पताल पुर्याइएपनि ती अस्पतालले उपचार गर्न नमानेपछि नारायणी अस्पतालमा ल्याइएको थियो ।
कोभिड संक्रमित भई साउन २७ गतेदेखि गण्डक अस्पतालमा उपचाररत ८४ वर्षिय पुरुषको उपचारको क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । साउनमा मात्रै २४ जनाको मृत्यु भएको थियो ।
हालसम्म वीरगञ्जमा पर्साका २२ जना, बाराका ५ जना र रौतहटका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।
प्रतिक्रिया 4