Comments Add Comment

करणी मुद्धामा चलखेलको आरोप लागेका इटहरीका डीएसपीसँग स्पटीकरण

४ भदौ, विराटनगर । जवरजस्ती करणी आरोपको जाहेरी दर्तामा आर्थिक चलखेल गरेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले इलाका प्रहरी कार्यालय इटहरीका इञ्चार्जसहित तीनजनालाई स्पष्टीकरण सोधेको छ ।

पहुँचवाला ब्यक्ति जोडिएको करणी मुद्दाको जाहेरी दर्ता गर्न आनाकानी गरेको गुनासो आएपछि इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारी, मुद्दा शाखाका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठ र महिला सेल इञ्चार्जलाई स्पष्टीकरण सोधेको हो ।

गत बुधबार सोधिएको स्पटीकरणको जवाफ आइसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

‘जबर्जस्ती करणी मुद्दाको अनुसन्धानमा भएको ढिलासुस्तीबारे स्पष्टीकरण सोधिएको हो’ उनले भने ‘त्यसपछि अरु मुद्दामा पनि प्रभावित भएका गुनासा आएपछि छानबिनका लागि प्रदेश र संघीय इकाइबाट छानबिन समिति बनेको छ ।’

जाहेरी दर्ता गर्न आनाकानी

इटहरी उपमहानगरपालिका– २० मा रहेको एप्पल ट्रि मन्टेश्वरीमा कार्यरत १९ वर्षकी एक युवती सञ्चालक सन्तोष कटवालले वैशाख २६ गते आफूलाई करणीको प्रयास गरेको भन्दै जाहेरी लिएर भोलिपल्ट इलाका प्रहरी कार्यालय पुगेकी थिइन् ।

महिलाको जाहेरीपछि कटवाल त्यसै दिन पक्राउ परे । युवतीले करणी उद्योगमा जाहेरी दिए पनि प्रहरीले मिलापत्र गराउन खोजेको पीडित परिवारको भनाइ छ ।

२७ वैशाखमा पक्राउ परेका कटवाल २८ गते छुटेका थिए । प्रहरी पीडकको पक्षमा लागेको भन्दै अधिकारकर्मीले दबाब दिएपछि प्रहरीले एक सातापछि कटवालविरुद्धको जाहेरी दर्ता गरेको थियो । घटनाका आरोपी कटवाल जिल्ला अदालत सुनसरीको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

कटवाल जोडिएको करणी उद्योगको मुद्दामा आर्थिक चलखेल भएको आशंकामा छानबिनका लागि प्रदेश र संघीय प्रहरी इकाइबाट छुट्टाछुट्टै टोली बनेको छ । सो टोलीले केही दिनभित्र प्रतिवेदन बुझाउने सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

समाचार बन्ने विषय होइन

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले स्पटीकरण सोधेको विषय समाचारको बिषयवस्तु नभएको बताउँछन् । ‘माथिल्लो निकायले कार्यालयको कामका बारेमा स्पटीकरण सोध्नु सामान्य विषय हो’ उनले भने ‘यो समाचार बन्ने विषय होइन ।’

उनले कटवाल जोडिएको जबरजस्ती करणी उद्योगको मुद्दामा प्रहरीमाथि आधारहीन आरोप लगाइएको बताए । आर्थिक चललेख नगरेको दाबी गर्दै उनले भने ‘आरोपी अदालतको आदेशपछि थुनामा छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment