Comments Add Comment

नारायणी अस्पतालमा रौतहटका एक पुरुषको मृत्यु

५ भदौ, वीरगञ्ज । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका रौतहटका एक जना पुरूषको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–९ डुमरिया बस्ने ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

वीरगञ्जको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।

ज्वरो, खोकी, पखाला र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शिवदर्शन सेन्ट्रल अस्पताल रौतहटमा उपचार गरिएको थियो । स्थितिमा सुधार नआएपछि अस्पतालले थप उपचारका लागि उनलाई वीरगञ्ज रिफर गरेको थियो । गम्भिर अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका उनको मृत्यु आज बिहान ३ः३५ बजे भएको अस्पतालले जनाएको छ ।

रौतहटमा गरिएको एक्स–रे हेर्दा उनको दुवैतिरको फोक्सोमा निमोनिया देखिएको चिकित्सकले बताएका छन् ।

‘सास फेर्न गाह्रो भएर अस्पताल ल्याइएको रहेछ, शरीरमा अक्सिजनको मात्रा निकै कम भइसकेको थियो,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘बचाउन सकिएन ।’

उनमा कोरोना संक्रमण छ या छैन भन्ने यकिन गर्न स्वाबको नमुना संकलन गरिएको छ । दिउँसोतिर परीक्षण रिपोर्ट आउने नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment